मुस्ताङ पर्वतीय शिखर सम्मेलन सुरु

  • ४ आश्विन २०७९, मंगलवार
  • 395 पटक पढिएको

मुस्ताङ ४ असोज । विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असर, त्यसले वातावरणीय तथा विभिन्न क्षेत्रमा पारेको प्रभाव र त्यसको न्यूनीकरण तथा दीर्घकालीन अनुकुलनसम्बन्धी निकासको मार्ग पहिल्याउँदै मुस्ताङ पर्वतीय घोषणा जारी गर्ने तयारी छ। दुई दिने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गरे। वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सम्मेलनमा डीसीए, एफएओ, इसिमोड, आईयुसीएन र किर्डाक, एनटीएनसी, युकाईर्ड, युएनडीपी र डब्लुडब्लुएफले सहआयोजकको भूमिका निभाएका छन्।

मुस्ताङ शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेल्ने बताए। ुआगामी २७ तारिखमा कोप सम्मेलन इजिप्टमा हुँदैछ, त्यसका लागि पनि मुस्ताङ शिखर सम्मेलन फलदायी रहनेछ,ु प्रम देउवाले भने। प्रधानमन्त्री देउवाले यसअघि चन्द्रागिरी हिल्समा दिगो पर्वतीय शिखर सम्मेलनको उद्घाटन गरेका थिए।

मुस्ताङमा सोही कार्यक्रम अन्तर्गतको दोस्रो पटक शिखर सम्मेलन उद्घाटन गर्न पाउँदा उनले खुसी व्यक्त गरे। उनले दिगो पर्वतीय विकास वर्षअन्तर्गत शिखर सम्मेलनका लागि नेपाली जनताको तर्फबाट सयुक्त राष्ट्र संघ लगायतलाई धन्यवाद व्यक्त गरे। प्रधानमन्त्री देउवाले भने, ुहाम्रो जस्तो पर्वतीय जैविक विविधता, संस्कृति, विभिन्न क्षेत्रको आर्थिक प्रणाली, वनस्पती, वन्यजन्तु लगायतमा चुनौति र अवसरलाई प्राथमिकीकरण गर्ने अवसर शिखर सम्मेलनले प्रदान गर्नेछ।ु

उनले पर्वतीय हिमालहरू हिउँले भरिएको प्राकृतिक धरोहर मात्र नभई समग्र एक अर्ब जनसंख्यालाई पानी सिन्चित गर्न आधारस्तम्भ भएको उल्लेख गरे। धौलागिरी क्षेत्रमा थुप्रै समस्या र चुनौतीहरू विद्यमान रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तन, जैविक विविधतामा क्षति, भुक्षयीकरण, प्रदुषण, गरिबी र असमानताजस्ता समस्यालाई तुरुन्तै सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले स्थानीय स्तरको समस्या समाधानको बाटो खोज्दै योजना तर्जुमा गर्नुपर्ने बताए।
मन्त्री यादवले मुस्ताङ जिल्ला धार्मिक सांस्कृतिक, सामाजिक, भौगोलिक र जैविकता विविधताले महत्वपूर्ण रहेको उल्लेख गरे। मुस्ताङको प्राकृतिक सौन्दर्यताले शारीरिक इनर्जी प्राप्त भएको र यहाँबाट फर्किएपछि झनै सक्रिए भएर काममा लाग्ने ऊर्जा मिलेको बताए।

ुयहाँ आउँदा मुस्ताङी जस्तै भएको अनुभूति भएको छ, मुस्ताङका लागि आफूले विशेष प्राथमिकता दिएर काम गर्नेछु, मन्त्री यादवले भने, ुयहाँ फेरि आउँदा पर्वतीय क्षेत्रको विकासका लागि सम्बन्धीत चार मन्त्रालयका प्रतिनिधि लिएर मुस्ताङ आउने छु। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पर्वतीय अर्थतन्त्र, जैविक विविधता, पारिस्थितिक प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र हिमाल अनि तल्लो तटीय क्षेत्रको सम्बन्धजस्ता महत्वपूर्ण विषयमा विद्यमान समस्या रहेको बताए।

मुख्यमन्त्री पोखरेलले विकासोन्मुख देशहरूमा बढ्दो गरिबी, खाद्य असुरक्षा, सामाजिक वहिष्कार, वातावरणीय क्षेत्रमा ह्रास, विपद् जोखिम र आधारभूत सेवामा पहुँच स्थापित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। सम्मेलनमा निवर्तमान संघीय सांसद प्रेमप्रसाद तुलाचन, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री दिपक थापा, राष्ट्रिय योजना आयोगकी सदस्य सलोनीसिंह प्रधान, प्रधानमन्त्रीका वातावरणीय सल्लाहाकार माधव कार्की, पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी, एफएओ प्रमुख डा। केन सिभिज र वन तथा वातावरण मन्त्रालयका सहसचिव डा। सिन्धु प्रसाद ढुङ्गाना लगायतले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा पारेको प्रभाव र त्यसको दीर्घकालीन वैज्ञानिक निकास र समाधान खोज्न आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा नेपाली सेनाका मेजर किशोर अधिकारीले पर्वतीय सरसफाईसम्बन्धी प्रस्तुतीकरण दिए। संघीय वन तथा वातावरणमन्त्री यादव र मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जोमसोमस्थित मोक्ष रिसोर्ट परिसरमा वृक्षारोपण गरेर सम्मेलनको उद्घाटन गरेका थिए। सम्मेलनले बुधबार मुस्ताङ पर्वतीय घोषणा जारी गर्ने छ।