माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्को चालिस प्रतिशत काम सकियो (तस्बिर सहित)

  • २६ माघ २०८०, शुक्रबार
  • 943 पटक पढिएको

म्याग्दी , २६ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको चालिस प्रतिशत निर्माण कार्य सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सिमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलब ५ मेगावाट क्षमताको यस आयोजनाले निर्माण कार्यलाई तिब्रता दिएको छ ।
गत बर्षको चैतदेखि पूर्वाधार निर्माण सुरु गरेको यस आयोजनाले पाइपलाइन र बाँधतर्फको कामलाई तिब्रता दिएको आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिनुभयो । सुरुङ रहित यस आयोजनामा कुल २ हजार ८ सय मिटर पाइपलाइन निर्माण हुनेछ ।
‘‘हेडरेष्ट,सर्जट्यांक र पेनस्टक सबैतर्फ पाइपलाइन जडान गर्छौ,अहिलेसम्म १ हजार २ सय मिटर पाइपलाइन जडानको काम सकिएको छ , पाइप ढुवानीसंगै जडानको कामले तिब्रता पाएको छ’’–आयोजना प्रमुख नायकले भन्नुभयो । आयोजनाको पूर्वाधारतर्फको ठेक्का देव उर्जा कन्ट्रक्सन प्रालिले लिएको छ ।सुंगुरथलामाथि रघुगंगा नदीमा बनाउने बाँधबाट पाइपलाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युगतगृहमा खसालेर उत्पादन हुने विद्युतलाई दानामा निर्माण भएको सबस्टेशनमा जोडर राष्ट्रिय प्रशारणमा जोडिनेछ । अहिले प्रसारण लाइन निर्माणको लागि टावर निर्माणको काम समेत अघि बढेको आयोजनाले जनाएको छ ।यस आयोजनाले आगामी २०८२ बैशाखभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । दैनिक रुपमा २५० जना मजदुर परिचालन गरेको जनाएको छ । बाँधतर्फ ड्याम, अण्डर सुलुस, बालुवा थिग्राउने पोखरी लगायतका पूर्वाधारको काम धमाधम भैरहेको आयोजना प्रमुख नायकले बताउनुभयो ।
विद्युतगृहको लागि समेत जग्गा व्यवस्थापन गरेर कटिङ र जग्गा संरक्षणको लागि पूर्वाधार निर्माण भैरहेको छ । सेतिनी भ्यालीमा कर्मचारी र मजदुरको लागि आवास गृह लगायतका पूर्वाधार र सडकको पहुँचमार्ग निर्माण गरी आयोजनाको पूर्वाधार निर्माण सुरु गरेको यस आयोजनाले दश महिनामै ४० प्रतिशत भौतिक प्रगति हाँसिल गरेको आयोजनाले जनाएको छ ।
कुल ३ अर्ब लागत अनुमान गरिएकोयस आयोजनामा प्रवद्र्धकहरुको तर्फबाट ३० प्रतिशत लगानी हुनेछ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैँकको नेतृत्वमा कृषि विकास बैँक र माछापुच्छ«े बैँक लिमिटेडले लगानी गर्ने वित्तिय सम्झौता भएको छ । आयोजनाको इलेक्टोमेकालिकतर्फको ठेक्का भने भारतीय बिएफएल कम्पनीले लिएको छ । रासस
हिमाली भूगोलको चिसो मौसम, हिमपात र बर्षा तथा चिमखोलाको मलाङ पहिरोको अवरोध लगायतका समस्याका बिच आयोजनाले निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गराउने गरि जनशक्ति, मेसिन उपकरण परिचालन तथा व्यवस्थापन गरिहेको आयोजना प्रमुख नायकले जानकारी दिनुभयो ।