म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफ पदमार्ग निर्माण सुरु

  • ३० श्रावण २०७९, सोमबार
  • 1134 पटक पढिएको

कमल खत्री
बेनी, ३१ साउन ; म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण सुरु भएको छ । २०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गमा पर्यटकहरुलाई आवत जावतका लागि पदमार्ग निर्माणले तिब्रता पाएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट आइसफल पदमार्ग निर्माण सुरु गरिएको हो । पर्यटन विभागसंग दुई वटा प्याकेजमा रु ७७ ÷७७ लाखमा ठेक्का सम्झौता गरेको कल्पबृक्ष विल्डर्सले कार्यक्षेत्रमा आएर स्थलगत नापजाँच सहित पदमार्ग निर्माण सुरु गरेको कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले बताउनुभयो । उहाँका अनुसार, यस बर्ष रु १ करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौता भएको छ ।


आगामी असारभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि पदमार्ग निर्माणको काम अघि बढेको कम्पनीले जनाएको छ । पदमार्ग अन्तरगत रघुगंगा गाउँपालिका–७ चिमखोलाको ससलधारा क्षेत्रमा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण सुरु भएको छ । तीन सातादेखि चिमखोलाका २४ जना ओढारमा बास बसेर पदमार्ग निर्माण गरिरहेका छन् । तीन सातामा ससलधाराको उकालोमा करिब ३ सय मिटर ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको चिमखोलाका अगुवा गम पुनले बताउनुभयो ।
‘‘दुई मिटर पराकिलो पदमार्ग बनाएका छाँै, यस बर्ष ससलधारादेखि बेसक्याम्प हुँदै कालीबराह र दहबुकीतर्फ समेत पदमार्ग बनाउने योजना रहेको छ, कम्पनीलाई स्थानीय स्तरबाट पदमार्ग बन्नैपर्ने स्थानहरुको बारेमा जानकारी गराइएको छ’’–उहाँले भन्नुभयो ।  यस पदमार्ग निर्माण मा अहिले सम्मकै ठुलो बजेट विनियोजन यस वर्ष भएको हो । पदमार्ग को विकास मा पूर्व मन्त्री थममायाँ थापाले समेत निरन्तर पहल गर्दै आएको पुनको भनाई छ ।  धौलागिरि आइसफल पदमार्ग अन्तरगत कोखेभिर र पापिधर्मी डाँडामा अत्यन्तै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यस बर्ष यि दुबै भिरमा पदमार्ग निर्माण गर्न सकेमा धौलागिरि आधारशिविर पुग्ने पदमार्गमा पर्यटकहरुको आगमन बढ्ने स्थानीयबासीको भनाई छ ।
धौलागिरि हिमालको आधारशिविरलाई समेटिएको १ सय २२ किलोमिटर लामो आइसफल पदमार्ग र टोड्के, झिँ पाखापानी, कुइनेमंगले हुँदै रिखार भएर आधार शिविर पुग्ने ५१ किलोमिटर लामो धौलागिरि सेञ्चुरी पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।
यस क्षेत्रमा कुल १७३ किलोमिटर लामो पदमार्गको डिपिआर गरिएको र सोहि बमोजिम पदमार्ग लगायतका पर्यटन पूर्वाधार निर्माणमा संघ र प्रदेश सरकारसंग निरन्तर पहल गरिएको उहाँको भनाई छ । अहिले कुइनेमंगलेको छरी देखि चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिएपनि आधार शिविर देखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नती गर्नुपर्ने काम बाँकी रहेको छ ।
नेपाल सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने १oo पर्यटकीय गन्तव्यको सुचिमा समेत रुईसे डाँडादेखि धवलागिरि आइसफल सम्मको पदमार्गलाई छनौट गरेको थियो । तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।म्याग्दी सदरमुकाम बेनीदेखि हिमाल पारिको जिल्ला मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तार संगै विस्थापित भएपछि म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ बैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई सम्भाव्यत्ता अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम भैरहेपनि सूचनामुलक संकेतबोर्ड राख्ने, खानेपानी, आश्रयस्थल र पर्यटकको सुविधाका लागि होटल तथा लजहरु निर्माण हुन सकेका छैनन् ।


धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमालहरुलाई नजीकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा लगायतका जंगली पशुपंक्षी र तीनको बासस्थानलाई समेत प्रत्येक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) संगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, दग्नाम, बेगखोला, चिमखोला, कुईनेमंगले, दोबा भुरुङ तातोपानी, दाना लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।
तस्विर ः गम पुन