तिज हिजो र आज ? मौलिकता हराउँदै भड्कीलो बन्दै !
- २४ श्रावण २०७४, मंगलवार
- तिलु शर्मा पौडेल
- 11001 पटक पढिएको
पंतिकारले यो धर्तीमा पहिलो पाइला /नजर म्याग्दी जिल्लाको राखु भगबतिमा टेकेँ / देखे । आज यो लेखको थालनी पनि बालापनको स्मरणबाट नै गर्न चाहन्छु । हिन्दु धर्ममा धेरै चाडपर्बहरु छन् । सबैका आ–आफना विशेषता बोकेका छन् । हिन्दु संस्कार भित्र प्राय सधैँ जसो परिरहने तिथि मिति तथा चाडपर्वले नेपाली समाज लगायत बिश्वमा छुट्टै खालको मौलिकता बोकेको पाइन्छ । समय र मौसम अनुसारका छुट्टाछुट्टै महत्व बोकेका चाडपर्व तथा रीति–रिवाज हाम्रा पूर्वजहरुले तय गरिदिएका छन् । त्यसमा हरितालिका तिज पनि एक हो । आज मैले यहाँ बिगत २ दशकमा भोगेको हरितालिका तिजको बारेमा केही लेख्न लागि रहेको छु । जब तिज आउँथ्यो मामा घर जादा दक्षिणा नपाइने पर्ब लाग्थ्यो भने मालिकामा हुने रमाइलो सम्झेर छुट्टै आनन्द आउथ्यो । अर्को तिर स्कुलमा बिदा नारीलाई मात्र दिने हुदा जहाँ गए पनि स्कुल नै छाडेर जानु पर्ने अबस्था थ्यो ।
कला र सस्कृतिको धनि देश नेपालमा म जन्मिएको गाउमा पनि हरेक चाडपर्ब बिशेष तरिकाले मनाउने गरिन्थ्यो र आज पनि गरिन्छ । बालापनका चाडपर्ब यसकारण बिशेष लाग्थे चाडपर्व होस् या मेला जे सुकैमा होस् स्वतन्त्रताले खेल्न कुद्न पाइन्थ्यो । चाडपर्ब त् बालापनमै लाग्ने रैछ लाग्थ्यो पनि । तिज आउनु भन्दा केही समय पहिले देखि रेडियो नेपालमा तीजका गित बज्दथे । तिनै गीतका भाकामा नया शब्दहरु बुनेर गित गाउने अभ्यास चेलीबेटीले गर्नु हुन्थ्यो । रेडियो या ३ ब्याट्री लाग्ने टेपरेकडरमा तिज गित बजाउदै अबेर गरेर साझ सम्ममा मामाहरु हाम्रा आमाहरुलाई लिन आउनु हुन्थ्यो । गाँउमा कसैको घरमा पनि टेभिभिजन थिएन । लाहुरेहरुका घरमा टेपरेकर्ड हुन्थे । ती सुन्नका लागि गाँउभरिका मानिसहरु जम्मा हुने गर्दथे । २, ४ वटा मादल सहित गीत गुञ्जदा गाँउ नै हर्ष मनाइरहे झै लाग्दथ्यो । बिशेष त् आफुले कर्म घरमा पाएका दुख पिडा बेदनाले भरिएका गीतहरु सुन्न पाइन्थ्यो र त्यस्तै गित चेलीबेटीले सिर्जना गरेर गाउदै रमाइलो गर्नु हुन्थ्यो ।
तीजमा यदि माइती लिन नआएमा आमाहरु अन्यन्तै पिर मान्नुहुन्थ्यो । तिजमा फुपू र दिदीहरुलाई लिनका लागि हामी जान्थ्यौं । नगएमा फुपूहरुका गुनासा सुरु हुन थाल्थे । दर खानु भन्दा एक दिन पहिले नै माइतमा गएर दर खाएर उही दिन फर्कन्थे कोहि भने कोहि पन्चमी सम्म नै माइतीमा बस्ने गर्नु हुन्थ्यो । तिजको दिनमा बिहानै आमा र संगीहरु रातो साडीमा सजिएर शिब मन्दिरमा जानु हुन्थ्यो भने हामि स्कुलनै जान्थ्यौ तर स्कुलबाट मन्दिर नजिक भएको कारण ध्यान भने सबै तिजमा आयोजना गरिएको मेलामा पुग्थ्यो । तिज त हामीहरुका लागि अर्को हर्षको विषय हुन्थ्यो तर यसलाई किन महिलाको मात्र चाड बनाएको होला ? हामीलाई किन बिदा नदेको होला भन्ने कुराहरु मनमा अनुत्तरित भएर लामो समय बसे । साबिकको राखु पिप्ले अन्तर्गत मालिकामा तीजमा भब्य मेला लाग्थ्यो ।
ठेलो फाल्ने, लठो तान्ने पुरुषहरुको लागि बिषेश आकर्षण हुन्थ्यो भने त्यहाँ अवस्थित मन्दिर अगाडी चौतारीमा महिलाहरु तिज गित गाउदै नाच्नु हुन्थ्यो । यो नाच्ने ,गाउने र पुजा गर्नेहरु प्राय क्षेत्री र ब्राहमण समुदायका महिलाहरु हुन्थे । अरु सबै समुदायका महिलाहरु मनोरन्जनका लागि मात्र त्यहा पुगेका हुन्थे । मलाइ लाग्थ्यो यो त् क्षत्रिनी र बाहुनिहरुको मात्र पर्ब रैछ । मिश्रित जातजातिको बसोबास रहेको मेरो गाउमा नेवारहरुले तीजमा लाखे नाच देखाउनु हुन्थ्यो । मालिकाबाट फर्कदै गर्दा गाउको बिचमा रहेको नेवार बस्तीमा लाखे नाच हेर्न पाइन्थ्यो । यसरि नै तिजको दिनको समापन हुन्थ्यो तर महिलाहरुको लागि बिशेष दिन ऋषिपन्चमी र यसको बर्त रहन्थ्यो ऋषिपन्चमीको दिनमा बिहानै उठेर पानीको मुहानमा पुगेर नुहाउनु हुन्थ्यो यो नुहाइ र यस पछिको कारण पनि खास हुन्थ्यो ।
शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ र उक्त दोषबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन टोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्ने विधि सहित छ । मूलत ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाएर बर्त बसिन्छ र सोही दिनको साँझमा सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् र बर्त पुरा भएको बिश्वास गरिन्छ । ऋषिपन्चमिको बर्त निराहार, जलाहार र फलाहार गरी तीन किसिमका बर्त बस्ने चलन छ, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्ने चलन छ । साझमा पुजा अर्चना गरि तिज र यसको महत्व बारे बुझाउदै बर्त समापन हुन्थ्यो ।
भाद्र शुक्ल द्धितियका दिन दर खाने र तृतियामा तीजको व्रत बस्ने, नाचगान गर्ने ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राहमण–ब्राहमणीहरुलाई दान दक्षिण गर्ने चलन परापुर्ब काल देखि नै चल्दै आएको छ । हरेक पर्वका आफनै महत्व उही रहे पनि सामजिक र साँस्कृतिक तरिकाले त्यसलाई मनाउने शैली फेरिदै गए । माथि उल्लेख गरेको तिजको शैली बिशुद्ध गाउमा मनाइने सास्कारिक तौर तरिकाको तिज हो । मेरो बुझाइ यो लेख पढ्ने सबै संग नमिल्न सक्छ । ठाउ अनुसार सस्कार चाल चलन फरक हुन्छन नै । समय क्रमसंगै मलाइ दिमागमा के आउथ्यो भने त्यो भगवानको पालमा पुरुषहरुको संख्या थोरै भएकाले आफुले प्रेम गरेकै केटा पाउनु पर्छ भन्ने मानसिकता उपज हो तिजको बर्त । समयका क्रम संगै तिजको बारेमा पढ्ने बुझ्ने समय मिल्यो ।
तिजको धार्मिक साँस्कृतिक,सामाजिक तथा साँगितिक महत्व पनि केही हद सम्म बुझियो । धार्मिक ग्रन्थ अनुसार पार्वतीले भगवान शिवलाई औधी मन पराउने तर पार्वतीका बुवालाई भने शिव पटकै मन नपर्ने भएकाले उनको विवाह विष्णु संग गरिदिने निर्णय गरे सो कुराले पार्वतीको मनमा चोट पर्यो अन्तत् उनले बुवाको निर्णय विरुद्ध विद्रोह गरिन । हरितालिका अर्थात अपह्ररण गरिएकी महिला पार्वतीलाई साथीहरुले लुकाएर बुवाको घरबाट भगाएर जङ्गलमा राखे । पार्वतीले जंगलमै अन्न जल केहि नखाई निराहर व्रत गरेपछि शिव प्रसन्न भई वरदान दिएको उल्लेख छ ।
आफ्नो इच्छानुसारको विवाह भएकोमा उनी लगायत उनका साथीहरुले यो साहसिक कार्य सफल भएकोमा प्रेमको विजयोत्सवको रुपमा मनाए सो दिन भाद्र (भदौं) शुक्ल तृतिया परेको दिन थियो । तीजको थालनी त्यसै बेलादेखि भएको मानिन्छ र यसकै निरन्तरता पनि हो तिज । तर श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको पाइन्छ । “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवम् केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय मान्यता छ” र यहि अकाट्य सत्य पनि हो । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ ।
साँस्कृतिक दृष्टिकोण अनुसार तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व हो । सामाजिक रुपमा विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिई पराईघरमा भएका अन्याय अत्याचार ज्यादतीलाई गित मार्फत भण्डाफोर गर्ने संस्कृति बोकेको पर्व पनि तीज हो । महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयलाई भएपनि माइतिसंग समय बिताउने पर्वको रुप पनि हो । करिब दुइ दशक अघिका दिनहरु सम्झने हो भने यो पर्वमा क्षत्री र बा्रहमण समुदायका महिला मात्र बर्त बस्दथे ।
अहिले देशमा भएको आमुल परिबर्तन, राजतन्त्रको अन्त्य संगै गणतन्त्रमा प्रवेश गरे संगै हामि सबै समान भयौ । मानिसको चेतना स्तर बढ्यो सिक्षाको स्तर देश विदेशको प्रभाब र बिस्तारै आधुनिक युगमा ढल्कदै गरेको समाजले मानिस जम्मा दुइ जातिका हुन्छन पुरुष र महिला भन्ने शिक्षा सिकायो । ज्ञान अभिवृद्धि गर्यो । अहिले कुनै जातजातिमा सिमित छैन यो पर्ब । हिन्दु धर्मका हरेक जातजातिले तिज मनाउने र बर्त बस्ने गर्छन यो सकारात्मक पाटो हो ।
बिश्वमा रहेका हरेक हिन्दु महिलाले तिजको बर्त लिने गरेका छन् । तर बर्त लिदा हुनु पर्ने सुद्धतामा भने ध्यान कमैको गएको पाइन्छ । सुरुका दिनमा नारी संघर्षको प्रतिमुर्तिका रुपमा मानिदै आएको यो पर्व अहिले आएर पार्वतीको त्याग, तपस्या र महत्वलाई विर्सेर कथित सौभाग्यको रुपमा महंगा कपडा र गहनाहरु लगाएर प्रतिस्पर्धात्मक किसिमले भड्कीलो रुपमा मनाउन थालिएको छ भने गित सङ्गीत पनि यसरी बिग्रिएको छ कि आइटम गित सम्म रिलिज भएका छन ।
पुराना तिज गित हरु नारीकै दुखका कथामा घुम्थे । बिस्तारै बिदेशका पिडा समेटिन थाले । अहिले देशका बिकृति पनि तिज गीतमा नि आउन थालेका छन पुराना लोक स्रष्टाहरुले गाउमा उकाली ओराली घुमेर तिज गीतको सिर्जना गर्थे भने अहिलेका गित कलंकी चोकमा बसेर युवतीका तिघ्रा हेरेर सृर्जना गरिएको आभास गित हेर्दा नै हुन्छ । गाँजा खाने शिब र पार्वतिको जोडीको पर्ब पो हो त् भन्दै गाजाकै तालमा गित सिर्जना गरिदिनाले मौलिकता र परम्परागत संस्कृति हराउदै गएको छ । गित संगीतले तीजलाई यसरि घरेको छ कि रत्यौली पनि तिज गीतमा अटाएको छ ।
गाईजात्रामा हास्यकलाकारहरुले व्यंग गर्ने गरेका बिषय बस्तु अहिले तिजमै देख्न सुन्न पाइन्छ । न कसैको बिबाह पर्खनु पर्छ रत्यौली सुन्न न गाइजात्रा नै पर्खनु पर्छ व्यंग सुन्न । मनको पिर गितबाट बिर्साउनि चाडमा यतिसम्मका गित बजारमा आएका छन कि त्यो गित र दृष्य हेर्ने नै घिनलाग्दो छन । समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ यो राम्रो पाटो हो भने अहिलेको चलन भनेको जेठमा तिज गित गाउने असार मा पार्टी सुरु गर्ने र भदौमा सकिदा २ र ४ लाख ऋण बोक्ने चाड बनेको छ । तिज आफुमानै नाचगान , प्रेम, सद्भाव बोक्ने एउटा रमाइलो चाड हो ।
हरेक नेपाली नारीको मनका इच्छा आकङ्छा पुरा गरिदिने चाड हो तिज । महिलाहरुले पुरुषलाइ र जन्मघरलाइ गर्ने माया र सर्मपणको जिवन्त कथा हो तिज । अविवाहित नारीले मन परेको मायालाइ माग्ने अनि विवाहितले उसको पतिको लामो आयु होस भनेर दिनभर पानि पनि नखाइ ब्रत बस्ने पर्ब हो तिज । यद्यपि यसको महत्वमा कुनै कमी देखिँदैन । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ तीजको रमझममा पनि पश्चिमेली शैली मिसिदै दर पाचतारे होटलका खाना र बोत्तलमा सरेको छ । फलस्वरूप तीज धेरै उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको छ । आफुलाई परिवर्तित गर्ने हामिले हाम्रो रिति, थिति बिर्सेने काम गर्नुहुदैन समय सगै परिवर्तन भएको नारी तिजले हामीलाइ कुरीति तर्फ लम्काएको छ ।
यो कुरालाइ महसुस गर्न ढिलाइ भो भने तिज, तिज रहदैन । धार्मिक मान्यताका साथै नारीलाइ अगाडि बढाउन सहयोग गर्ने चाड तिजलाइ हामि सबैले सभ्य र भव्य तरिकाले मनाउन आवश्यक पनि छ । नारी भित्रका आवाजलाइ बाहिर निकाल्न शाहस दिलाउने यो चाडले नारिलाइ अगाडि बढाउन पनि उत्तिकै सहयोग गरेको पाइन्छ । तसर्थ तिजबाट राम्रा कुराहरु टिपेर आफुले आफनो जिम्मेवारी नविर्सिकन अगाडि बढ्नुपर्छ । हामिले हाम्रो रितिथितिलाइ कायम राखौ , संस्कृतिमा धनि नेपालमा कुनै आँच आउन नदिऔ, तीजलाई उत्ताउलो तथा भड्किलो पर्वको रुपमा सिर्जना नगरौ । र अन्त्यमा सकिन्छ भने पशुलाई पनि नखुवाइने खुट्टाको पानि (जल) महिलाले खाने प्रचलनलाइ त्यागौ र तिजको बर्त आत्मावादी र ईश्वरवादी दुवैले लिन पाइन्छ ।
व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको हो । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानवका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । त्यसकारण सभ्य र सहज तिज मनाउदै भड्किलो तीजबाट हुने दुर्घटनाबाट बचौ । सबैमा तिजले हासो, खुशि, उमङ्ग र जोश भरिदियोस । सबैमा तिज २०७४ को मङ्गलमय शुभकामना ।
तिलु शर्मा पौडेल
रघुगंगा गाउँपालिका–२ भगवती
हाल दोहा कतार