बेनी–जोमसोम सडकको भीरकाटेमा कालिगण्डकीले सडक बगाएपछि….(फोटो फिचर)

  • २३ असार २०७४, शुक्रबार
  • कमल खत्री
  • 8209 पटक पढिएको

म्याग्दी, २३ असार । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अबरुद्ध बनेको छ । अविरल बर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च भएपछि तीनबर्ष अघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको हो ।

नदीले करिब २० मिटर सडक बगाएपछि बेनी–जोमसोम सडकमा दुईदिनदेखि सिधा यातायात अबरुद्ध बनेको अन्नपूर्ण गाउँपालिका–२ का वडा सदस्य बुद्धि पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, सडक अबरुद्ध बनेपछि म्याग्दीको उत्तरी भेगका साथै हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक, तिर्थयात्री तथा सर्वसाधारण यात्रुहरु समस्यामा परेका छन् । सिधा यातयात अबरुद्ध बनेपछि यात्रुहरुले सवारी साधन परिवर्तन गरि यात्रा गर्नुपर्ने झण्झट भएको छ ।

बिहिबार साँझ नदी कटानले सडक बगाएको थियो । निरन्तरको बर्षाले कालिगण्डकीमा उर्लिएको बहाबले क्षती पु¥याएको सडकलाई अस्थायी रुपमा मर्मत गरि खुलाउने प्रयास भईरहेको अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले जानकारी दिनुभयो । अहिले कालिगण्डकी नदीले कटान गरेको ठाउँमा अस्थायी रुपमा डोजरको सहायताले ठुला–ठुला ढुंगा राखेर नदीको बहाब रोकी एकतर्फी रुपमा भएपनि सडक खुलाउने प्रयास भईरहेको उहाँले बताउनुभयो ।

सिधा सवारी सुचारु नहुँदा सयौँ यात्रुहरु समस्यामा परेपछि सडकको अबस्थाबारे शुक्रवार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल लगायत सुरक्षा निकायका अधिकारीहरुले समेत स्थलगत निरिक्षण गर्नुभएको छ ।

जिल्ला स्थित सुरक्षा निकाय र गाउँपालिकाको पहलमा सडक विभागका डोजर, दाना स्थित निर्माणधिन सबस्टेशनको दुई वटा र घलेम्दी हाईड्रोको एक वटा ट्रिपर कटान भएको सडकलाई अस्थायी रुपमा सुचारु गराउने कार्यमा परिचालन भएका छन् ।

सडक भत्किएपछि बेनी, पोखरा र काठमाडौबाट मुस्ताङका लागि छुटेको सवारी साधनहरु भीरकाटेमै रोकिएका छन् भने जोमसोमबाट छुटेका जिप, बस तथा मालबाहक ट्रकहरु पोखरेबगरमै रोकिएका छन् ।

शनिवार साँझ सम्ममा एकतर्फी रुपमा भएपनि सडक खुलाउने प्रयास भईरहेको सडक विभागका स्थानीय प्रतिनिधि इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । यो सडकमा जिप, बस तथा मालबाहक ट्रकहरु गरि दैनिक २ सय सवारी साधनहरु सञ्चालन हुँदै आएका छन् ।

 

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l