तीन महिनापछि लुलाङमा विजुली बल्यो

  • १ कार्तिक २०८०, बुधबार
  • 363 पटक पढिएको

बेनी, १ कात्तिक : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा तीन महिनापछि विजुली बलेको छ । गत असार २८ गते पहिरोले ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि विद्युत सुविधा उपभोगबाट बञ्चित भएका स्थानीयले लघुजलविद्युत मर्मत भएपछि पुनः विजुली वत्ति बाल्न पाएका हुन् ।
धवलागिरि गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा रु ११ लाख ७८ हजार लगानीमा पहिरोले बगाएको लघुजलविद्युतको पुननिर्माण गरिएको उपभोक्ता समितिका सचिब ज्ञानबहादुर पाईजाले जानकारी दिनुभयो । उहाँका अनुसार, काम सूरु भएको २१ दिनमा विद्युतगृहको भवन, कटान रोक्न पक्की पर्खाल निर्माण संगै मेसिन उपकरण जडान गरेर विजुली बलेको हो ।
लघुजलविद्युत पुननिर्माण भएपछि लुलाङ, लम्सुङ, खोरिया, मरेनी लगायतका बस्तीका करिब ३१५ घरधुरी लाभान्वित भएका छन् । पहिरोले लघुजलविद्युत परियोजनाको विद्युतगृह र मुहान बगाएपछि अन्धकार बनेको सिंगो वडा पुननिर्माण भएपछि पुनः उज्यालो भएको स्थानीय युवा भक्त सिंकिजा पुन मगरले बताउनुभयो ।
विद्युत नभएपछि रातमा विद्युलि बक्ति बाल्न नपाउनुको साथै विद्यालय, स्वास्थ्य चौकीसहित गाउँको जनजीवन प्रभावित बनेको थियो भने गाउँमा रहेका कुटानी पिसानी गर्ने मिल, फर्निचर उद्योग र मासुपसल समेत बन्द भएका थिए । उपभोक्ता समितिले विद्युतगृह भवन संगै मुहानमा समेत कुलो पुननिर्माण गरेको जनाएका छन् । त्यसैगरि जेनेरेटर, हिटर लगायतका मेसिन उपकरण मर्मत गरिएको छ भने एलसी बोर्ड, मुख्य सुइच लगायतका उपकरण नयाँ खरिद गरेर जडान गरिएको उपभोक्ता समितिका सचिब पाईजाले बताउनुभयो ।
यस अघि विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना तेस्रो पटक पुननिर्माण गरिएको हो ।
पुननिर्माण भएको लघुजलविद्युतको मंगलवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । जनप्रतिनिधि, उपभोक्ता समिति र स्थानीयबासीले उक्त परियोजनाको सुभारम्भ गरेका हुन् । केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा बिजुलीका लागि लघुजलविद्युत् परियोजनामाथि निर्भर छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो ।