म्याग्दीमा पालिका र वडाको नेतृत्वमा महिलाको सहभागिता शून्य

  • १२ जेष्ठ २०७९, बिहीबार
  • कमल खत्री
  • 584 पटक पढिएको

कमल खत्री
बेनी, १२ जेठ । म्याग्दीका छ वटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा महिलाको सहभागिता शून्य भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुख सहित दुई वटा वडाको वडा अध्यक्षमा महिला चुनिनुभएको थियो । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाका छ वटै स्थानीय तहको प्रमुख तथा अध्यक्ष र ४५ वटै वडाको वडा अध्यक्षमा पुरुष निर्वाचित भएका छन् ।


अघिल्लो निर्वाचनको तुलनामा उम्मेदवारमा महिलाको संख्या बढेपनि विजयी हुन नसकेकाले स्थानीय तह र वडाको नेतृत्वमा महिलाको अवस्था कमजोर बनेको हो । अघिल्लो पटक धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेबाट थमसरा पुन निर्वाचित हुँदा मालिका गाउँपालिका–५ देविस्थानको वडा अध्यक्षमा काँग्रेसबाट पिपला बुढा र धवलागिरि गाउँपालिका–५ मल्कबाङको वडा अध्यक्षमा काँग्रेसबाटै खर्ककुमारी छन्त्याल विजयी बन्नुभएको थियो । तर यस पटक पालिका प्रमुख÷अध्यक्ष र वडा अध्यक्षमा महिला प्रतिनिधित्व शुन्य भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उम्मेदवार दर्ता हुँदा साविकको तुलनामा महिला सहभागिता बढेपनि प्रतिस्पर्धामा उनीहरु पराजित हुन पुगेका छन् । यस पटक म्याग्दीको स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनाबी मैदानमा उत्रिएका थिए । रघुगंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मीना विश्वकर्मा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बन्नुभएको थियो ।

त्यसैगरि मंगला गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रबाट मनमाया चोचाङ्गे र रघुगंगा गाउँपालिका–२ भगवतीको वडा अध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्रबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको थियो । पालिका र वडाको नेतृत्वमा उम्मेदवार बन्नुभएका छ जना महिलाहरु नै पराजित हुनुभएको छ । हरेक स्थानीय तहमा एउटै पार्टीबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाउँदा एक पदमा महिला अनिवार्य भएपनि धवलागिरि गाउँपालिकामा गठबन्धनको कारण अध्यक्ष र उपाध्यक्ष दुबै पुरुष निर्वाचित हुनुभएको छ ।

धवलागिरि गाउँपालिकामा अध्यक्षमा काँग्रेसका प्रेम प्रसाद पुन र उपाध्यक्षमा माओवादी केन्द्रबाट रेशम पुन गठबन्धनको उम्मेदवार बनेर बिजयी बन्नुभएको छ । बेनी नगरमा काँग्रेस र माओवादीको गठबन्धन भएपनि उपमेयरमा माओवादीबाट ज्योती लामिछाने बिजयी हुनुभएको छ भने रघुगंगाको उपाध्यक्षमा काँग्रेसकी प्रेमकुमारी पुन, अन्नपूर्णको उपाध्यक्षमा एमालेकी दिवा तिलिजा, मंगलाको उपाध्यक्षमा एमालेकै प्रेमा अधिकारी क्षेत्री र मालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुन विजयी बन्नुभएको छ । जिल्लाको पाँच स्थानीय तहको उपप्रमुखमा महिला चुनिँदा वडातर्फ नगन्य संख्यामा खुला सदस्य बाहेक महिला र दलित महिलाको कोटामा मात्रै सिमित हुन पुगेका छन् ।

स्थानीय तहमा महिला सहभागिता बढाउन निर्वाचन आयोगले निरन्तर प्रयास गरेपनि दलहरुबिचमा हुने गठबन्धन र दलहरुले उम्मेदवारमा महिलाहरुको संख्या बढाउन नसक्दा नतिजामा महिला सहभागिता कमजोर बन्ने गरेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो । ‘‘देशका विभिन्न ठाउँमा मेयर र अध्यक्ष पदमा उम्मेदवार बनेका महिलाहरुले समेत जित हाँसिल गर्नुभएको छ, महिलाहरुलाई मतदाताले पनि विश्वास गरेको देखिन्छ, तर सबैभन्दा पहिला त महिलाहरु स्वयम र दलहरुले उम्मेदवार छनौटमा महिलाको संख्या बढाउनतर्फ इच्छाशक्ति बढाउनुपर्छ’’–घिमिरेले भन्नुभयो ।

अघिल्लो निर्वाचनमा वडा र पालिकाको नेतृत्वमा पुगेका महिलाहरुको कामले यस पटक सहभागिता बढ्नुपर्नेमा खस्कनु चिन्ताको बिषय भएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक समेत रहनुभएकी लेखक रेखाकौशल रेग्मीले बताउनुभयो । उहाँले महिलाको नेतृत्व र क्षमतालाई पितृ सत्तात्मक सामाजिकरणले स्विकार नगर्नुले पनि स्थानीयतह र वडाको नेतृत्वमा महिलाको सहभागिता घटेको बिचार व्यक्त गर्नुभयो । ‘‘ पुरुषको तुलनामा महिलाहरुले इमान्दार र कुसलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्छन, तर उम्मेदवार बन्न न पार्टीहरुले विश्वास गर्छन, नत उम्मेदवार बनेपछि मतदाताले ? यसको प्रमुख जड भनेको हाम्रो सामाजिकरणको चिन्तनको धरातल हो, यसमा महिलाहरु स्वयमले पनि आफ्नो सक्रियता र क्रियाशिलता बढाउनुपर्छ’’–रेग्मीले भन्नुभयो ।

महिला सहभागिता घट्नुमा खर्चिलो निर्वाचन प्रणालि र प्रचलनलाई पनि लिने गरिएको छ । तुलनात्मक रुपमा राजनीतिमा महिलाहरु भन्दा पुरुषहरुकै बर्चश्व रहेकाले पनि महिलाको तुलनामा पुरुषहरुले बढी अवसर पाउने गरेको तथ्यलाई भने नर्कान नमिल्ने दलका नेताहरु बताउँछन् । उम्मेदवार भन्दा पनि चिन्हका पछि लाग्ने मतदाता, टिकटका लागि पुरुषहरुले जसरी आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्न नसक्ने, दलहरुले उम्मेदवारको टिकट दिन आनाकानी गर्ने प्रवृती र २०७४ देखि अगाडीको लामो समयसम्म आवधिक निर्वाचन नभएको कारण पनि नेतृत्व तहमा महिलाहरुको सहभागिता र प्रतिनिधित्व बढ्न नसकेको उपप्रध्यापक रेग्मी बताउनुहुन्छ । यस पटकको स्थानीय तह निर्वाचनमा म्याग्दीमा दलित समुदायको प्रतिनिधित्व समेत नगन्य छ । धवलागिरि गाउँपालिका–२ को वडा अध्यक्षमा एमालेबाट उम्मेदवार बन्नुभएका अकप्रसाद विक निर्वाचित हुनुभएको छ । मंगला गाउँपालिकाको अध्यक्षमा माओवादीबाट उम्मेवादर बन्नुभएका टेक विक र रघुगंगामा माओवादीबाटै अध्यक्षमा उम्मेदवार बन्नुभएका मीना विश्वकर्मा पराजित भएपछि जिल्लाका ४५ वडा तहमा दलित महिला कोटा र दुई ठाउँमा खुला वडा सदस्यमा मात्रै दलित समुदायको प्रतिनिधित्व सिमित भएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l