सडक नपुगेको गुर्जामा साइकल यात्रा

  • १५ मंसिर २०८०, शुक्रबार
  • 299 पटक पढिएको

बेनी, १५ मंसिर:  सडकको पहुँच नै नपुगेको म्याग्दीको दुर्गम बस्ती गुर्जामा साइकल यात्रीहरु पुगेका छन् । धवलागिरि गाउँपालिका–१ मा अवस्थित गुर्जा गाउँमा पहिलो पटक विहिवार पहिलो पटक साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुन साइकल चढेर पुग्नुभएको हो । गाउँपालिकाको केन्द्र मुनादेखि लुलाङसम्म सडकको पहुँच पुगेपनि त्यहाँदेखि एक दिनको पैदलदुरीमा सडकको ट्याक खनिएको छैन् ।
६ स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा गुर्जा एकमात्रै सडकको पहुँच नपुगेको वडा हो । सडकको पहुँच नै नपुगेको गुर्जा लुकेको गाउँको नामले परिचित छ । सडक नपुगेको र एक दिनको पैदल दुरीलाई साईकल यात्रा गर्दै श्रेष्ठ र पुन पहिलो पटक गुर्जा पुग्नुभएको हो । समुद्री सतहदेखि करिब २ हजार ७ सय मिटर उचाईमा रहेको गुर्जामा साईकल यात्री आउँदा स्थानीयबासी उत्साहित बनेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको गुर्जा पर्यटन सम्भावनाले भरिपूर्ण रहेको र साहसीक साइकल यात्रीहरु मार्फत लुकेर रहेको पर्यटकीय सम्भवना उजागर हुने अपेक्षा गरिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । गत आइतबार विहान पोखराबाट यात्रा सुरू गर्नुभएका श्रेष्ठ र पुन ५ दिन साइकल यात्रापछि गुर्जा पुग्नुभएको हो । पोखराबाट पहिलो दिन मालढुंगा, दोस्रो दिन म्याग्दीको ताकम तेस्रो दिन लुलाङ, चौथो दिन देउराली र पाँचौ दिन गूर्जा पुगेको साइक्लिस्ट दीपक श्रेष्ठले जानकारी दिनुभयो । सडक नै नभएको, घना जंगल, उकाली, ओरालीको लुलाङदेखि गुर्जासम्मको साइकल यात्रा रोचक र अविस्मरणीय भएको उहाँले बताउनुभयो ।

सन् १९८५ देखि माउण्टेन साइकलमा यात्रा गर्दै आउनुभएका श्रेष्ठले नेपालका ग्रामिण बस्तीको यात्रालाई निरन्तरता दिँदै आएको बताउनुभयो । श्रेष्ठसँगै साइकल यात्रामा रहनुभएकी म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ रुम डाँडागाउँ पुख्यौली घर भई हाल काठमाण्डौमा बस्ने कमला पुनले केही ठाउँमा साइकल बोकेर यात्रा गरेपनि अन्य ठाउँमा सहजै तरिकारले गुर्जासम्म साइकल यात्रा गर्न सफल भएको बताउनुभयो । श्रेष्ठ र पुनको साइकल यात्रा टोली गुर्जाबाट रुघाचौर हुदै ढोरपाटन पुगेर बुर्तिवाङ, गलकोट हुदै बागलुङ पुग्ने जनाइएको छ ।