थासाङको कोवाङमा बृहत सरसफाई

  • २२ असार २०७४, बिहीबार
  • सुन्दर कुमार थकाली
  • 3104 पटक पढिएको

मुस्ताङ,२२,असार । ‘हिमालपारी जिल्ला मुस्ताङको अभियान,पूर्ण सरसफाईमा लगाउ सबैको ध्यान’ भन्ने उद्घोष सहित १० वटा स—साना गाउँहरु मिलेर बनेको साविकको कोवाङ गाविस हालको थासाङ गाउँपालिका वडा नं.२ मा बिहिवार बृहत सरसफाई भएको छ। वडालाई पूर्ण प्रदुषणमूक्त बनाउँने उद्देश्यले थासाङ गाउँपालिका वडा नं.२ ले कोवाङले सरसफाई अभियान संञ्चालन गरेको हो ।

बृहत सरसफाई अभियानमा सौरु,खन्ति,कोवाङ,लार्जुङ,नाकुम,भर्जुङकोट,नाउरीकोट,बोक्सीखोला,छाक्ताङ र सिर्खुम गाउँका स्थानीयवासीले ब्यापक सहभागिता जनाएका छन् ।सरसफाईमा ईलाका प्रहरी चौकी कोवाङ,स्वास्थ चौकी कोवाङ,सौरु आधारभुत बिद्यालय,जनआदर्श मा.वि. कोवाङ,गुरुस्याङ्वो आमा समुह नारिकोट,राष्ट्रिय बुद्धि बिकास आधारभुत बिद्यालय, महालक्ष्मी महिला बहुउद्देश्य सहकारी संस्था कोवाङ र ६ गाउँका मूखियाको टोली सहित करिव ९ संघसंस्थाले सहकाार्य गरेका हुन् ।

स्थानीयतह अन्तर्गत मुस्ताङका ५ गाउँपालिकाका वडाहरु मध्ये यो पहिलो वडास्तरिय सरसफाई कार्यक्रम हो ।धार्मिक तथा पर्यटकिय गन्तब्य मानिने थासाङको कोवाङ क्षेत्र आदिवासी जनजातीहरुको उद्गम् स्थल हो ।वडा परिषदको हालै बसेको बैठकले प्राकृतिक संम्पदाको संरक्षण तथा वातावारणीय सन्तुलनलाई चुस्तपार्न सरसफाईलाई प्राथमिकता दिएको बताईएको छ ।परिषदको बैठकले आ.ब.को चालु बजेटको १५ प्रतिशत रकम सरसफाईमा खर्चिएको कार्यक्रम संयोजक राम प्रसाद थकालीको भनाई छ ।उनले वडाको बृहत पूर्ण सरसफाईका निम्ति २ लाख २७ हजार रुपैयाँ सरसफाई सामाग्री खरिदमा बिनियोजन गरेको खुलाए ।

पूर्ण सरसफाई अभियानको कोवाङ खन्तिमा उद्घाटन गर्दे थासाङ २ का वडा अध्यक्ष नर प्रसाद हिराचनले सरसफाईले वडाको सकारात्मक बिकासमा सहयोग पूग्ने उल्लेख गरे ।उनले सरसफाई र स्वास्थ मानिसको दैनिक जिवन संग जोडिएको बताउँदै स्वस्थ जिवनको परिकल्पना सरसफाई भएको बताए । उनले यो अभियान जिल्लामा पहिलो दावी गरे । गाउँ मूखिया भीम गौचनले धार्मिक र सांस्कृति संम्पदाले भरिएको थासाङ क्षेत्रको वातावरणीय प्रदुषणलाई रोक्न जनप्रतिनिधिले राम्रो कामको थालनी गरेको बताए ।

उनले देवी देवताले बाँस गरेको थासाङ क्षेत्रमा फोहोर प्रदुषणले देवी देवताको उपहाँस गर्ने उल्लेख गर्दे सरसफाईको कार्यक्रमले थासाङक्षेत्रको गरिमा उचाईमा पू¥याउँने बताए । थासाङ २ का निर्वाचित प्रतिनिधि सम्मिलित वडा परिषदको पहिलो बैठकले पदभार ग्रहण तथा निर्णयहरु अनुमोदन गरेको थियो ।सरसफाई अभियान्ताहरुको टोली बिहिवार वडाका १० वटै गाउँमा पुगेर सरसफाई गरेको संयोजक राम प्रसाद थकालीले जानकारी दिए ।

सुन्दर कुमार थकाली