कर्मचारी आन्दोलनमाः म्याग्दीका पालिकाको काम ठप्प

  • २६ आश्विन २०८०, शुक्रबार
  • 287 पटक पढिएको

बेनी, २६ असोज ः सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनविरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि म्याग्दीका पालिकाका कामकाज ठप्प भएका छन्। उक्त ऐनमार्फत सरकारले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । देशव्यापी रुपमा आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले पेन डाउन गरेका छन् । काठमाण्डौमा धर्ना दिएका कर्मचारीहरुले म्याग्दीका सबै स्थानीय तहमा कामकाज रोकेर स्थानीय तहको कार्यालय परिसरमा धर्ना बस्ने गरेका छन् ।


पालिकामा आउने सेवाग्राहीको काम बन्द हुँदा विकास निर्माण देखि कार्यालयको नियमित सेवा प्रवाह र वित्तिय सेवा समेत प्रभावित बनेको छ । अत्यावश्यक काम बाहेकका अन्य सेवा सबै बन्द गरी कर्मचारी आन्दोलनमा छन्। उनीहरू हातमा कालो पट्टी बाँधेर दिनभर पालिका प्रांगणमा धर्ना दिएर बस्दै गर्दै आएका छन्।
आफ्ना मागबारे सम्बन्धित निकायले चासो नदेखाएपछि आन्दोलनमा उत्रिन बाध्य भएको र पेन डाउन गरी कामकाज ठप्प पारेको स्थानीय तह कर्मचारीहरु बताउँछन् ।
माग पूरा नहुँदासम्म पेन डाउन नरोकिने र काममा नफर्किने उनीहरुको अडान छ । संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने र स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषमा समेटीनुपर्ने लगायतका ११ बुँदे माग राख्दै देशभर पालिकाका कर्मचारीहरू आन्दोलनमा छन्।

उनीहरूले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुनुपर्ने, निजामतीभित्र स्थानीय तहका कर्मचारीलाई पनि समेट्नुपर्ने र पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गर्नुपर्ने माग गरेका छन्।

निजामती अस्पतालका सबै सेवा सुविधा पाउनुपर्ने, बहाल कर्मचारीलाई उमेरहद नलाग्ने र सेवा अवधि जोडिनुपर्ने, ट्रेड युनियनको अधिकार दिनुपर्ने, अस्थायी र करार कर्मचारीको उचित व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।