पाखापानीमा टेलिकमको सेवा विस्तार

  • २१ असार २०७४, बुधबार
  • सन्तोष गौतम
  • 6743 पटक पढिएको

म्याग्दी २१ असार । म्याग्दीको रघुगंगा गाउँपालीका –६ पाखापानीमा नेपाल टेलिकमले मोवाईल टावर स्थापना गरेर मंगलबारदेखि सेवा विस्तार गरेको छ ।

पाखापानी स्थित कमनाथ गाउँको डाँडामा रहेको टावर सञ्चालनमा आएपछि पाखापानी, कोटगाउँ, ठाडाखानी, रायखोर, चिमखोला, दर्मीजा र कुईनेमंगलेमा टेलीकमको सेवा विस्तार भएको हो ।

यसअघि मोवाईल टावर नहुँदा पाखापानी र आसपासका बासिन्दालाई सूचना आदानप्रदान गर्न कठिनाई उत्पन्न भएको थियो । बिटीएस टावर सञ्चालन भएको अवसरमा स्थानीय बासिन्दालाई निशूल्क सिम वितरण गरिने नेपाल टेलीकम म्याग्दी शाखाका प्रमुख बिष्णुदेव शाहले बताउनुभयो ।

यसअघि धौलागिरी गाउँपालीकाको ताकम, अन्नपूर्ण गाउँपालीकाको दानामा बिटीएस टावर स्थापना गरेको टेलीकमले मंगला गाउँपालीकाको अर्मन, मालीका गाउँपालीकाको रुम र रघुगंगा गाउँपालीकाको बेगखोलामा थप बिटीएस स्थापना गर्ने तयारी गरेको छ ।

बेनी–जोमसोम सडकमा यात्रा गर्ने पर्यटक तथा यात्रुलाई लक्षित गरेर बेगमा टावर सञ्चालन गर्न लागीएको शाहले बताउनुभयो । १५ वटा टावरबाट थ्रिजी सेवा सञ्चालन गरेको टेलीकमले यस वर्ष म्याग्दीमा ७ वटा नयाँ मोवाईल टावर स्थापना गरेर सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।

सन्तोष गौतम