दुर्गम गाउँमा ‘होमडेलिभरी’ शून्य
- २३ भाद्र २०७९, बिहीबार
- 883 पटक पढिएको
दुर्गम गाउँका महिलाहरु पनि सचेत र शिक्षित बन्दै गएपछि ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्य भएको गलकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मीनराज गैरेले जानकारी दिनुभयो । उहाँ गर्भवती भएपछि पहिलो पटक स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउँदादेखिनै महिलालाई परामर्श दिने गरेको र सोही अनुसार महिलाहरु सचेत बन्दा ‘होमडेलिभरी’ कम भएको बताउनुहुन्छ । “अहिले गलकोटमा ‘होमडेलिभरी’को अवस्था शून्य छ, पहिले–पहिले यो समस्या थियो, अहिले वडा–वडामा वर्थिङ सेन्टर स्थापना भएका छन्, स्वास्थ्य सेवाको पहुँच पनि सहज बनेको छ, त्यसमाथि महिला दिदीबहिनीहरु पनि सचेत र शिक्षित बन्दै जानुभएको छ,” जनस्वास्थ्य निरीक्षक गैरेले भन्नुभयो, “मान्छे शिक्षित भयो भने धेरै समस्या समाधान हुने रैछ, हामीले पनि गर्भवती भएर स्वास्थ्य जाँचका लागि आएको पहिलो पटकदेखिनै काउन्सिल गरिरहेका हुन्छौँ, त्यसले गर्दा पनि हाम्रो नगरपालिकामा ‘होमडेलिभरी’ न्यून बनेको हो ।” एघार वडा रहेको गलकोटमा आठ स्थानमा वर्थिङ सेन्टर छन् ।