जिसस मुस्ताङमा प्रमुख र उपप्रमुखसहित एमालेका ६ सदस्य निर्विरोध

  • २३ जेष्ठ २०७९, सोमबार
  • 533 पटक पढिएको

मुस्ताङ, २३ जेठ । जिल्ला समन्वय समिति मुस्ताङको निर्वाचनमा नेकपा एमाले र राप्रपाको एकल उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित एमालेको ६ सदस्य र राप्रपाको १ सदस्य निर्विरोध भएका छन्। जिसस निर्वाचनको लागि सोमबार बिहान १० बजेदेखि २ सम्म उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेकोमा नेकपा एमालेको ६ र राप्रपाको २ जना सदस्यको मात्र एकल उम्मेदवारी परेकाले उनीहरु स्वतः निर्विरोध निर्वाचित भएको नेकपा एमाले जिल्ला सचिव बिनोद विसीले जानकारी दिए।


जिसस मुस्ताङको प्रमुखमा वारागुङ मुक्तिक्षेत्र–१ झारकोटकी माया गुरुङ जिसस प्रमुख र घरपझोङ गाउँपालिका–३ स्याङका आईतेलाल थकाली जिसस उपप्रमुख पदमा निर्विरोध निर्वाचित भएका हुन्। यस्तै जिससको सदस्य पदमा थासाङ गाउँपालिकाबाट उमेश विक, घरपझोङ गाउँपालिकाबाट विन्दु नेपाली, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट शान्ता कुमारी विक र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट टसि ल्हामो सेनचरीको एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। यसअघि स्थानीय तह निर्वाचनमा सहकार्य गरेको राप्रपालाई एमालेले समर्थन गर्दै विमल नेपालीलाई निर्विरोध गराउन सहयोग गरेको थियो।

मुख्य निर्वाचन कार्यालयले जिसस निर्वाचनका लागि जेठ १७ गते २५ गतेसम्म एकसाता लामो निर्वाचन कार्यालय सार्वजनिक गरेको थियो। उम्मेदवारी दिने तोकिएको निर्धारित समयमा अन्य कसैको उम्मेदवारी नपरेकाले एमालेसहित राप्रपाको उम्मेदवार निर्विरोध भईसकेको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिए। तर यसको घोषण निर्वाचन कार्यतालिका अनुसार पर्सि २५ गते सार्वजनिक हुने उनले बताए। ५ स्थानीय तह रहेको मुस्ताङमा एमालेले ४ अध्यक्ष र ३ उपाध्यक्ष पद जितेको थियो। नेपाली कांग्रेसले १ अध्यक्षसहित २ उपाध्यक्ष पद जितेको थियो।