असोजमै हिमपात, लघुजलविद्युतको मुहान बाढीले बगाएपछि गुर्जा अन्धकार
- २० आश्विन २०७९, बिहीबार
- 691 पटक पढिएको
बेनी, २० असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा मध्य असोजमै हिमपात भएको छ । दुई दिनदेखि जारी अबिरल बर्षाको कारण बढेको चिसोसंगै गुर्जा गाउँको नजीकका डाँडाहरुमा आज दिउँसोदेखि हिमपात भएको हो । असोज महिनामा नै हिमपात भएको यो पहिलो पटक भएको स्थानीयबासीको भनाई छ । गाउँ आसपासका डाँडाहरुमा हिमपातले सेताम्मे बनेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
‘‘ गाउँ आसपासमा असोज महिनामै हिमपात भएको हामीले थाहा पाउँदासम्मकै पहिलो हो, बर्षा र हिमपातको कारण चिसो अत्यधिक बढेर जनजिवन प्रभावित बनाएको छ’’–वडा अध्यक्ष छन्त्यालले भन्नुभयो ।
यसैबिच गुर्जामा रहेको स्थानीय ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युतको मुहान बाढीले बगाएपछि अबरुद्ध बनेको छ । लघुजलविद्युत अवरुद्ध बनेसंगै गुर्जामा रहेका २६५ घरधुरी अन्धकार बनेका छन् । केन्द्रीय विद्युतिकरणको पहुँच नपुगेको र लघुजलविद्युत अबरुद्ध बनेसंगै स्थानीयबासीले रातमा बत्ति बाल्न पाएका छैनन् भने सञ्चार सम्पर्क समेत विच्छेद गराएको वडा अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।
बर्षा रोकिएपछि मात्रै बाढीले पु¥याएको क्षतिको एकिन हुने जनाइएको छ । म्याग्दीमा सडक सञ्जालले नजोडिएको एकमात्रै वडा गुर्जा भौगोलिक रुपमा विकट रहेको छ । दुई दिनदेखिको बर्षाको कारण म्याग्दीका अधिकाँश सडक अबरुद्ध बनेका छन् । जिल्ला सदरमुकाम बेनीदेखि बेनी– दरबाङ र बेनी–जोमसोम सडक ठाउँ गाउँमा खसेको पहिरोका कारण अबरुद्ध बनेका छन् ।