चक्रिय धौलागिरी पदमार्ग : सम्भावना अथाह, पूर्वाधारको अभाब

कमल खत्री
बेनी, ११ कात्तिक : पथप्रदर्शक छिरी राईले ७ बर्षपछि धौलागिरि चक्रिय पदमार्गमा पर्यटकहरुलाई लिएर आफै पुग्नुभयो । काठमाण्डौमा आसाकी टेक्स एण्ड एक्सपीटिसनका सञ्चालक समेत रहनुभएका राईले दर्जनौँ पटक धौलागिरी चक्रिय पदमार्गमा पर्यटकहरु लिएर आएको भएपछि पछिल्लो पटक भने ७ बर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धौलागिरि आधार शिविर पुग्ने पदमार्गमा पर्यटकहरुलाई लिएर भ्रमण गराउनुभएको हो । धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ¬(८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धौलागिरी पदमार्ग साहसिक पदयात्राको लागि प्रख्यात मानिन्छ । धौलागिरी आधार शिविर क्षेत्रको भ्रमण र धौलागिरी आरोहणका लागि समेत पर्यटकहरु यस पदमार्ग हुँदै ओहोरदोहोर गर्छन् । धौलागिरि पदमार्ग प्राकृतिक रुपमा मनोरम रहेपनि पर्यटन विकासको अवस्थामा भने सुधार र परिवर्तन नभएको पाईएको राईले बताउनुभयो । ‘‘धेरै हिमालहरुमा पर्यटकहरु लिएर पुगेको छु, धौलागिरी पदमार्गको जस्तो सुन्दरता कमै भेटिन्छ, तर यहाँको पर्यटन पूर्वाधारको विकास भने अन्य क्षेत्रको तुलनामा निकै कम छ’’–राईले भन्नुभयो ।

हङकङमा रहेका म्याग्देलीहरुको सामुहिक धौलागिरी पदमार्गको भ्रमणको नेतृत्व गर्नुभएका राईले विदेशी पर्यटकहरुले साहसिक यात्राको रुपमा लिने यस क्षेत्रमा पदमार्ग, सञ्चार, होटल लगायतका पूर्वाधार र सुविधाको पहुँच बढाउन सकेमा आन्तरिक पर्यटकहरु समेत ठूलो संख्यामा भित्र्याउन सकिने बताउनुभयो । ‘‘ धौलागिरी पदमार्ग निकै पुरानो पदमार्ग हो, सुरुसुरुमा भिर पहाडमा जोखिम मोलेरै हिड्नुपर्ने थियो, पछि सामान्य गोरेटो खनेपछि केहि सहज भएको हो, तर पूर्ण रुपमा पदमार्ग निर्माण कार्यले अझै मुर्तरुप लिएको छैन, ठाउँ ठाउँमा जोखिमपूर्ण यात्रागर्नुपर्ने बाध्यता यथावत छ’’–उहाँले थप्पनुभयो ।

म्याग्दी सदरमुकाम बेनीदेखि मुदी गाउँसम्म सडकको ट्याक निर्माण भएकाले त्यहाँसम्म सवारी साधनमा पुगेपछि एक दिनको यात्रामा बगर गाउँ पुग्न सकिन्छ । बगरबाट –दोभान, दोभानदेखि सल्लाघारी– इटाली आधार शिविर हुँदै धौलागिरी आधार शिविर पुग्न करिब ४ दिनको पैदलयात्रा गर्नुपर्छ । पछिल्ला बर्षहरुमा पदमार्गको लागि गाउँपालिका, पर्यटन मन्त्रालय र प्रदेश सरकार मार्फत समेत बजेट विनियोजन हुन थालेपनि बजेट प्रयाप्त नहुँदा पदमार्ग निर्माणले तिब्रता पाएको छैन् । अग्ला डाँडाकाँडा र पहाड, घना जंगल, झरना, खोला नाला र हिमालको मनोरम दृष्य लोभलाग्दो रहेपनि पर्यटन विकासका आधारभुत पूर्वाधार नहुँदा यात्रा कष्टकर र जोखिमपूर्ण हुने गरेको पहिलो पटक आधार शिविर पुग्नुभएका कर्णबहादुर पुनले बताउनुभयो ।

‘‘हामी २३ जनाको टोली आधार शिविरसम्मको यात्रामा सफल भयौँ, चक्रिय पदमार्गकै यात्रा गर्ने लक्ष्य रहेपनि प्रतिकुल मौसम र उपयुक्त पूर्वाधार नहुँदा हिमालको आधार शिविरबाट फर्किनुप¥र्यो, यस पदमार्गमा जाने जो कोहिलाई यहाँको सुन्दरताले लोभ्याउँछ, तर प्रयाप्ता पर्यटन पुर्वाधार र सुविधा नहुँदा फेरी भ्रमणमा जाने आँट हराउँछ’’– पुनले भन्नुभयो । धौलागिरी पदमार्गले समेटिएका बस्तीहरुमा पर्यटन संस्कृतिको समेत अभाब रहेको बताउँदै पुनले स्थानीयबासीमा पर्यटन संस्कारको विकास गर्ने, पर्यटन पूर्वाधार निर्माण गर्ने र पदमार्गलाई व्यापक प्रचार प्रसार गर्ने कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने आबश्यकता औँल्याउनुभयो ।
यस पदमार्ग अन्तरगत बगरगाउँमा होमस्टे रहेपनि त्यो प्रभाबकारी र व्यवस्थित बन्न सकेको छैन भने दोभान, सल्लाघारी र इटाली बेसक्याम्पमा रहेका होटलको क्षमता प्रयाप्त छैनन् । खानामा अर्गानिक र आतित्थ्यतामा मौलिकतालाई जोड्दै स्थानीय कला र संस्कृतिलाई समेत यस क्षेत्रको पर्यटन विकासको अर्को आधार बनाउनुपर्ने अर्का पर्यटक इन्द्र एलजी थापा मगरले बताउनुभयो । ‘‘पदमार्ग हुँदै देखिने प्राकृतिक दृष्य र आधार शिविर पुगिसकेपछि देखिने अनौठो र विचित्रको दृष्यले एक पटक पुग्नै पर्ने ठाउँ रहेको कुरा महसुस भयो, तर यसलाई व्यापकता र विस्तार गर्न भने पूर्वाधार र सुविधाको पहुँच विस्तार गर्नैपर्छ’’–उहाँले भन्नुभयो ।

यस पदमार्गको अधिकाँश क्षेत्रमा सञ्चारको पहुँच नपुगेको कारण पर्यटकहरु सञ्चार सम्पर्कको अभाबले स्वास्थ्य समस्या र आपतकालिन समयमा तत्काल उद्धार पाउनबाट बञ्चित हुनुपर्ने बाध्यता रहेको छ भने इटाली आधार शिविरदेखि माथिको पदमार्ग स्थायी नहुँदा हरेक बर्ष बाटो फेरिररहने समस्या रहेको छ । इटाली आधारशिविरदेखि अघि बढेपछि म्याग्दी नदीको खोचमा झोलुंगे पुलको अभाब रहेको छ । पुल नहुँदा हिउँ जमेर बनेको ग्लेसियरमाथि नै जोखिमपूर्ण तवरले आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । समुन्द्र सतहदेखि ४ हजार ७६० मिटर उचाईको आधार शिविर हुँदै मुस्ताङको लेते निस्क्ने चक्रिय धौलागिरी पदमार्ग साहसिक पदयात्राको लागि प्रख्यात रहेपनि पर्यटन पूर्वाधार तयार भएमा समुन्द्र सतहदेखि ३ हजार ६६० मिटर उचाइको इटाली आधार शिविरसम्मको पदयात्रामा आन्तरिक पर्यटकहरुको आगमन बढाउन सकिने सम्भावना रहेको स्थानीय होटल व्यवसायि हरिप्रसाद तिलिजा बताउनुहुन्छ ।     

अन्य फोटो ग्यालरीमा जानुहोस्