ज्ञानोदय माविमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
- ३१ जेष्ठ २०८३, आईतवार
- 3 पटक पढिएको
म्याग्दी, जेठ ३१ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा एक दिने व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, अभिभावक र सरोकारवालाहरुको भूमिका, शिक्षण सिकाईमा अबलम्बन गरिने अनुकरणीय अभ्यास, शिक्षण सिकाईमा सूचना प्रविधि र एआईको उपयोग लगायतका बिषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालय दानाका प्रधानाध्यापक शान्तबहादुर नेपाली र बेनी स्थित लिटल गार्डेन एकेडेमिका प्रिन्सिपल तथा प्याब्सन म्याग्दीका उपाध्यक्ष दिपक सुवेदीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाहरुको भूमिकाको बारेमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसको आईसीटी क्लबका सन्देश आचार्य र सन्देश भट्टराईले एआईएको उपयोगको बारेमा सहजीकरण गर्नुभएको थियो ।
आइतबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्रीको अध्यक्षता तथा रघुगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत नहेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो। विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा प्रमुख प्रशिक्षक शान्तबहादुर नेपाली, शिक्षक अभिभावक संघका अध्यक्ष सुमित्रा सुवेदी, शिक्षक दुर्गादत्त रिजाललगायतले मन्तव्य राख्नुभएको थियो भने सञ्चालन शिक्षक सुरेश थापाले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
