स्थानीय तह निर्वाचन : ‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन नै उपहार’

  • २२ बैशाख २०७९, बिहीबार
  • 784 पटक पढिएको

बेनी, २२ वैशाख । ३० गतेको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरु जनताको घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनाबी गीतमा तामझाम सहित उम्मेदवाहरु गाउँ–गाउँमा पुग्न थालेका छन् । पार्टी र चुनाब चिन्हका झण्डा र व्यानरहरुले रंगाएका गाडी र सवारी साधनबाट चर्का स्वरमा भोट माग्दै राजनीतिक दल र उम्मेदवारहरु शहरदेखि गाउँघरसम्म पुग्न थालेका छन् ।


६ वटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धवलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्रबाट र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । वडा अध्यक्षमा झकबहादुर छन्त्याल निर्विरोध हुनुभएको हो । जिल्लामा सत्ता गठबन्धनको पूर्ण तालमेल नभएपनि केहि स्थानीय तहमा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । रघुगंगा गाउँपालिका–६ वडामा एमाले र राप्रपाबिच तालमेल भएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा आँशिक तालमेल गरेर चुनाबी मैदानमा उत्रिएका छन भने नेकपा (एकिकृत समाजवादी)ले चुनाबी तालमेल नभएपछि जिल्लाभरमा तीन पद बाहेक अन्य पदमा गरेको मनोनयन फिर्ता गरेका छन् ।

तालमेल र एकल उम्मेदवारी दर्तापछि दलहरु र उम्मेदवारहरु चुनाबी मैदानमा उत्रिएका छन् । नजिकको सरकारका प्रतिनिधि चुन्ने अवसर भएकाले पनि जनताहरुमा पनि स्थानीय तह निर्वाचनको रौनकले छोएको छ । एकपछि अर्को दलका उम्मेदवारहरु गाउँ, टोल बस्ती हुँदै घरघरमा पुग्न थालेपछि निर्वाचन उत्सव जस्तै बनेको छ । तर अधिकाँश उम्मेदवादहरुले जनताको जनजिविकामा परिवर्तन ल्याउने ठोस खाका जनतासामु पेश गर्न सकेका छैनन् ।
रघुगंगा गाउँपालिका–६पाखापानीका गौबहादुर विश्वकर्माले नेताहरुले निर्वाचनको समयमा ठुला आश्वासन र सपना मात्रै देखाउने र निर्वाचन जितेपछि पुरा नगर्ने गरेको दुखेसो पोख्नुभयो । ‘‘ हिजोपनि यो गछौँ, यो सुविधा दिन्छाँै भनेर मत मागे, जितेर गएपछि खै हाम्रो लागि काम गरेको ?’’–उहाँले प्रश्न गर्नुभयो । सडक र भवन बनाउने बाहेक जनताको दैनिकीमा आएका समस्यामा स्थानीय सरकारले काम नगरेको उहाँले बताउनुभयो ।

तर दलका उम्मेदवारहरु यस पटक पनि मिठा र रहरलाग्दा एजेण्डा लिएर चुनाबी मैदानमा उत्रिएका छन् । तर उनीहरुसंग ठोस खाका छैन् । कतिपय अघिल्लो निर्वाचनमा बिजयी भएका जनप्रतिनिधिहरु चुनाबी मैदानमा उत्रिरहँदा उक्त कार्यकालमा किन जनताको अवस्था सुधार गर्न सकिएन भन्ने प्रश्नको जवाफ दिन उनीहरुलाई मुस्कील परेको छ । अघिल्लो पाँच बर्ष प्राय सबै जनप्रतिनिधिले डोजर घुमाएर सक्ने योजनालाई प्राथमिकतामा राखेको कारण यस पटक उनीहरुले अघि सारेका एजेण्डामा नागरिकले आशंका व्यक्त गर्ने अवस्था सिर्जना भएको मालिका गाउँपालिका–५ का गेमबहादुर पुनले बताउनुभयो ।

चुनाबी घोषणापत्रमा रोजगार दिने, शिक्षा, स्वास्थ्य र जनजिविकालाई सम्बोधन गर्ने घोषणा गरेपनि चुनाब जितेपछि आफ्ना कार्यकर्तालाई मात्रै केन्द्रमा राखेर बजेट परिचालन गर्ने परिपार्टीले दलका घोषणापत्रमाथि विश्वास गरिहाल्ने अवस्था नरहेको उहाँको भनाई छ । अधिकाँश उम्मेदवारहरुले सडक कालोपत्रे सहित स्तरोन्नती गर्ने, शिक्षाको भौतिक र शैक्षिक गुणस्तर सुधार गर्ने, रोजगार सिर्जना गर्ने घोषणा गरेका छन् । तर उनीहरुले ठोस खाका सहित मत माग्न सकिरहेका छैनन् । अधिकाँशको घोषणापत्र जनताको जनजिविकामा सुधार ल्याउन सम्भव हुने भन्दा पनि मन जितेर मत माग्नतर्फ केन्द्रीत छन् । म्याग्दीमा ६ स्थानीय तहमध्ये चार गाउँपालिकाका अध्यक्ष पुन सोही उम्मेदवार बनेका छन भने १७ वटा वडाका वडा अध्यक्ष पुनः सोही पदमा उम्मेदवार बनेका छन् ।
                                     यस्तो छ प्रतिस्पर्धा :
म्याग्दीमा यस पटकको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सबैभन्दा धेरै चर्चामा बेनी नगरपालिकाको निर्वाचन छ । यहाँ उम्मेदवारी दर्तासम्म एक्लाएक्लै मनोनयन दर्ता गरेका दलहरु मनोनयन फिर्ताको समयमा पुग्दा काँग्रेस र माओवादी केन्द्र तालमेलको अवस्थामा पुगेका छन भने अन्य दलहरु एक्लाएक्लै प्रतिस्पर्धामा छन् । मनोनयन दर्ता सम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका काँग्रेस र माओवादीबिच उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनाबी तालमेल गर्ने सहमती जुटेको हो । पाँच दलित गठबन्धनमा सहमती नभएपनि अन्तीम चरणमा काँग्रेस र माओवादीबिच मेयर उपमेयरमा चुनाबी तालमेलको सहमती भएको थियो । यतिबेला काँग्रेस माओवादी गठबन्धनबाट मेयरमा काँग्रेसका चिरञ्जीवि शर्मा र उपमेयरमा माओवादीका ज्योति लामिछाने पौडेल उम्मेदवार बन्नुभएको छ ।

बेनी नगरपालिकामा काँग्रेस र माओवादीले वडा नम्बर २, ६, ७, ८ र ९ वडामा समेत चुनाबी तालमेल गरेका छन् । गठबन्धनको मुख्य प्रतिस्पर्धामा एमालेका मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपछि शाही हुनुहुन्छ । यहाँ अघिल्लो निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनबाट मेयरमा काँग्रेस र एमाले–राप्रपा तालमेलबाट उपमेयरमा राप्रपाका उम्मेदवार बिजयी भएका थिए । रघुगंगा गाउँपालिकामा पनि यस पटकको निर्वाचन निकै रोचक मोडमा छ । यस अघिको कार्यकालमा समेत गाउँपालिका अध्यक्ष बन्नुभएका भवबहादुर भण्डारी काँग्रेसबाट पुनः अध्यक्ष पदमा उम्मेदवार बन्नुभएको छ । उहाँको मुख्य प्रतिस्पधिको रुपमा एमालेका प्रेमबहादुर कार्की देखिनुभएको छ । यद्यपि माओवादीबाट जिल्लामै एकमात्रै दलित महिला उम्मेदवार रहनुभएकी मीना विश्वकर्मा र स्वतन्त्र उम्मेदवार सागर भण्डारी पनि काँग्रेस र एमालेको लागि चुनौतिको रुपमा देखिनुभएको छ ।

रघुगंगामा उपाध्यक्ष पदमा समेत निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्रबाट युवा नेता रिम कटुवाल, एमालेबाट यामुकमारी गर्वुजा र काँग्रेसबाट प्रेमकुमारी पुन उपाध्यक्षका प्रमुख प्रत्यासीको रुपमा देखिनुभएको छ । अन्नपूर्ण गाउँपालिकामा काँग्रेस र एमालेबिचको प्रतिस्पर्धा कडा हुने देखिएको छ । यहाँ काँग्रेसले अध्यक्षमा बलबहादुर तिलिजा, उपाध्यक्षमा ललिता तिलिजा र एमालेबाट अध्यक्षमा भरतकुमार पुन र उपाध्यक्षमा दिवा कुमारी तिलिजा पुनबिच प्रतिस्र्धा हुँदै छ । अघिल्लो स्थानीय तह निर्वाचनमा काँग्रेसले बिजयी हाँसिल गरेको यस पालिकामा यस पटक एमालेले चर्चित उम्मेदवार उठाएर टक्कर दिन खोजेको छ । मंगला गाउँपालिकामा एमाले, माओवादी र काँग्रेसको त्रिपक्षिय प्रतिपर्धा हुनेछ । यस अघि समेत गाउँपालिका अध्यक्ष भैसक्नुभएका सतप्रसाद रोका पुनः एमालेबाट अध्यक्ष पदको उम्मेदवार बन्नुभएको छ । उहाँको प्रतिस्पर्धामा माओवादीका चर्चित नेता टेकबहादुर विश्वकर्मा र काँग्रेसका विरेन्द्र बुढाथोकी उम्मेदवरा हुनुहुन्छ । यहाँ काँग्रेसका सर्मिला थापा, एमालेका प्रेमकुमारी खत्री र माओवादीबाट सुकमायाँ रोका मगरबिचमा उपाध्यक्ष पदमा मुख्य प्रतिस्पर्धा हुनेछ । मालिका गाउँपालिकाको निर्वाचनले समेत जिल्लाको सबैभन्दा बढी ध्यान केन्द्रीत गर्ने अवस्थामा छ ।

यहाँ यस अघि पनि गाउँपालिका अध्यक्ष रहनुभएका श्रीप्रसाद रोका काँग्रेसबाट पुनः अध्यक्षको प्रतिस्पर्धामा हुनुहुन्छ । माओवादीबाट जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) र एमालेबाट यस अघिको निर्वाचनमा समेत झिनो मतले पराजित हुनुभएका बेगप्रसाद गर्वुजाबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उपाध्यक्षमा माओवादीबाट गौरी सेन्चुरी, एमालेबाट लक्ष्मीदेवी घर्ति मगर र काँग्रेसबाट पिपला बुढाबिच मुख्य प्रतिस्पर्धा हुनेछ । धवलागिरि गाउँपालिकामा वडा तहसम्मै गठबन्धन गरेका काँग्रेस र माओवादीसंग एमालेको मुख्य प्रतिस्पर्धा हुनेछ । यस अघि एमालेबाट निर्वाचित हुनुभएका थमसरा पुन पुनः अध्यक्ष पदमा उठ्नुभएको छ भने एमालेबाट उपाध्यक्षमा प्रगति कार्की उम्मेदवार बन्नुभएकोे छ । उहाँहरुले गठबन्धनबाट अध्यक्षका प्रत्यासी काँग्रेसका प्रेम प्रसाद पुन र उपाध्यक्षका उम्मेदवार रेशम पुन मगर संग प्रतिस्पर्धा गर्नुहुने भएको छ ।