फुट्दा धोका भयाे, अब बाबुरामजी र म मिलेर समाजवादमा पुर्याउँछौं : प्रचण्ड

  • ८ आश्विन २०७९, शनिबार
  • 369 पटक पढिएको

काठमाडौं, ८ असोज ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  माओवादी विभाजीत हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताउनुभएको छ ।  काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको बताउँदै अब समाजवादको लागि पनि आफूहरु मिल्नै पर्ने निश्कर्षमा पुगेको बताउनुभयो । उहाँ भन्नुभयो–  त्यो जनयुद्धमा डा. बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्नेछौं ।

‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’ उनले भने,‘अहिले फेरी समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं ।’

माओवादी विभाजनको तितो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निश्कर्षमा बाबुराम र आफू पुगेको दोहोर्याउँदै प्रचण्डले भन्नुभयो,

‘यी प्रयोग गर्दा हाम्रो उद्देश्य जति सुकै राम्रो र ठुलो भए पनि सफल हुन सकेन । घटनाक्रमले के साबित गर्‍यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यताहरू, त्यसले ल्याएका परिवर्तनहरू धरापमा पर्ने खतरा देखाप(यो । प्रतिक्रियावादी, बर्जुवाहरुले माओवादी आन्दोलनका नेता–कार्यकर्ताहरूलाई अपमानित गर्ने र यसका उपलब्धिहरू उल्ट्याउन अनेक खालाका कसरतहरू गर्ने बीचमा देखा परे ।’

प्रचण्डले यी घटनाहरूको समीक्षा गर्न आवश्यक देखिएको बताउँदै यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धिहरू नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पार्नुभयो । ‘यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व गर्‍यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस गर्‍यौँ,’ प्रचण्डले अगाडि भन्नुभयो,  ‘प्रचण्ड–बाबुराम दुईवटा नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठुलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी । इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तितो मार्मिक यथार्थ भोगिरहेका छौँ ।’

‘बाबुराम–प्रचण्ड मिल्दा १ प्लस १ दुई मात्र हुने होइन, यसको महत्त्व ठुलो हुन्छ,’ उनले थपे, ‘हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।’ संविधानको घोषणापछि आफू र बाबुराम भट्टराईले एमालेसँग एकता र नयाँ शक्तिको स्थापना गर्ने दुस्हासिक प्रयोग गरेको बताउँदै तीन दुवै प्रयोग असफल भएको स्वीकार गरे ।

प्रचण्डले बाबुराम र आफू केही समहनादेखि निरन्तर छलफलमा रहेको र छलफलको निश्कर्ष फुट होइन एकता नै भएका र एकता संघर्ष रुपमान्तरण र मुख्यतः रुपान्तरण नै भएको निकालिएको बताउँदै भन्नुभयो,
‘केही महिनादेखि बाबुरामजी र म निरन्तर छलफलमा थियौँ । नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर हामीले छलफल गर्यौं । त्यतिबेला जनयुद्धको तयारीका दिन स्मरण गर्‍यौँ र समाजवादका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेपछि एक ठाउँमा केन्द्रित हुने निर्णय गर्‍यौँ ।’

प्रचण्डले आफूहरुको एकता चुनावको लागि मात्रै नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो
‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’