वन डढेलो सम्बन्धी जिल्ला स्तरिय गोष्ठी : मानवीय लापरबाहीले जोखिम बढ्यो

  • २ चैत्र २०७८, बुधबार
  • 801 पटक पढिएको

म्याग्दी १ चैत । म्याग्दीमा मानवीय लापरबाहीले डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदको सुख्खायाममा घाँस पलाउने बाहना र आगोको जथाभावि प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको हो । अधिकाँश आगलागी मानवीय लापरबाहि र कमजोरीको कारण सिर्जित हुने गरेको भन्दै सरोकारवालाहरुले डढेलो लाग्नबाट पूर्वसतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।


मंगलवार बेनीमा डिभिजन वन कार्यालय, म्याग्दीले आयोजना गरेको वन डढेलो सम्बन्धी जिल्ला स्तरिय गोष्ठीमा सहभागीहरुले म्याग्दीमा हरेक बर्ष वन डढेलोको घटना बढ्दै गएकाले आबश्यक सावधानि र सतर्कना संगै सचेतना जगाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले वन डढेलोको घटना बढ्दो क्रममा रहेकाले समुदाय स्तरमा सचेतना संगै जथाभावि आगलागी गराएर डढेलो लगाउने व्यक्तिहरुलाई कानुनी कारबाही हुने बारेमा समुदाय स्तरमा सन्देश फैलाउन आबश्यक रहेको बताउनुभयो ।
म्याग्दीका अधिकाँश वन क्षेत्र भिरालो जमिनमा रहेको, अधिकाँशमा पानीको सहज उपलब्धता नभएको कारण आगलागीका घटनाले ठुलो क्षति निम्त्याउने गरेको बतानुभयो । जिल्लामा डढेलोको जोखिमबारे जानकारी गराउँदै उहाँले गत बर्ष १ जना र यो बर्षको फागुन अन्तिम साता एक जनाले डढेलोको कारण ज्यान गुमाएको बताउनुभयो ।


गत बर्ष जिल्लामा १ हजार १ सय १७ हेक्टर बढी वन क्षेत्र डढेलोले सखाप पारेको थियो । उक्त बर्षमा वेनी नगरपालिकाको ६, मंगला गाउँपालिकाको १०, मालिका गाउँपालिकाको ७, रघुगंगा गाउँपालिकाको १०, अन्नपूर्ण गाउँपालिकाको ७ र धवलागिरि गाउँपालिकाको ६ स्थानका वन क्षेत्रमा डढेलो लागेको थियो । जिल्लामा डढेलो नियन्त्रण र रोकथामका लागि डिभिजन वन कार्यालयले सञ्चार माध्ययम मार्फत सूचना प्रकाशन÷प्रशारण संगै विभिन्न विद्यालयमा र वन उपभोक्ता समूह स्तरमा डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।


त्यसैगरि समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्नीरेखा निर्माण लगायतमा सहजीकरण, सुरक्षा निकायलाई आबश्यक पर्ने डढेलो नियन्त्रणका सामाग्री सहयोग, पूर्वतयारी संगै डढेलो लागीहालेमा सुरक्षा निकाय, वन उपभोक्ता समुह, स्थानीय तह र सरोकारवालासंग समन्वय संगै जनशक्ति परिचालनमा समेत अगुवाई गरिँदै आईएको डिभिजन वन अधिकृत रानाभाटले जानकारी दिनुभयो । फागुन देखि जेठ महिनासम्म डढेलोको जोखिम हुने भएकाले सर्वसाधारण नागरिक, वन उपभोक्ता, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि लगायत सबै सचेत र सतर्क बन्नुपर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले वनमा डढेलो लगाउनेहरुको पहिचान गरि कानुनी कारवाही गर्न सकेमा मानवीय लापरबाहीले हुने डढेलो नियन्त्रण गर्न सकिने बताउनुभयो ।

उहाँले डढेलो लाग्नै दिन नहुने र लागीहालेमा पनि सम्बन्धीत सरोकारवालाको नेतृत्वमा मानिस , वस्ती र जंगललाई जोगाउने काममा समन्वय हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले डढेलोको कारण पहाडहरु उजाड बन्ने खतरा संगै मानविय र भौतिक क्षतिको समेत जोखिम बढ्ने भएकाले आगलागीका घटनाहरुलाई हुन नदिनका लागि सबैपक्ष सजग बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालयले जिल्ला स्थित सुरक्षा निकायहरुलाई अग्नी नियन्त्रणका सामाग्रीहरु प्रदान गरेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ श्यामकुमार राई ,ससस्त्र प्रहरी वल गलेश्वरका प्रनाउ हरिबहादुर गुरुङ र श्रीबक्स गुल्म अर्थुङ्गेका मेजर केसव सिलवाललाई उक्त अग्नी नियन्त्रणका सामाग्री प्रदान गरिएको थियो । कार्यालयले सोटर, मोजा, पञ्जा, सिम्पल क्याप माक्स, साबेल, फुलब्यालक लेदर बुट, सेप्टी हेलमेट, कटन जम्प सुट, रेक हो विथ आइरन हेन्डल,ब्याक व्याग फायर एकस्टीङ्गगुड स्प्रेयर लगायतका रु लाख बराबरको अग्नी नियन्त्रण सामाग्रीहरु प्रदान गरेको जनाएको छ । डिभिजन वन अधिकृत रानाभाटको अध्यक्षता र सहायक डिभिजन वन अधिकृत नरबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेपालमा पछिल्लो ५ बर्ष यता गत बर्ष सबैभन्दा धेरै डढेलो लागेको थियो ।