बुद्धीविकास माविमा एक करोड बढी लगानीमा कक्षाकोठा भवन निर्माण

  • १२ असार २०७४, सोमबार
  • कमल खत्री
  • 4164 पटक पढिएको

म्याग्दी, १२ असार । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा एक करोड बढी लागतमा सुविधासम्पन्न ६ कोठे भवन निर्माण भएको छ । गोर्खा वेयलफेयर स्किमको आर्थिक सहयोगमा रु एक करोड २ लाख ७१ हजार ५१९ लगानीमा भवन निर्माण भएको हो । भवन निर्माणमा गोर्खा वेयलफेयर स्किमको रु ९१ लाख ५२ हजार ५ सय २१ र समुदायको रु ११ लाख १८ हजार ९९८ बराबरको जनश्रमदान लगानी भएको विद्यालयका शिक्षक लोकराज रोकाले जानकारी दिनुभयो ।

६ कोठे भवन निर्माण भएपछि विद्यार्थीहरुलाई खुलाचौर र त्रिपालमुनी राखेर पढाउनुपर्ने बाध्यता अन्त्य भएको शिक्षक रोकाले बताउनुभयो । दुर्गम बस्तीमा पक्कि भवन निर्माण भएपछि विद्यार्थीहरुलाई अध्ययनमा सहजता मिलेको छ । सो भवन निर्माण संगै ९१ मिटर विद्यालय परिसरको खुला क्षेत्रलाई घेरावार समेत गरिएको छ । त्यस्तै सोही योजना अन्र्तगत नै विद्यालयलाई २५ थान बेन्च, ६ थान ह्वाइट वोर्ड र एउटा फोहोर जलाउने ठाउँ समेत निर्माण गरिएको विद्यालयका प्रअ जगबहादुर किसानले जानकारी दिनुभयो ।

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल करिब ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् । यसैबिच हालै एक कार्यक्रमका विच सो नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । गोर्खा वेयलफेयरको यरिया अफिसर म्याग्दीका खेमबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स बहादुर घर्तिलाई भवनको साँचो हस्तान्तरण गर्दै भवनको उपयोग र व्यवस्थापन गर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय आमा समुह, युवा क्लब र विद्यालयको तर्फबाट सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l