दश वर्षमा साढे पाँच किमी सडक विस्तार हुँदै दिच्याममा पुग्यो सडक

  • १३ असार २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 1755 पटक पढिएको

म्याग्दी, १३ असार । म्याग्दीको मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारदेखि दिच्याम जोड्ने सडकको ट्र्याक निर्माण कार्य १० वर्षपछि बल्ल पूरा भएको छ । विसं २०६४ देखि सुरु भएको दरवाङ–दिच्याम सडकको पाँच किलोमिटर ५०० मिटर सडकको ट्र्याक खोल्ने कार्य यसै हप्ता पुरा भएको हो । जिल्ला समन्वय समिति, साविक गाविस कार्यालय र स्थानीय बासिन्दाको रु ७० लाखको लगानीमा सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष खिम रोकाले बताउनुभयो ।

उहाँका अनुसार भिरालो जमिन र चट्टानी पहाडमा सडक निर्माणका लागि पर्याप्त बजेट नहुँदा श्रम, सयम र खर्च भएको हो । जिल्ला समन्वय समितिको रु २७ लाख, साविक दरवाङ गाविस कार्यालयको रु १२ लाख लगानी भएको सडकमा स्थानीय बासिन्दाले रु ३१ लाख खर्च गरेका थिए । सडक निर्माणका लागि बेनीको बुद्ध बहुउद्देश्यीय सहकारी संस्थाबाट स्थानीय ओमबहादुर रोका, दिलमती रोका, धनबहादुर रोका र दलबहादुर जुक्जालीको जग्गा धितो राखेर लिएको रु २९ लाख ५० हजार ऋण तिर्न बाँकी छ ।

“विसं २०६४ मा रु २२ लाख ऋण लिएकामा २०७२ सालमा ब्याजसहित रु ४२ लाख पुगेको थियो”, सडक निर्माण समितिका पूर्व सचिव कर्णबहादुर रोकाले भन्नुभयो, “चन्दा उठाएर रु १३ लाख ऋण तिरेका छौँ, अझै रु २९ लाख तिर्न बाँकी छ ।” सो सडकबाट साविक दरवाङ गाविसको ७, ८ र ९ नं वडामा पर्ने दिच्याम, गोगनपानी, पात्लेखेतका २०० घरधुरी लाभान्वित भएका छन् । उकालो बाटोमा दुई घन्टाको पैदल यात्रा गर्नुपर्नेमा मोटरबाटो बनेपछि अहिले ३० मिनेटमा छोटिएको छ ।

खच्चर र भरियालाई महँगो शुल्क तिरेर सामान ढुवानी गर्नुपर्ने समस्या पनि टरेको छ । गाउँमा उत्पादन भएको तरकारी, फलफूल, आलुलगायत कृषि उपज निकासी तथा आवतजावतमा सहज भएको छ । ट्र्याक मात्र खोलिएको सडकमा नियमित सवारी सञ्चालनका लागि स्तरवृद्धि र मर्मत गर्नुपर्ने हालै सो सडकको अनुगमनमा जानुभएका सांसद नवराज शर्माले बताउनुभयो ।

सन्तोष गौतम