बेनी अस्पतालमा सिमुलेसन स्किल ल्याबको लागि सामाग्री सहयोग
- ४ बैशाख २०७९, आईतवार
- 685 पटक पढिएको
म्याग्दी ४ वैशाख । म्याग्दीमा स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको वान हार्ट वल्र्डवाईड, म्याग्दीले बेनी अस्पतालमा सिमिलेसन स्किल ल्याब स्थापना गर्न सामाग्री सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरुलाई ज्ञान, शिप र क्षमता अभिबृद्धि गर्न काम गर्नु अघि स्व–अभ्यासका लागि उक्त ल्याब स्थापना गरिएको हो ।
बेनी अस्पतालमा रहेको स्किल ल्याबको लागि आबश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएपछि अस्पतालका स्वास्थ्यकर्मी र संस्थाका प्रतिनिधिहरुले आइतवार नै स्किल ल्याबको व्यवस्थापन समेत गरेका छन् । खासगरि मातृ तथा नवजात शिशुको स्याहार सम्बन्धी स्वास्थ्यकर्मीहरुले लिने तालिमका लागि आबश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गरिएको वान हार्ट वल्र्डवाईड म्याग्दीका ट्रेनिङ फिल्ड सुपरभाइजर सृजना गौतमले जानकारी दिनुभयो ।
आइतवार अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेललाई संस्थाका ट्रेनिङ फिल्ड सुपरभाइजर गौतमले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो । उक्त संस्थाले स्वास्थ्यकर्मीहरुलाई मातृ तथा नवजात शिशुको स्याहार सम्बन्धी तालिम समेत दिने गरेको छ । यस अघि उक्त सामाग्री वान हार्ट वल्र्डवाईड म्याग्दीले मालिका गाउँपालिकाको केन्द्र दरबाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत उपलब्ध गराएको थियो ।
यस संस्थाले जिल्लाको विभिन्न स्थामा रहेका बर्थिङ सेन्टरहरुमा गुणस्तर सुधारमा समेत स्वास्थ्य सामाग्रीहरु समेत सहयोग गर्दै आएको छ । यस संस्था र बेनी नगरपालिकाको साझेदारीमा बेनी नगरपालिका–३ भकिम्लीमा बर्थिङ सेन्टरको भवन समेत निर्माण सुरु भएको छ ।
Best work