पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

  • १ पुष २०८०, आईतवार
  • 245 पटक पढिएको

प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ ।

संसारको सातौँ अग्लो हिमाल हो धौलागिरि आठ हजार एक सय ६७ मिटरको उचाइमा रहेको छ भने १०औँ अग्लो हिमाल अन्नपूर्णको उचाइ आठ हजार ९१ मिटर छ । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले पहिलोपटक सन १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रचेका थिए । अरु थुप्रै मनमोहक हिमालको जिल्ला पनि हो म्याग्दी । यहाँ नीलगिरि, चुरेन, गुर्जा, मानापाथीलगायत हिमाल छन् ।

साहसिक मुटु भएकाहरू हिमाल चढ्छन् । पदयात्राका लागि पनि यहाँ राम्रा पदमार्ग छन् ।  धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ निस्कने धौलागिरि चक्रिय, धौलागिरि आइसफल र सेञ्चुरी पदमार्ग । धेरैजसो पर्वतारोही र पदयात्री नाउरा, बगर, दोभान, इटाली आधार शिविर हुँदै मुस्ताङको मार्फा निस्कन सकिने चक्रीय धौलागिरि पदमार्गमा हिँड्छन् । अन्नपूर्णका प्रथम आरोही सम्मानमा मौरिस हर्जोग पदमार्ग सञ्चालनमा ल्याइएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँदेखि अन्नपूर्ण प्रथमको आधार शिविर जोडिन्छ यो पदमार्ग । नारच्याङ हँुदै एकै दिनमा आधारशिविर पुग्न सकिन्छ । यो पदमार्ग रमणीय, मनमोहक र प्राकृतिक सौन्दर्ययुक्त छ । नारच्याङदेखि हुमखोलासम्म गाडी र हुमखोलादेखि फुतफुते, भुसकेत हुँदै आधारशिविर पुग्न सकिन्छ ।

 

अन्नपूर्ण आधारशिविर फराकिलो र समथर भूगोलमा छ । आधारशिविर नजिकैको नारच्याङ पञ्चकुण्ड ताल यहाँको अर्को विशेषता हो । पदयात्रामा फुतफुतेलगायतका झरनाका साथै विभिन्न जातका गुराँस, वन्यजन्तु, पक्षी तथा वनस्पति अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण पदमार्गमा होटल तथा लज सुविधा छैन । त्यसैले पर्वतारोही तथा पदयात्रीले क्याम्पिङ गर्नुपर्छ ।

 

अक्करे पहाड, जङ्गल, ग्रामीण जीवनशैली, स्थानीय कला संस्कृति, प्राकृतिक तातोपानी कुण्ड, वनजङ्गल अवलोकन गर्न पाउनु धौलागिरि पदमार्गका आकर्षण हुन् । भोङभोङे, मिस्तुङ कुना, लामो छहरा, कुलिवाङ, तातोपानी र झुम्टोगोठ छहराको रमणीय दृष्यावलोकन गर्न पनि पाइन्छ । पदमार्गको इटालियन क्याम्पदेखि माथि होटल तथा लज सुविधा नभएकाले पदयात्रा गर्दा क्याम्पिङ गर्नु पर्ने बाध्यता छ ।

 

धवलागिरि गाउँपालिकाको ताकम, बेनी नगरपालिकाको ज्यामरुककोट, बेनीबजारको बेनी कोत, रघुगङ्गा गाउँपालिकाको भगवती कोत म्याग्दीका ऐतिहासिक कोतघर हुन् । चौबिसे राज्यका पालाका हातहतियार र सामग्री राखिएका कोतघरमा दसैंको समयमा विशेष पुजाआजा हुने गर्छ । पहाडी भूगोल र हिमालको दृश्यावलोकन गर्न सकिने उच्च स्थानमा रहेका कोतघरका हतियार इतिहासका साक्षी हुन् ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर पश्चिमको पशुपतिनाथका रुपमा परिचित छ । सत्ययुगमा सतीदेवीको गला पतन भएकाले गलेश्वर नाम रहेको किम्बदन्ती छ । यहाँ शिवालय, राधाकृष्ण मन्दिर, कहिल्यै नसुक्ने जलबराह कुण्ड पनि छन् । पौलस्त्य ऋषिका नाति लंकाका राजा रावण जन्मिएको ठाउँ पौलस्त्य–पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पछैमा पर्छ । पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको भन्ने ढुङ्गा ९पत्थर० छ ।

बेनी नगरपालिकाको गाजनेमा रहेको नेपालमै फरक स्वरूपको पाँच सय वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्ति छन । ऋषिमुनि र माताहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको बेनी नगरपालिकाको स्वर्गाश्रममा आन्तरिक र बाह्य पर्यटक जाने गर्छन् । जनैपूर्णिमा पर्वका अवसरमा विशेष पूजाआजा हुने रघुगङ्गा गाउँपालिकाको रिखार पनि म्याग्दीको प्रसिद्ध धार्मिकस्थल हो ।

तीन हजार ४०० मिटर उचाइमा अवस्थित म्याग्दीको धार्मिकस्थल मालिका धुरी प्राकृतिक रुपमा सुन्दर र रमणीय छ । मनोकांक्षा पुरा हुने जनविश्वासका साथ मालिकामा चण्डी, ज्येष्ठ र कात्तिक पूर्णिमामा विशेष पूजाआजा गर्ने भक्तजनको घुइँचो लाग्छ । बिम, बिमवाङ, दुखु, हिदी, टोड्के र ठाडाखानीको बाटो भएर पुगिने मालिकाबाट २० भन्दा बढी हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । बिम हँुदै मालिका धुरीमा जाने बाटोमा पर्ने बराह ताल र प्रभुचेला आश्रम पनि यस क्षेत्रका आकर्षण हुन् ।

धवलागिरि गाउँपालिका–१ मा अवस्थित गुर्जा गाउँलाई ‘लुकेको वस्ती’, ‘दुरवस्ती’, ‘एकल वस्ती’ तथा जीवित मानव सङ्ग्रहालय पनि भन्ने गरिन्छ । गुचुमुच्च बस्ती । परम्परागत ढुङ्गा र माटोबाट बनेका परम्परागत घरहरू । छन्त्याल जातिको जीवनशैली, सभ्यता र संस्कृति बुझ्ने आँखीझ्याल हो गुर्जा । चुरेन, पुथा र गुर्जा हिमालको जरामा बसेको बस्तीले पर्यटकलाई लोभ्याउँछ ।

जडीबुटीको भण्डार पनि हो गुर्जा गाउँ । यहाँ यार्सागुम्बा, जटामसी, निरमसी, सतुवा, कुट्कीलगायत धेरै थरिका बहुमुल्य जडीबुटी पाइन्छ । त्यसैले त गुर्जालाई ‘हर्बल हव’ उपमा समेत दिइन्छ ।  मुना–लुलाङ हुदै एक दिन पुरै हिँडेर गुर्जा गाउँमा पुगिन्छ । पर्यटकका लागि गाउँमा होमस्टे सुविधा छ । त्यहाँदेखि गुर्जा हिमालको आधारशिविर पुग्न चार घण्टा, चुरेन पुग्न २ दिन र पुथाको आधारशिविर पुग्न २ दिन ४ घण्टा लाग्छ ।

गुर्जा माथि बस्ती नभएकाले क्याम्पिङ गर्नुपर्ने हुन्छ । हिमाल आरोहणका अतिरिक्त वन्यजन्तु, पंक्षि, झरना, ग्रामीण बस्ती, जीवनशैली, वनस्पति र जडीवुटीको अवलोकन गर्न पाउनु धौलागिरि, गुर्जा, चुरेन र पुथा हिमालको आधारशिविरको आकर्षण हो । गुर्जा हुँदै डोल्पा जोड्ने पश्चिम धौलागिरि र ढोरपाटन शिकार आरक्ष जोड्ने पदमार्ग पहिचान भएको छ । बसन्त ऋतुमा गरिने महसिकार गुर्जाको थप आकर्षण हो ।

म्याग्दीको घोडेपानी, पुनहिल, मोहरेडाँडा र फूलबारी क्षेत्रमा लालीगुराँसको घना जङ्गल छ । नेपालमा पाइने ३२ मध्ये ८ प्रजातिका गुराँस यहाँ पाइन्छन् । गुराँसे जङ्गलको पृष्ठभूमिमा हिमाल र सूर्योदयका दृश्यमा रम्न पाउँदा बेग्लै आनन्दको अनुभूति हुन्छ । म्याग्दीको पोखरेबगरदेखि गाडी र कास्कीको नयाँपुल, घान्द्रुक भएर पुगिने घोडेपानीमा आमा समूहले संग्रहालय पनि सञ्चालन गरेका छन् । पर्यटकका लागि घोडेपानीमा सुविधायुक्त होटल छन् ।

घोडेपानीबाट करिब एक घण्टा उकालो चढेपछि पुनहिल (तीन हजार २१० मिटर) पुगिन्छ । पुनहिलबाट हिमालको लामो लर्कन देखिन्छ । त्यसैगरी पुनहिलबाट करिब चार घण्टा हिँडेपछि पुगिने अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत तीन हजार ३०० मिटर उचाइको मोहरेडाँडाबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल देखिन्छन् ।

घोडेपानीका साथै नागी, हम्पाल, लेसपार, राम्चे हँुदै पुगिने मोहरेडाँडामा सामुदायिक लज सञ्चालन गरिएको छ । प्यारीभारानी ताल, फुलबारी, कालीसार, करवाकेली थान र संग्रहालय, आलडाँडा, करबाकेली पदमार्ग, टिकोट घोडेपानी–पुनहिल आसपासका सहायक गन्तब्य हुन् ।

तीन हजार ६६० मिटर उचाईको सुन्दर हिलस्टेशन खोपाराबाट हिमालको लामो लर्कन, सूर्योदय र सूर्यास्तको मिठास देखिन्छ । हिमचुली, अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, बराह शिखर, निलगिरि साउथ, टुकुटे पिक, मानापाथी हिमाल र धौलागिरि हिमशृङखला देखिने खोपारामा भेडाबाख्रा र चौरी गाईको गोठ थप आकर्षण हुन् । खोपाराबाट एक दिन र एक बिहान हिँडेपछि पुगिने चार हजार ६३० मिटर उचाईमा, बराह शिखर हिमालको फेदीमा रहेको खयर भारानी प्रख्यात शक्तिपिठ हुन् ।

मनोकामना पूरा हुने विश्वासका हरेक बर्ष जनै पूर्णिमाका दिन यहाँ मेला लाग्छ । पाउद्वार गाउँदेखि खोपारा हुँदै खयरतालसम्म व्यवस्थित पदमार्ग छ । घोडेपानी, शिख, पाउद्वार र नारच्याङबाट एकै दिनमा पुग्न सकिने खोपारामा पाउद्धार पर्यटन सहकारी संस्थाले सामुदायिक होटल सञ्चालन गरेको छ । बयली र ढाडँखर्क खोपाराका सहायक गन्तब्य हुन् ।

बेनी–जोमसोम सडकमै पर्ने महभिर र दानाको रुप्से झरना म्याग्दी हुँदै मुस्ताङ जाने आउनेका लागि रमाउने थलो हुन् । धवलागिरि र अन्नपूर्ण हिमालको बीच भएर बग्ने, शालिग्राम पाइने विश्वको एकमात्र, कालीगण्डकी नदीले निर्माण गरेको विश्वकै गहिरो अन्धगल्छी रुप्से झरनाको नजिकै छ । बेनी–जोमसोम सडकअन्तर्गत नागढुङ्गादेखि पाँच मिनेट गाडी र १५ मिनेट उकालो हिँडेपछि पुगिने नारच्याङ झरना पनि पर्यटकीय सम्भावना बोकेको प्राकृतिक स्थल हो । छङछङ सुसाउँदै झर्ने सुन्दर र आकर्षक देखिने झरनामा पर्ने इन्द्रेणीले मनै हराउँछ ।

बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रुपमा परिचित छ । बिरे नुनको गन्धमा निस्कने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको भएको बिरामीहरू बताउँछन् । बेनी बजारदेखि आठ किलोमिटर टाढा रहेको सिंगा तातोपानी बजारमा पाहुनाका लागि आरामदायी होटल सुविधा छ ।

अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानीमा प्राकृतिक रुपमा निस्कने तातोपानी सङ्कलन गरिएका दुईओटा पोखरी र धारामा स्नान गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि विश्रामस्थल बनेको भुरुङ्ग तातोपानीमा सुविधासम्पन्न होटल तथा लज छन् । अन्नपूर्णको पाउद्वार, रातोपानी, सेकार्कु, रघुगङ्गाको दर्मीजा, धवलागिरिको बगर र गुर्जाको तातोपानी कुण्ड पनि पर्यटकीय हिसाबले सम्भावनायुक्त छन् ।

रघुगगा गाउँपालिकाको रुइसेमा भुमे मन्दिर, नौलि बराह, देउराली मन्दिरलगायतका धार्मिक स्थल छन् भने घनाजङ्गल र जडीबुटी पाइन्छ । रुइसेदेखि ४५ मिनेट  उकालो पैदलयात्रापछि पुगिने करिब २६ सय मिटर उचाईमा अबस्थित भेडीओडारबाट धौलागिरि, माछापुच्छे, अन्नपूर्ण, निलगिरि, मनास्लु हिमाल, सूर्योदय, पहाडी भूगोल, गुरासे जङ्गलको अवलोकन गर्न सकिन्छ । धौलागिरि आइसफल पदमार्गको प्रवेशबिन्दुमा रहेको रुइसे गलेश्वरदेखि एक घण्टा गाडीको यात्रा गरेपछि पुगिन्छ । भगवती मैदानमा रहेको ऐतिहाँसिक कोत मन्दिरको धार्मिक महत्व छ ।

दुई हजार पाँच सय मिटर उचाइमा रहेको टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन दुबै चङ्गा बनाउँछ । गुराँसे जङ्गलको टाकुरामा रहेको टोड्केबाट धौलागिरि, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमालको लामो लस्कर देखिन्छ । टोड्केमा स्वर्गद्वारी मन्दिर र सिद्धथान छन् । मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभूले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । झिँ, पूर्णगाउँ र बाखेतको बाटो भएर पुगिने धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेशद्वार टोड्केमा रिसोर्र्ट तथा होमस्टे सञ्चालन भएको छ ।

बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको घुस्तुङ र बार्से ब्लकसहित १५ प्रतिशत क्षेत्रफल म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्छ । वन्यजन्तुको सिकार, समथर भूगोल, चरन क्षेत्र, बुकी पाटन, पक्षी, वनस्पति, हिमशृङ्खलाको अवलोकनका लागि ढोरपाटन परिचित छ । म्याग्दीको धारापानी–ताकम–मुना–लमसुङ–मरेनी हुँदै एक दिन र लमसुङ–गुर्जा–गुर्जाघाट हुँदै दुई दिन पैदल हिँडेर ढोरपाटन पुगिने पदमार्गमा पर्ने नर्जा झरना थप आकर्षण हो । ढोरपाटन सिकार आरक्ष जाने र गुरिल्ला पदमार्गमा पर्ने ३४१० मिटर उचाइमा जलजलाबाट पहाडी भूगोल, सूर्योदय र प्राकृतिक सौन्दर्यको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारदेखि धवलागिरि हिमालसम्मको दृश्य देखिने खबराको लभ्लीहिल (मायालु डाँडा) बेनी बजार नजिकैको नयाँ गन्तव्य हो । त्यसैगरी बेनी नगरपालिकाको भकिम्ली र काठेखोला गाउँपालिकाको सिमानामा रहेको बेलको जस्तो आकारको रुप भएको बेलढुङ्गा पहाडी भूगोल, सूर्योदय र हिमशृङ्खलाको दृष्यावलोकनका लागि गन्तव्य बनेको छ । यिनै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको उपयोगमा नै म्याग्दीको समृद्धि जोडएको छ । रासस