महङ्गीले चाडपर्व नै खल्लो बन्दै, मुल्यबृद्धिले व्यापार व्यवसायमा समेत गिरावट

  • ४ कार्तिक २०८०, शनिबार
  • 325 पटक पढिएको

बेनी, ४ कात्तिक : रघुगंगा गाउँपालिका – ३ का सम्मर दर्जिलाई दशैँको खर्च जुटाउन सकप परेको छ । प्रवासमा रहेको छोराले पठाएको दशैँ खर्चले बजारमा घरपरिवारको लागि एक÷एक जोर नयाँ कपडा समेत किन्न नपुगेपछि उहाँ निरास बनेर गाउँ फर्कनुभयो । ‘‘ घरखर्च देखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिए, आधा सामान पनि किनमेल गर्न पुगेन, दशैँको अरु तयारी त गर्नु छदै छ, महङ्गीले हामीलाई चाडपर्व मनाउनै समस्या छ’’–दर्जिले भन्नुभयो ।
मालिका गाउँपालिका– २ रुमबाट बेनीमा चाडपर्वलाई लक्षित गरि सामान किन्न आउनुभएका रमेश पुनले बजारमा सामानको मुल्य आकासिएको पाएको बताउनुभयो । विगतका बर्षको तुलनामा यस बर्ष सामानको भाउ आकासिएको र घरपरिवारको लागि आबश्यक पर्ने सामान किनमेल गर्न मुस्कील परेको अनुभव सुनाउनुभयो । ‘दरबाङ बजारमा भन्दा बेनीमा केहि सस्तो मुल्यमा सामान पाइन्छ कि भनेर आएको थिए, कहाँ सस्तोमा पाउनु, उल्टै गाडीभाडा र समय खेर गयो, चाडपर्व मनाउन पनि धौधौ हुने स्थिती आयो’’–उहाँले भन्नुभयो ।

बजारमा अहिले दैनिक उपभोग्य सामाग्री सहित लत्ताकपडा, सजावट र घरायसी सामानको मुल्य आकासिएको छ । विगतका बर्षको तुलनामा यस बर्ष बजारमा ५० प्रतिशत देखि ७० प्रतिशत सम्म नै महङ्गी बढेर सामान आएको व्यवसायिहरु बताउँछन् । आफुहरुले खरिद गर्दा नै मुल्य बढेको कारण विगतको तुलनामा बजारमा सामाग्रीको मुल्य केहि बढेको उनीहरुको भनाई छ ।

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले खाद्यान्नमा ६० प्रतिशत सम्म मुल्य बढेर आएको र त्यसको प्रत्येक्ष मार सर्वसाधारण र व्यवसायिहरुलाई समेत परेको बताउनुहुन्छ । चामल, जिरा लगायतको खाद्य सामाग्रीको मूल्य गत बर्ष भन्दा दोब्बर भएको छ । तेल, चिनी लगायतका सामाग्रीको मूल्य समेत बढेर आएको छ । ‘‘ जिल्लामै कृतिम मूल्य बढेको छैन, हामीले व्यवसायिहरुलाई निरन्तर सचेत गराइरहेका छौँ, माथिबाट आउँदा नै मूल्य अस्वभाविक रुपमा बढेको हो, मूल्य बढेपछि स्वभाविक रुपमा चाडपर्व खर्चिलो हुने देखिएको छ’’– अध्यक्ष कटुवालले भन्नुभयो ।

बजारमा मूल्य बढेसंगै व्यापार व्यवसायमा पनि गिरावट आएको छ । अन्य समयको तुलनामा चाडपर्वको समयमा व्यापार बढेपनि विगतका बर्षको तुलनामा व्यवसाय खस्किएको म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ । गत बर्षको तुलनामा यस बर्ष दशैँको समयमा ३० प्रतिशत व्यापार कम भएको संघका अध्यक्ष कटुवालले बताउनुभयो ।

व्यापार व्यवसाय घट्नुमा बजारमा अस्वभाविक मूल्यबृद्धि संगै गाउँमा बसोबास समेत कम हुँदै जानु अर्को कारण बनेको जानकारहरु बताउँछन् । म्याग्दीको जनसख्ंया घट्दो क्रममा हुँदै जानु, गाउँ गाउँमा बसाइँसराईको कारण रित्तिदै जानुले पनि उपभोक्ता घट्दै गएको हुनसक्ने व्यवसायिहरुको अनुमान छ । देशव्यापी रुपमा आर्थिक संकटको प्रभाबले पनि धनि र हुनेखाने परिवारले समेत चाडपर्वमा खुलेर खर्च गर्न सक्ने अवस्था बनेको छैन् ।

यस बर्ष बजारमा भेडाच्याङ्ग्राको मूल्य समेत अस्वभाविक रुपमा बढेको छ । हिमाली क्षेत्रमा पालन गरेर दशैँलाई लक्षित गरेर बजारमा ल्याईएका भेडाच्याङ्ग्राको मूल्य ५० हजारसम्म पुगेको छ । भेडाच्याङ्ग्रामा प्रतिगोटामै गत बर्षभन्दा १० हजार बढी मूल्य बढेको छ । दशैँकै समयमा बजारमा अत्यधिक खपत हुने स्याउको मुल्य समेत बढेको छ । अघिल्लो बर्ष प्रतिकिलो रु २०० मा खरिदविक्रि हुने स्याउ अहिले बजारमा प्रतिकिलो रु २५० पुगेको छ ।

बजारमा बढेको मूल्यबृद्धिको नियन्त्रणमा सरकारले ध्यान नदिँदा सामान्य नागरिकहरुले दशैँ लगायतका चाडपर्वहरुलाई सकसपूर्ण तवरले मनाउनुपर्ने अवस्थामा पुगेका छन् । भड्किलो तवरले चाडपर्व मनाउने संस्कारले समस्यामा परेका सर्वसाधारण नागरिक बजारमा बढेको मूल्यबृद्धिले चाडपर्वलाई खर्चिलो तवरले मनाउनुपर्ने बाध्यतामा पर्ने गरेका छन् ।