पर्यटकको रोजाईमा रहेको दुरुलेक

पर्यटन पुर्वाधारको अभाव

  • ५ बैशाख २०७९, सोमबार
  • धिरन खत्री
  • 1483 पटक पढिएको

म्याग्दी, ५ बैशाख । नयाँ बर्ष सुरुसंगै म्याग्दीको मालिका गाउँपालिका– २ रुमस्थित पर्यटकियस्थल दुरुलेकमा आन्तरिक पर्यटकको भिड हुने गर्छ । समुन्द्री सतहदेखि ३ हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङखला र ग्रामिण भुगोलको अवलोकनका लागि नयाँ बर्षमा म्याग्दी र बागलुङका पर्यटक पुग्ने गर्छन् ।


प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा दुरुलेक महत्वपुर्ण रहेको छ । तर, प्रचार–प्रसार र पुर्वाधारको अभावले यसको फाईदा ग्रामिणबस्तीका जनताको आयस्रोतको माध्यम बन्न सकेको छैन् । म्याग्दीको मालिकाको २ रुम र बागलुङको ताराखोला गाउँपालिका– ५ सिपको सिमानामा अवस्थित दुरुलेकमा लालीगुरासँको घनाजंगल, दर्जनौ हिमालको दृष्य र म्याग्दी र बागलुङ लगायत जिल्लाको ग्रामिण बस्ती डाडाँकाडासंग रमाउन नयाँ बर्षमा पर्यटक आउने गरेको मालिका गाउँपालिका वडानम्वर २ का वडाअध्यक्ष नरबहादुर पुनले बताए । ‘धौलागिरी, अन्नपुर्ण, निलगिरी लगायतका हिमालहरु एउटै रेञ्जमा नजिकबाट देख्न पाईन्छ ।’


म्याग्दीसंगै बागलुङको ढोरपाटन नगरपालिका, तमानखोला, बडिगाडँ र तमानखोला गाउँपालिकाबाट दूरुलेकको भण्डी डिलमा पर्यटक आउछन् । दूरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले पर्यटकलाई सहज भएको छ । दुरुलेकबाट देखिने हिमालहरु, विभिन्न प्रजातीका लालीगुरासँ र मठमन्दिर र परम्परागत गोठहरु अवलोकन गर्न आएको आन्तरिक पर्यटक नविन विकले बताए । पर्यटकका लागि मठ्ठा चढाउने भिरले पनि थप आकर्षण गरेको छ । ‘पृष्ठभूमिमा हिमाल आउने गरी पुगेका पर्यटकले पदमार्ग, झण्डी डिलमा फोटो खिच्ने, टिकटक बनाउने र संगितको तालमा नाचगान गरेर थप रमाईलो गर्छन् ।’


चैत बैशाख महिनामा दूरुलेकस्थित घनाजंगलमा लालीगुराँस फूल्ने र बन्यजन्तुसंगै रमाउन, फोटो र भिडियो बनाउन विशेष गरी युवायुवती बढी आउने गरेको वडानम्वर २ जैमका चोकन पुन मगरले बताए । ‘गुराँसे जंगलले राताम्मे वन र मनोरम हिमशृङखलाले पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।’ पुर्खाहरुले गाईभैसी, भेडाबाख्रा लगायतको गोठहरु यस क्षेत्रमा राख्ने परम्परगत चलन रहेको थियो । लगभग ४ देखि ६ घण्टाको समयमा पुग्न सकिने दुरुलेकमा पर्यटक लामो बसाई गराउनका लागि सुविधासम्पन्न होटल र खाजाघर र आरामस्थल बन्न नसक्दा विहान आउने र बेलुका जानेको गरेको स्थानीयबासी पुनले भने ।


ताराखोला गाउँपालिकाका ५ सिपका तिलप्रसाद आचार्यले डडेलेख शिवालय मन्दिर र खानेपानी सुविधा निर्माण गरेपछि छोरा जन्मिएको जनविश्वास रहेको छ । दुरुलेकमा भाकल गरेर जन्मिएका तिलप्रसाद आचार्यका छोरा नविन आचार्य पर्यटक आएको समयमा शिवालय मन्दिरमा पुजारी बनेर सेवा दिदै आएका छन् । लाहुरे र स्वदेश तथा विदेशमा सोचेको रोजगारी र ब्यवसाय लगायतको आकाँक्षाहरु पुरा हुने विश्वास लिएर युवायुवती शिवलालय मन्दिरमा पुजा गर्न आउने चलन गर्छन ।


गाउँपालिकाको सिफारिस र गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट पदमार्ग र थप १० लाख बजेटबाट घर निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले बताईन । यस क्षेत्रको पर्यटकको बसाई लम्वाउन पर्यटन पुर्वाधार निर्माणमा मालिका गाउँपालिकाले अग्रसरता देखाउन पर्छ । घाङ्लेपानीबाट दुरुलेकसम्म पदमार्ग बनाउन सके पर्यटकलाई थप सहज हुने देखिन्छ ।


सदरमुकामदेखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम हुदै घाङ्लेपानीसम्म सवारीसाधनबाट पुग्न सकिन्छ । भने,घाङ्लेपानीबाट करिव ५ घण्टामा लालीगुरासको घनाजंगल हुदैँ गाईभैसी र भेडाबाख्राका गोठहरु, बन्यजन्तुको अवलोकन र आवाज सुन्दै पदयात्रामार्फत दुरुलेक पुगिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l