म्याग्दीमा डढेलोको जोखिम बढ्यो : ‘मानवीय असावधानी प्रमुख कारण’

  • ३ चैत्र २०७८, बिहीबार
  • कमल खत्री
  • 1305 पटक पढिएको

बेनी, ३ चैत । म्याग्दीमा मानवीय लापरवाहको कारण वन डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदको सुख्खायाममा घाँस पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको हो । वन जंगलमा हुने आगलागीका घटनाले वनजंगल संगै, बन्यजन्तु, जडीबुटी र पर्यावरणमा ठुलो विनाश निम्त्याउने गरेको छ ।  डढेलोको क्षति यतिमा मात्रै सिमित छैन, जनधनको समेत क्षति हुने जोखिम बढदै गएको छ । फागुन २४ गते मालिका गाउँपालिका–५ देविस्थानको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भयो । भिरखर्क सामुदायीक वनमा लागेको आगो निभाउने क्रममा जलेर करिब २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको थियो भने उनका भाई मनबहादुर शक्त घाईते भएका छन् । अस्पतालमा उपचाररत मनबहादुरको अहिले चन्दा संकलन गरि उपचार भैरहेको छ ।


जंगलमा लागेको आगो बस्तिमा आउन थालेपछि आगो निभाउने क्रममा उक्त घटना भएको थियो । अहिले जिल्लाको दर्जनबढी स्थानमा डढेलो लागिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले मानवीय लापरबाहीको कारण डढेलोको घटना बढ्दै गएको र पूर्वतयारी नहुने, स्रोत साधनको अभाब लगायतका कारणले यसले हरेक बर्ष भौतिक र मानविय क्षति निम्त्याउन थालेको बताउनुभयो ।  ‘‘ आफ्नो क्षेत्र मात्रै सुरक्षित छ भनेर बस्न मिल्ने अवस्था होइन, एक क्षेत्रमा लागेको डढेलो अर्को ठाउँमा पनि फैलन सक्छ, वनमा लागेको आगो निभाउने आधारभुत सचेतना समेत फैलाउन जरुरी छ, त्यसमा सुरक्षा निकाय र डिभिजन वन कार्यालय संगै वन उपभोक्ता समूह र स्थानीय तहहरुले समेत सत्परता देखाउनुपर्छ’’–उहाँले भन्नुभयो ।  आगलागी नियन्त्रणका लागि संयन्त्रहरु नबन्दा सयौँ मानिसहरु रमिते बन्ने गरेको उल्लेख गर्दै उहाँले सानो कमजोरी र सामान्य सावधानी अपनाउन नसक्दा ठुलो क्षति व्यहोर्नुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुहुन्छ । नेपालमा अधिकाँश आगलागी मानवीय कमजोरीको कारण सिर्जित हुने गरेको छ । बर्षेनी करिब १ लाख हेक्टर वन क्षेत्रमा डढेलोको असर पुग्ने र त्यसले वनस्पति, वन पैदावार, वन्यजन्तु, जैविक विविधता संगै जनधनमा समेत क्षति पु¥याउने गरेको छ ।


प्राकृतिक र आकस्मीक रुपमा समेत वन जंगलमा आगलागी हुने भएपनि नेपालमा ८० प्रतिशत वन डढेलो मानव सिर्जित हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । सुख्खा यामको सुरुवातमै आगलागीले वन जंगलहरु उजाड र पहाडका पाखाहरु डढेलोको कारण कालो र नांगो देखिन थालेका छन् । डढेलो हरेक सुख्खायामको एउटा ठुलो समस्या हो ।  डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले वन डढेलोको घटना बढ्दो क्रममा रहेकाले समुदाय स्तरमा वन डढेलोले निम्त्याउने असर र जोखिमबारे सचेतना संगै जथाभावि आगलागी गराएर डढेलो लगाउने व्यक्तिहरुलाई कानुनी कारबाही हुने बारेमा समुदाय स्तरमा सन्देश फैलाउन आबश्यक रहेको बताउनुभयो । म्याग्दीका अधिकाँश वन क्षेत्र भिरालो जमिनमा रहेको, धेरैजसोमा पानीको सहज उपलब्धता नभएको कारण आगलागीका घटनाले ठुलो क्षति निम्त्याउने गरेको उहाँले बतानुभयो । उहाँका अनुसार, गत बर्ष १ जना र यो बर्षको फागुन अन्तिम साता एक जनाले डढेलोको कारण ज्यान गुमाएका छन् । गत बर्ष जिल्लामा १ हजार १ सय १७ हेक्टर बढी वन क्षेत्र डढेलोले सखाप पारेको थियो ।
उक्त बर्षमा वेनी नगरपालिकाको ६, मंगला गाउँपालिकाको १०, मालिका गाउँपालिकाको ७, रघुगंगा गाउँपालिकाको १०, अन्नपूर्ण गाउँपालिकाको ७ र धवलागिरि गाउँपालिकाको ६ स्थानका वन क्षेत्रमा डढेलो लागेको थियो । जिल्लामा डढेलो नियन्त्रण र रोकथामका लागि डिभिजन वन कार्यालयले सञ्चार माध्ययम मार्फत सूचना प्रकाशन÷प्रशारण संगै विभिन्न विद्यालयमा विद्यालय शिक्षा र वन उपभोक्ता समूह स्तरमा डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।  विद्यार्थी हुँदै समुदायमा सचेतना फैलाउने उदेश्यले यो बर्ष विभिन्न १२ वटा विद्यालयमा डढेलो नियन्त्रण सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यालयले वन्यजन्तुलाई खानेपानीको प्रवन्ध मिलाउन र डढेलो लागेको समयमा आगो नियन्त्रणको लागि समेत प्रयोग गर्न सघाउने प्रयोजनका लागि यस बर्ष विभिन्न १० वटा सामुदायिक वनमा पोखरी समेत निर्माण गर्न थालेको जनाइएको छ ।
त्यसैगरि समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्नीरेखा निर्माण लगायतमा सहजीकरण, सुरक्षा निकायलाई आबश्यक पर्ने डढेलो नियन्त्रणका सामाग्री सहयोग, पूर्वतयारी संगै डढेलो लागेमा सुरक्षा निकाय, वन उपभोक्ता समुह, स्थानीय तह र सरोकारवालासंग समन्वय संगै जनशक्ति परिचालनमा समेत अगुवाई गरिँदै आईएको डिभिजन वन अधिकृत रानाभाटले जानकारी दिनुभयो । नेपालमा पछिल्लो ५ बर्षमा गत बर्ष सबैभन्दा धेरै डढेलो लागेको थियो ।  गत बर्ष सन २०२१ मार्च २६ का दिन देशका ५४ जिल्लाको ४३७ स्थानमा एकै पटक डढेलो लागेको थियो । डढेलो लगाउनेलाई जरिवाना सहित कैद सजाय हुन भएपनि समुदायबाट सूचना लुकाउने प्रचलनका कारण घटनामा संलगनहरुको पहिचानमा समस्या हुने गरेको सहायक डिभिजन वन अधिकृत नरबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार, डढेलो लगाउने व्यक्तिलाई क्षति भएको बिगो असुल गरी तीन बर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l