शीताेष्ण बागबानीले दियो उन्नत फलफूल खेती विषयक पाँच दिने तालिम

  • २५ चैत्र २०७८, शुक्रबार
  • 1039 पटक पढिएको

सुशीलबाबू थकाली

मुस्ताङ, चैत २५  । मुस्ताङको एक मात्र बागबानी केन्द्र, शीताेष्ण  बागबानी बिकास केन्द्रले उन्नत फलफूल र यसको उत्पादन सम्बन्धि पाँच दिने तालिम प्रदान गरेको छ । गत बीस गतेदेखि शुरू भएको उक्त तालिम बिहीवार सम्पन्न भएको थियो । तालिममा बागबानी बिकास केन्द्र र जिल्ला भित्र उत्पादन हुने हरेक फलफूलको प्राबिधिक रुपले कसरी उत्पादन गर्ने साथै संरक्षण र बजार व्यवस्थापनमा प्रभावकारी र दिगो कसरी बनाउने भन्ने विषय प्रमुख रहेको थियो ।

केन्द्रले फलफूलहरुलाई स्थापनाकालदेखि हालसम्मनै उत्पादन र बजार व्यवस्थापनमा जोड दिदै आएको छ । अहिले केन्द्रभित्र मात्रै चार दर्जन जति स्याउका प्रजाती रहेको पाइन्छ भने आलुबखडा, खुर्पानी, चिली, नास्पाती, ओखर, कटुस, कागजिबदाम, आरु, अङ्गुर केन्द्रको महत्त्वपूर्ण फलफूलहरु हुन् ।

यसोत केही बर्ष यता मौसम परिवर्तनको कारण यिनै फलफूलमा बिभिन्न किसिनका रोगहरु देखा परेको हुनाले यसको व्यवस्थापनमा सकारात्मक प्रभाव पार्नको लागि उक्त तालिमको आयोजना गरेको केन्द्रले जनाएको छ । हुनत केन्द्रले प्रत्येक बर्ष स्याउ लगायत अन्य फलफूलका रुख तथा बिरुवाहरुलाइ मलजल र काटछाट गर्ने गरेको भएपनि आवस्यकता अनुसार बिषादी समेत प्रयोग गरेर समयको मागलाई पुर्ती गर्ने गरेको केन्द्रको ठम्याइ छ ।

तालिममा भाग लिएर प्राबिधिक रुपमै आफैलाइ दक्ष बनाउन सहभागी प्रशिक्षार्थीहरु म्याग्दी र मुस्ताङबाट सहभागी भएका थिए । उनीहरूले स्याउको काटछाट, मलजल, माटो व्यवस्थापन (स्वायल टेष्ट) लगायत अन्य धेरै महत्त्वपूर्ण बिषयमा तालिम प्राप्त गरेको समेत केन्द्रको जिकिर रहेको छ । यसैगरी केन्द्र प्रमुख पद्मनाथ आत्रेयका अनुसार तालिममा सिकेका कुराहरुलाई स्थानीय निकायसँग समन्वय गरेर अन्ततः उनीहरूलाई नै हस्तान्तरण गर्नु रहेको बताए ।

बिशेष गरेर यो स्थानीय निकायलाई नै दिएको तालिम रहेको उनले बताए । उनका अनुसार मुस्ताङ जिल्लाको पाँच ओटा गाउँ पालिका र म्याग्दी जिल्लाको चार ओटा गाउँ पालिकाबाट समेत प्रशिक्षार्थीहरु तालिममा सहभागी भएको केन्द्र प्रमुख आत्रेयले बताए, उनले भने- तालिमको मुख्य उद्देश्य भनेको संघीयताको मर्म अनुरुपनै संघ, प्रदेश र स्थानीय निकायसँगको सम्बन्ध राम्रो होस् भन्नू हो । उनका अनुसार केन्द्रले स्थानीय निकायमा भएका कृषि प्राबिधिकहरुलाइ आधुनिक कृषि प्रणालीअनुसार तालिम प्रदान गर्नु रहेको बताए ।

यसले गर्दा स्थानीय स्तरमा रहेका तमाम कृषकहरुलाइ सहज वातावरण सिर्जना होस् भन्नू नै हो । साथै यो तालिम खासगरी सैद्धान्तिक र व्यवहारीक कुराहरू जोडिएको हुनाले स्याउको काटछाट, रोग नियन्त्रण, किरा नियन्त्रण, बगैचा व्यवस्थापन र माटो व्यवस्थापनमा बढी केन्द्रित भएको केन्द्र प्रमुख आत्रेयले बताए । यसले गर्दा स्थानीय स्तरमा सहज वातावरणमा हुने उनको ठम्याइ छ । खासगरी यो पाँच दिनको तालिममा समुन्द्री सतहदेखी २ हजार मिटर उचाइमा उत्पादन हुने स्याउ लगायत जति पनि फलफूलहरु रहेका छन्, त्यसको बिषयमा केन्द्रित रहेको समेत केन्द्र प्रमुख आत्रेयले बताए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुले पाँच दिनको तालिम प्रयाप्त नभएपनी यसले दैनिक जीवनमा ठूलो मद्धत गर्ने बताएका छन् । फलफूलको व्यवस्थापन सम्बन्धि तालिमले आफ्नो दैनिक जीवन सँगसँगै स्थानीय निकायमा समेत समन्वयकारी भूमिका निर्वाह गर्ने सहभागी प्रशिक्षार्थीहरुले बताएका छन् । सहभागी प्रशिक्षार्थी जगत बनियाले मुस्ताङ र म्याग्दीका प्राबिधिकहरुलाइ भेटघाट र परिचयात्म कार्यक्रम मात्र नभै तालिममा सहभागी गराएर केन्द्रले सकारात्मक भूमिका खेलेको बताए ।

उनका अनुसार पाँच दिनको तालिमले बगैंचा व्यवस्थापन, बगैंचाको रेखांकन, स्याउको मलजल र काटछाट साथै उत्पादित फलफूललाई प्रशोधन र बिक्रीवितरणको बारेमा व्यवहारीक र सैद्धान्तिक दुबै कुराको बारे पुर्ण रुपमा जानकारी भएको बताए, बानियाँले भने- हामी यहाँबाट फर्केर गैसकेपछी पनि म्याग्दी जिल्लाका उपल्लो भेगहरुमा जहाँ स्याउ, ओखर लगायतका फलफुलहरु उत्पादन हुन सक्छ त्यस्ता ठाउँका कृषकहरुलाइ व्यवहारमा लागू गर्नेछौं ।

साथै निर्वाहमुखी खेती प्रणालीलाई बिस्तारै व्यवसायीमुखीतर्फ उन्मुख गराउने बानियाँले बताए । यसैगरी तालिम संयोजक भिमसेन भण्डारीले पाँच दिनको तालिमले प्रशिक्षार्थीहरुको जीवनमा ठूलो योगदान पुग्न नसकेपनी भाबी दिनहरुमा अझ थप परिस्कृत हुने बताए । पाँच दिनको तालिम सकिएको भएपनी बल्ल आजबाट मुख्य तालिम सुरुवात भएको बुझ्नुपर्ने भण्डारीले प्रशिक्षार्थीहरुलाइ सुझाएका थिए ।