मिडिया काउन्सिल विधेयक संशोधनका लागि आचार्यले दिए १२ सुझाव

  • १८ भाद्र २०७९, शनिबार
  • 407 पटक पढिएको

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले प्रतिनिधिसभामा पेस भएको मिडिया काउन्सिल विधेयक थप संशोधनका लागि सुझाव दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पूर्व अध्यक्ष आचार्यले सो विधेयकमा थप संशोधन आवश्यक रहेको भन्दै १२ बुँदे सुझाव दिएका हुन् 

उक्त विधेयक राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।  शुक्रबार प्रतिनिधिसभामा पेस भएको उक्त विधेयक संशोधनका लागि सोमवारसम्म समय दिइएको छ ।

यस्ता छन् आचार्यले दिएका १२ सुझाव– 

१. प्रतिनिधिसभामा राष्ट्रियसभाले सन्देशसहित पारित गरेर पठाएको विधेयकमा समेत नेपाल मिडिया काउन्सिललाई नेपाल सरकारको नियन्त्रणमा राख्ने खालका प्रावधानहरु रहेका छन् । मिडियाको स्वनियमनका लागि बन्ने निकायलाई सरकारी नियन्त्रणमा राख्दा सम्पूर्ण प्रेस जगतलाई नै परोक्ष रुपमा असर पर्ने भएकाले यसमा अझै पनि आवश्यक संशोधन गर्नुपर्ने देखिन्छ ।

२. राष्ट्रियसभाले पारित गरेको विधेयकको प्रस्तावनामा स्वायत्तता शब्द थप गरिएपनि अहिले पनि विधेयकको प्रस्तावनामा काउन्सिलको स्वतन्त्रतालाई सुनिश्चित नगरिएकाले स्वतन्त्रता र स्वायत्तता सुनिश्चित गर्ने गरी संशोधन गरिनु पर्दछ ।

३. विधेयकमा काउन्सिलको नाम ‘नेपाल मिडिया काउन्सिल’ प्रस्ताव गरिएको छ । सूचना प्रविधिको विकाससँगै इन्टरनेटमा आधारित विभिन्न मिडियाहरु प्रचलित रहेको र ‘मिडिया’ शब्दले गैरसमाचारमूलक मिडियालाई समेत समेट्ने भएकाले यसको नाम ‘प्रेस काउन्सिल नेपाल’ नै राख्दा उपर्युक्त हुने देखिन्छ ।

४. विधेयकको दफा ५ ‘काउन्सिलको काम, कर्तव्य, अधिकार’ अन्तर्गत (ज) मा आमसञ्चारमाध्यमबाट प्रसारित तथा प्रकाशित आचारसंहिता विपरीतका सामग्रीको सम्बन्धमा छानबिन र कारबाही गर्ने व्यवस्था रहेको छ । यो व्यवस्थाले आचारसंहितालाई स्वनियमनको माध्यम नमानी ‘कानून’ मान्ने प्रयास गरेको देखिन्छ । यसको साटो आचार संहिता पालना भए नभएको अनुगमन गर्ने र सञ्चारमाध्यमहरुले स्वनियमनको व्यवस्था गरी आचार संहिता पालना गर्ने व्यवस्था राख्नु उपयुक्त हुन्छ ।

५. प्रस्तावित विधेयकको दफा ७ (घ) मा राष्ट्रियसभाले संशोधन गरी सदस्यहरुमा प्रदेशकोसमेत प्रतिनिधित्व हुने व्यवस्था गरेको सकारात्मक छ । तर ३ जना मात्र निर्वाचित गर्ने भनिएकोमा यसलाई सबै प्रदेशको प्रतिनिधित्व हुने गरी पत्रकार महासंघले निर्वाचित गरी पठाएका पत्रकारहरु काउन्सिल सदस्य रहने व्यवस्था गर्दा उचित हुन्छ ।

६. विधेयकको दफा ७ (३) मा अध्यक्ष तथा सदस्यहरुको सिफारिशका लागि समितिको व्यवस्था गरिएको छ, जसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको नेतृत्वमा मन्त्रालयले तोकेका एक वरिष्ठ पत्रकारसहित दुई व्यक्ति सदस्य रहने व्यवस्था छ । यस्तो शिफारिस समिति राखेर नियुक्ति गर्नुले काउन्सिलका अध्यक्ष र सदस्यहरुको नियुक्ती प्रकृया सिफारिशदेखि नियुक्तिसम्म पूर्णरुपमा मन्त्रालयको नियन्त्रणमा रहने र सरकार वा मन्त्रालयले आफू अनुकूलका व्यक्तिलाई मात्र नियुक्ती दिने नियत देखिन्छ । यस्तो व्यवस्थाको साटो प्रतिनिधिसभाका सभामुखको नेतृत्वमा विभिन्न पक्षहरुलाई समावेश गरी स्वतन्त्र सिफारिश समिति गठन गरेर नियुक्त गर्नु उचित हुन्छ ।

७. विधेयकको दफा १० मा काउन्सिलका अध्यक्ष तथा सदस्यहरुलाई उनीहरुको कार्यक्षमता अभाव भएमा, काम सन्तोषजनक नभएमा वा खराब आचरण भएमा सरकारले सिधै पदमुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले सरकारले चाहेको अवस्थामा अध्यक्ष वा सदस्यलाई स्वार्थवश पदमुक्त गर्नसक्ने अवस्था आउन सक्छ । यसको साटो दफा ७ (३) लाई संशोधन गरी गठन गरिएको सिफारिश समिति समक्ष पदमुक्त गर्न सिफारिश गर्ने र समितिले छानबिन गरी निर्णय गर्ने व्यवस्था राख्दा अध्यक्ष तथा सदस्यले सरकारको दबावमा काम गर्नुपर्ने वातावरणलाई न्यूनिकरण गर्न सकिन्छ ।

८. विधेयकको दफा १५ मा ‘अध्यक्षको पद रिक्त रहेको अवस्थामा मन्त्रालयले काउन्सिलका सदस्यहरू मध्येबाट कुनै सदस्यलाई कार्यवाहक अध्यक्ष तोक्न सक्नेछ’ भन्ने प्रावधान राखिएको छ । यस्तो प्रावधानले काउन्सिल स्वायत्त निकाय नभई मन्त्रालयकै कुनै विभाग सरह मात्र रहन गएको देखिन्छ । यसको साटो काउन्सिलका सदस्यहरुले आफूमध्येबाट कसैलाई कार्यवाहक अध्यक्ष तोक्ने प्रावधान राख्नुपर्छ ।

९. विधेयकको दफा १६ मा सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेमा प्रकाशक, सम्पादक, पत्रकार तथा संवाददाताविरुद्ध समेत उजुरी दिनसक्ने व्यवस्था गरिएको छ । सञ्चारमाध्यममा सम्प्रेषण हुने विषयवस्तुको मूल र अन्तिम जिम्मेवारी सम्पादकको हुने भएकाले आचारसंहिता उल्लंघनका विषयमा सम्पादकलाई मात्र उत्तरदायी बनाउँदा थप जिम्मेवार हुन सक्ने देखिन्छ ।

१०. दफा १७ मा रहेको ‘उजुरी उपर जाँचबुझ र निर्णय’ अन्तर्गत उपदफा ४ मा रहेको कारवाही सम्बन्धि व्यवस्थामा प्रस्तवित विधेयकमा राष्ट्रियसभाले संशोधन गरी ‘दर्ता प्रमाणपत्र खारेज गर्ने’ सम्मको व्यवस्था गरेको छ । यो प्रावधान कुनैपनि सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारका आधारमा दर्ता खारेज गर्न नमिल्ने संवैधानिक प्रावधानको विपरित भएकाले हटाइनु पर्दछ । राष्ट्रिय सभाको बैठकवाट विद्यायन समितिले दफा १७ उपदफा १ मा थपेको “पत्रकारका रुपमा काम गर्न चाहनेका लागि काउन्सिलले परिक्षा सञ्चालन गर्नेछ र सो परिक्षाको पाठ्यक्रम तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ” भन्ने वाक्यांश हटाइ सकेकाले यसलाई फेरि थप गर्नु हुँदैन ।

११. विधेयकको दफा १९ मा रहेको आचारसंहिता उल्लंघनसम्बन्धि कुनै काम अन्य कानून बमोजिम कसुर ठहर्ने भए काउन्सिलले सम्बन्धित निकायलाई लेखि पठाउनु पर्ने व्यवस्था हटाउनु पर्ने देखिन्छ । समाचारको विषयवस्तुले कसैलाई केही असर परे सम्बन्धित व्यक्ति वा संस्था कानूनी उपचारका लागि अन्य निकायहरुमा जान स्वतन्त्र हुन्छन् । तर यसका लागि काउन्सिललाई पत्राचार गरी बिचौलियाको भूमिका निभाउने निकायका रुपमा उभ्याउनु उपयुक्त हुँदैन ।

१२. दफा २८ मा काउन्सिलले आफ्नो वार्षिक प्रतिवेदन मन्त्रालयमार्फत नेपाल सरकारलाई पेश गर्नुपर्ने प्रावधानको साटो प्रतिनिधिसभाको सञ्चार हेर्ने समितिमा पेश गर्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ । यसले काउन्सिललाई सरकारप्रति नभई संसदप्रति उत्तरदायी बनाउँछ ।