म्याग्दीका पाँच हजार बढी घरधुरीमा खानेपानीको सुविधा विस्तार

  • १० श्रावण २०७९, मंगलवार
  • 831 पटक पढिएको

बेनी, १० साउन । म्याग्दीमा चारवर्षको अवधिमा पाँचहजार भन्दा बढी घुरधुरीमा ‘एक घर एक धारा’ खानेपानीको सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारले सुरुवात गरेको हरेक घरधुरीमा खानेपानीको पहुँच पुर्याउने अभियान अन्तरगत हालसम्म पाँच हजार एकसय ३७ घरधुरीमा खानेपानी पुर्याइएको हो ।
खानेपानी,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दी मार्फत सम्पन्न भएका १४ वटा खानेपानी योजना मार्फत उक्त संख्यामा खानेपानीको धारा निर्माण भइ खानेपानी सुविधा विस्तार भएको डिभिजन प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, आर्थिक बर्ष २०७८/०७९ मा मात्रै १ हजार ३४७ वटा घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ । मिटर जडीत धाराबाट स्थानीयबासीले स्वच्छ र सफा खानेपानीको उपभोग गर्न पाएका छन् ।


२०७५ देखि गण्डकी प्रदेश सरकारले हरेक घरधुरीमा सफा र स्वच्छ खानेपानीको सुविधा विस्तारका लागि ‘एक घर एक धारा’ कार्यक्रम अघि सारेको थियो । जिल्लाभर २९ हजार ४९९ घरधुरीमा आधारभुत खानेपानीको पहुँच पुगेको म्याग्दीमा खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मार्फत सञ्चालिन आयोजनाहरुले पूर्णता पाएमा ९६ प्रतिशत घरधुरीमा आधारभुत खानेपानीको पहुँच पु¥याउने लक्ष्य लिइएको छ ।

प्रदेश सरकारको बजेटबाट अन्नपूर्ण गाउँपालिका ८मा थावन खानेपानी योजना, रघुगंगा गाउँपालिका १ को बेगखोला खानेपानी योजना , बेनी नगरपालिका ९ स्थित गलेश्वर पम्पीङ खानेपानी योजना, निलदह खानेपानी योजना र वडा नम्बर ४ मा सिंगा खानेपानी योजना सम्पन्न भई घरघरमा धारा निर्माण भएका छन् । यस्तै अन्नपूर्ण गाउँपालिका ६ मा घारा खानेपानी योजना सम्पन्न भएको छ । मंगला गाउँपालिका २ मा हिदी खानेपानी योजना, वडा नम्बर १ मा कुहुँ खानेपानी योजना र मालिका गाउँपालिकाको २ रुममा सेतखोला खानेपानी योजना सम्पन्न भएर घरघरमा धारा निर्माण भएको कार्यालयका इन्जिनियर राजेश उलकले जानकारी दिनुभयो ।

त्यसैगरि बेनी नगरपालिका २ मा ज्यामरुककोट अर्जम रत्नेचौर खानेपानी योजना र मालिका गाउँपालिका ५ मा देविस्थान खानेपानी योजनाको एउटा स्किम सम्पन्न भएर एक घर एक धारा निर्माण भएको छ भने मंगला गाउँपालिका १ मा भर्जुला सल्यान खानेपानी योजना र अन्नपूर्ण गाउँपालिका ६ घारामा नेपाने खोनेपानी योजना सम्पन्न भएको छ । जिल्लामा संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका १० वटा योजना र प्रदेश सरकारका २२ योजना गरी ३२ वटा खानेपानीका योजना सञ्चालित छन् । संघीय सरकारबाट हस्तान्तरण भएका दुईवटा योजना सम्पन्न भइसकेका र भने ८ वटा योजना निर्माणधिन अवस्थामा रहेको कार्यालयले जनाएको छ । प्रदेश सरकारका १८ वटा योजना हाल निर्माणधिन अवस्थामा रहेको कार्यालय जनाएको छ । खानेपानीको योजना निर्माण भएसंगै खानेपानीको लागि एउटै धारामा पालो लगाउनुपर्ने र मुहानमा गैरहनुपर्ने झण्झट हटेको अन्नपूर्ण गाउँपालिका–६ का यामबहादुर बरुवालले बताउनुभयो ।