समुदायको रु १ करोड ६० लाख लगानीमा खोप्रा–खयर पदमार्ग निर्माण (फोटो फिचर)

  • १ भाद्र २०७९, बुधबार
  • कमल खत्री
  • 703 पटक पढिएको

कमल खत्री
बेनी, १ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका स्थानीयबासीको अगुवाईमा समुदायको रु साढे १ करोड बढी लगानीमा खोप्रा–खयरलेक पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्गले समेटिएको पाउद्धार–खोप्रा हुँदै खयरलेक सम्मको दुई दिनको पदयात्राको बाटोमा पदमार्ग, चौतारा, खानेपानी र थान पुननिर्माणमा सहयोगदाताहरुमार्फत रु १ करोड ६० लाख बढी खर्च भएको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अभियन्ता राजु पुनले बताउनुभयो ।


बेलायती सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट समेत रहेका पुनको अगुवाईमा बिगत एक दशकदेखि यो क्षेत्रमा पूर्वाधार निर्माण सुरु भएको थियो । अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिक स्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ । थान पुननिर्माणमा मात्रै रु ३९ लाख खर्च भएको थियो ।


परम्परागत रुपमा ढुंगाको थानमा पुजाआजा हुँदै आएपनि २०४८ सालमा स्थानीय भेडा गोठालाहरुले थानको स्वरुप दिएर निर्माण गरेका थिए । उक्त भारानीको थान जिर्ण बनेको कारण सहयोग जुटाएर पुननिर्माण गरिएको पुनले जानकारी दिए । थान निर्माण संगै २०७० देखि पदमार्ग निर्माण सुरु भएको थियो । जंगल र पहाडको अप्ठ्यारो बाटोमा ढुंगाको सिढी चिनेर पदमार्ग निर्माण संगै पर्यटक र तिर्थयात्रीहरुलाई थकान मेटाउनका लागि चौतारा निर्माण गरिएको छ ।


‘‘हामीले पर्यटन पूर्वाधार बनाउन सरकारको मुख ताकेर बसेनौँ, यहाँ यस्तो समस्या छ, यो काम गर्दै छौँ भनेर आह्वान ग¥यौ, सहयोगदाताहरु स्वतस्फुर्त रुपमा सहयोग गर्न तयार भएपछि यो काम सम्भव भएको हो’’– अभियन्ता पुनले भन्नुभयो । दश बर्षको अवधिमा आधा बढी समय लेक र बुकीमै बसेर पदमार्ग निर्माण खटिएका पुनले अझैपनि अप्ठ्यारा ठाउँहरुमा पदमार्ग र रेलिङ निर्माण संगै तिर्थयात्री र पर्यटकको सुविधाका लागि आश्रयस्थल लगायतका पूर्वाधार निर्माणको अभियान सञ्चालन भैरहेको बताउनुभयो ।


धार्मिक भावनाले पर्यटन विकास
साहसीक पदयात्राको गन्तव्य बनेको पाउद्धार–खोप्रा–खयर पदमार्गमा स्थानीयबासीले मात्रै पूर्वाधार बनाउन लगानी गरेका छैनन् । जिल्लाभित्र र जिल्ला बाहिरका व्यक्तिहरुले समेत सहयोग गरेका छन् । धार्मिक पर्यटकीय क्षेत्रको विकासमा धार्मिक मुल्य र मान्यतालाई जोडेर उजागर गरेपछि मात्रै यो सम्भव भएको हो ।
पाउद्धार गाउँदेखि नै पदमार्ग र चौतारा निर्माणमा विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो आफन्तको सम्झना र परिवारका अग्रज व्यक्तिहरुको नाममा सहयोग गरेका छन् । हरेक चौतारा निर्माण गर्ने व्यक्तिहरुले पदमार्ग समेत बनाएका छन् । चौतारा र पदमार्गमा उनीहरुको शीलालेख समेत राख्ने गरिएको छ ।


यस क्षेत्रको पूर्वाधार निर्माणमा सहयोग गर्नेहरुमध्ये अधिकाँश खयर क्षेत्रको भ्रमण र खयरभारानीको दर्शन र पूजाआजा गर्न आएका व्यक्तिहरु छन् । यहाँ आइसकेपछि प्रभावित बनेर स्वतस्फुर्त रुपमा पदमार्ग बनाउन सहयोग गर्ने गरेको स्थानीय मिनबहादुर तिलिजा पुनले बताउनुभयो । ‘‘ पहाडको बाटो अप्ठ्यारो हुनु स्वभाविक हो, अभियान सञ्चालन भएपछि यहाँ आउनेहरु अधिकाँशले यहाँ बाटो र चौतारो बनाइदिनुस, मेरोतर्फबाट यति सहयोग आउँछ भनेर बोल्नुहुन्छ, अझैपनि कतिपय ठाउँको काम बाँकी छ’’–उहाँले भन्नुभयो ।


प्रसिद्ध धार्मिक स्थल र प्राकृतिक रुपमा मनमोहक क्षेत्र रहेको खयर भारानी जाने बाटो अप्ठ्यारो भएकाले यहाँ जानेहरुलाई सहज होस भनेर पदमार्ग निर्माणमा सहयोग गरेको पर्वनको जलजला गाउँपालिका–६ लोप्रेका तारा बहादुर अर्मजाले बताउनुभयो । ‘‘ म प्रवासमा बस्छु, केहि बर्ष अघि यहाँको भ्रमण गर्ने अवसर मिलेको थियो, त्यसबेला थानको पुननिर्माणमा पनि सहयोग गरेको थिए, पछि पदमार्ग बनाउन पनि सहयोग गरेँ, धेरैले यहाँ आईसकेपछि यहाँको विकासमा सहयोग गर्ने प्रेरणा पाउँछन’’–उहाँले भन्नुभयो । पदमार्ग, चौतारा र धाराको संरक्षण र सरसफाईमा समेत सहयोगदाताहरु आफै पुग्ने गरेका छन् ।


अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित प्रसिद्ध धार्मिक स्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ । समुद्री सतहदेखि करिब ४ हजार ७ सय मिटर उचाईमा अवस्थित खयर भारानी थान र खयर तालमा पुजा र भाकल गर्नका लागि भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l