रघुगंगामा मुलधारका राजनीतिक दलका उम्मेदवारलाई ‘स्वतन्त्र उम्मेदवार नै चुनौती’

  • २१ बैशाख २०७९, बुधबार
  • 1275 पटक पढिएको

म्याग्दी २१ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ का २५ बर्षका युवा सागर भण्डारीले तीन बर्ष अघि नै घोषणा गरेर वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । रघुगंगामा यस अघि काँग्रेसबाट गाउँपालिकामा निर्वाचित अध्यक्ष भव बहादुर भण्डारी सहित नेकपा एमालेबाट प्रेमबहादुर कार्की बिखर्ची, माओवादी केन्द्रबाट मिना विक र मंगोल नेशनल अर्गनाइजेशनबाट तुलप्रसाद थापा समेत गाउँपालिका अध्यक्षका उम्मेदवार छन् । तर दलका उम्मेदवारहरुको प्रमुख प्रतिस्पर्धीको रुपमा स्वतन्त्र उम्मेदवार भण्डारी मैदानमा देखिएका छन् ।

अधिकाँश दलहरुले मनोनयन दर्ताको अघिल्लो दिन मात्रै गाउँपालिका अध्यक्ष पदको उम्मेदवार टुंगो लगाएपनि भण्डारीले भने स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्षमा उठ्ने तीन बर्ष अघि नै घोषणा गरेका थिए । ‘‘समद्ध रघुगंगा गाउँपालिका’’का निमित्त भण्डारीले यो तीन बर्षको अवधिमा सबै वडा वस्तीमा पुगेर बस्तुअवस्था बुझ्ने अध्ययन गरी रघुगंगा गाउँपालिका ‘‘समृद्धिका निम्ती खोज’’अनुसन्धान पत्र नै तयार गरेका छन् । गत माघ महिनामै उक्त पत्रलाई पुस्तकका रुपमा प्रकाशन गरेका भण्डारीले पालिकाको सबै वडाका घरधुरी र विद्यालयहरुमा उक्त पुस्तक वितरण गरिसकेका छन् ।


भण्डारी संगै स्वतन्त्रबाटै उनको समूहबाट अनुरोध रिजालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । दुबै जनाले निर्वाचनको मनोनयन दर्ता अघि देखि नै गाउँपालिकाको विकास र समृद्धिका लागि आफूहरुको योजना र कामलाई डिजिटल प्लेटर्फम (अनलाइन, फेसबुक, युटुब, टिकटक )बाट सार्वजनिक गरिरहेका छन् । उनीहरु पलिकाका दुरदराज सम्म पुगेर जनताका गुनासा र समस्याहरुको समेत पहिचान गरि अभिलेखीकरण नै गरेर आफ्ना चुनाबी घोषणापत्र बनाएका छन् ।


सभा, समारोह र साउण्ड सिस्टम बजाएर गरिने प्रचार प्रसारलाई निरुत्साहित गर्दै भण्डारी यतिबेला घरदैलो र सामाजिक सञ्जालको माध्ययमबाट आफुलाई मतदान गर्न अपिल गरिरहेका छन् । दलिय प्रचार प्रसारको खर्चिलो र भड्किलो चुनाबी संस्कारमा भण्डारीले मितव्ययिताबाट समेत चुनाब लड्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।
भण्डारीले आफ्नो चुनाबी घोषणा पत्रमा गाउँपालिकाबाट अध्ययनकै लागि शहर पसेका करिब १ हजार बालबालिकाहरुमध्ये आधाबढीलाई गाउँमै फर्किएर अध्ययन गर्ने अवस्था सिर्जना गर्ने गरि शैक्षिक सुधारको योजना अघि सारेका छन् ।

उनले सामुदायिक विद्यालयमा ३ कक्षासम्म मन्टेश्वरी विधि, ४ देखि १० सम्म कम्प्युटर र प्रयोगात्मक शिक्षालाई अनिवार्य गर्ने र अंग्रेजी तथा नेपाली दुबै माध्ययमबाट शिक्षण सिकाई गर्ने योजनालाई अघि सारेका छन् । गाउँपालिकाभित्र नै प्राविधिक शिक्षालाई विस्तार र स्नातक तहसम्मको क्याम्पस सञ्चालन गर्ने र दुर्गम बस्तीका बालबालिकाहरुलाई आवासीय विद्यालय सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

गाउँपालिकामा सुशासन कायम गर्नका लागि सबै आयोजना तथा कार्यक्रमको आम्दानी खर्च र विवरण अनियार्य रुपमा वेवसाईट मार्फत सार्वजनिक गर्ने, दिर्घ रोगको पहिचानका लागि सबै नागरिकको कम्तीमा बर्षमा एक पटक पूर्ण स्वास्थ्य परिक्षण गर्ने र उनीहरुको स्वास्थ्य अवस्थाको रिपोर्टलाई डिजिटल व्यवस्थापन गर्ने लगायतका जनमुखी योजनालाई घोषणापत्रमा समेटेका छन् । उनले गाउँपािलकाभित्रका कृषकहरुले उत्पादन गरेका उपजहरुको पालिकाले खरिद गर्ने र सबै कृषकलाई सहकारी मार्फत एउटै छातामुनी गोलबद्ध गर्ने घोषणा समेत गरेका छन् । उनले ग्रामिण सडकलाई ढलान गर्ने, सबै घरमा निशुल्क रुपमा वाईफाई इन्टरनेट पु¥याउने महत्वकाँक्षी योजना समेत समावेश गरेका छन् ।

भण्डारीको उम्मेदवारीलाई देश विदेशमा रहेका रघुगंगाबासीका युवा पूस्ताले प्रोत्साहन गरेका छन । उनले यस बिचमा गाउँपालिकाबाट सम्पादन भएर आम नागरिकलाई संका लागेका कार्यक्रम तथा योजनाहरुको आम्दानी तथा खर्च र विवरणहरु समेत सूचनाको हकको प्रयोग गरि सार्वजनिक गर्दै आएका छन् । तीन बर्षको अवधिमा गाउँपालिकामा लिखित रुपमा १५ वटा सूचनाको विवरण माग गरेर सार्वजनिक गरेका छन् । ‘मुलुकको मूलधारको राजनीतिप्रतिको वितिष्णाले जन्माएको एक विद्रोह’ को रुपमा भण्डारीको उम्मेदवारीलाई लिन सकिन्छ । विकास र विकृति नियन्त्रणका लागि उनी राजनीतिमा युवाहरुलाई स्पेस ( ठाउँ) र अवसर दिनुपर्छ भन्ने मान्यता राख्छन् ।

२०७४ मा स्थानीय तह कार्यान्वयनमा आउँदा स्नातक तहको अध्ययन गर्दै गरेका भण्डारीले गाउँपालिकाभित्रका विद्यार्थीहरु संगठीत गर्ने, पालिकामा स्थानीय स्रोत र साधनको उपयोग गरि अनुसंधानलाई अघि बढाउने लक्ष्यका साथ २०७६ मा भगवतीका युवा विद्यार्थी सागर खत्रीको नेतृत्वमा रहने गरि ‘रघुगंगा विद्यार्थी मञ्च’ गठन गरेका थिए ।
अध्ययन गर्दै गरेका जागरुक रघुगंगाका विद्यार्थीहरुलाई अघि बढाउँदै उनले स्थानीय तहमा गाउँपालिकाको सबै विद्यालयमा शैक्षिक सुधार र आधुनिक शिक्षा प्रविधिको प्रयोगलाई कार्यान्वयनमा ल्याउने’ महत्वकाँक्षी योजना अघि सारे । गाउँपालिकाभित्रका हरेक वडाका विद्यार्थीहरु मार्फत आफ्ना वडा र पालिकाका जनप्रतिनिधिलाई यसबारेमा निरन्तर घचघचाउने काम गरे ।

तर सामुदायिक विद्यालयको गुणस्तर सुधारको महत्वपूर्ण आधार सहितको उनीहरुको प्रस्ताबलाई जनप्रतिनिधले सिधै अस्विकार नगरेपनि पाँच बर्षको अवधिमा कँहिकतै सुनुवाई गर्ने हिम्मत गर्न सकेनन् । ‘‘हो हामीले समग्र गाउँपालिकाको विकासको सहयात्री बन्न चाहन्थ्यौ, हामीले देखेका सपना जनप्रतिनिधिलाई सुनायौँ पनि, पटक पटक सपना देख्न दबाब पनि दियौँ तर हाम्रो सपनाहरुमा मजाक नहोस भनेर सपना पुरा गर्न विद्रोह गरेका हौँ’’–भण्डारी भन्छन् । अहिलेको मूलधारको राजनीतिको बागडोर सम्हालेका नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरुका नेताहरुबाट गाउँपालिकाको विकास र समृद्धिको वास्तविक खाका कोर्न र लागु गर्ने तत्परता नदेखिएपछि आफै राजनीतिमा होमिएको भण्डारीको भनाई छ ।