स्थानीय तहमा अस्पताल:मंगला र धवलागिरिमा ढिलासुस्ती,अन्नपूर्णमा निर्माणधिन,रघुगंगामा अन्योल

  • २६ फाल्गुन २०७८, बिहीबार
  • 953 पटक पढिएको

कमल खत्री
बेनी, २६ फागुन । संघीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगंगामा अस्पताल योजना अनिश्चित भएको छ ।

बेगमा अस्पतालको लागि व्यवस्थान गरिएको जग्गा

जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पाँच बेड, मंगला गाउँपालिका–५ अर्मनमा बेड र धवलागिरि गाउँपालिका– ७ ताकममा पाँच बेड क्षमताको अस्पताल निर्माणधिन अवस्थामा छन् । मालिका गाउँपालिकामा भने यस अघि नै प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ भने बेनी नगरपालिकामा बेनी अस्पताल सञ्चालनमा छ । संघीय सरकारले ०७७ मंसिर १५ मा देशभरका तीन सय ९३ आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । म्याग्दीका दुई स्थानीय तहमा ५ र एक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण अघि बढेपनि रघुगंगामा बन्ने भनिएको १० शय्या क्षमताको अस्पताल बन्ने /नबन्ने अझै निश्चित भएको छैन् । यहाँ अस्पतालको शिलान्यास समेत भएको छैन् ।

योजना घोषणा गर्दा मन्त्रालयलले वडा नम्बर १ बेगखोला स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने भनेपनि तत्कालिन अवस्थामा तोकिएको साढे ९ रोपनी जग्गाको निशूल्क व्यवस्थापन गर्नुपर्ने मापदण्ड पुरा गर्न कठिन हुने, बेगखोला स्वास्थ्य चौकीको भवन पुननिर्माणका लागि अर्को ठेक्का लगाइएको, र पालिकाका बहुसंख्यक नागरिकलाई अपायक पर्ने भन्दै कार्यपालिका बैठकबाट पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने निर्णय भएको थियो ।

धवलागिरिको निर्माणधिन अस्पताल

पछि बेगका स्थानीयबासीको विरोध भएपछि गाउँपालिकाले पुनः बेगमै अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पतालको लागि बेगमा साढे ७ रोपनी जग्गा व्यवस्थापन भैसकेपनि भवन निर्माणको लागि ठेक्का लगाउने काम समेत अझै भएको छैन् । अर्कोतर्फ गाउँपालिकाले थप अर्को अस्पतालको योजना समेत माग गरेपछि रघुगंगामा अस्पताल ‘सेतो हत्ती’ बन्ने जोखिम बढेको छ । मन्त्रालयबाट तोकिएर आएको बेगको अस्पताल योजना कायमै राखेर पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि १० शय्याको अर्को अस्पताल बनाउनका लागि कार्यपालिका बैठकबाट निर्णय गरि सम्बन्धित मन्त्रालयमा पठाईएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

अन्नपूर्णमा निर्माणधिन अस्पताल

‘‘हामीले गाउँपालिकाको केन्द्रमा अस्पताल बनाउने गरि डिपिआरको काम अघि बढाएका थियौँ, मन्त्रालयबाट बेगमा अस्पताल बनाउने योजना छनौट भएर आयो, अधिकाँशलाई बेगमा बन्ने अस्पताल अपायक पर्ने भएपछि थप एक अस्पताल बनाउन माग गर्नुपरेको हो’’–अध्यक्ष भण्डारीले भन्नुभयो । गाउँपालिकाको केन्द्र मौवाफाँटमा २५ बेड क्षमतको अस्पतालको लागि जग्गा व्यवस्थापन सहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारिसकिएको थियो ।

मंगलामा निर्माणधिन अस्पताल

हालै बसेको कार्यपालिका बैठकले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि अस्पतालको रुपमा विकास गर्न आबश्यक पर्ने थप जग्गा व्यवस्थापनको काम गर्ने जिम्मा वडा नम्बर ३ को वडा कार्यालयलाई दिने निर्णय गरेको छ । अस्पताल जस्तो सम्बेदनशिल योजनामा जनप्रतिनिधिको जिम्मेवारीपन नहुँदा रघुगंगामा कतै अस्पताल योजना नै फिर्ता हुने त होइन भन्ने गम्भिर प्रश्न उठ्ने गरेको छ । आबश्यकता र उपयोगितामा भन्दा राजनीतिक लाभ र दाउपेचमा योजना छनौट गर्ने परिपार्टीको वास्तविक उदाहरण बनेको छ, रघुगंगाको अस्पताल ।

धवलागिरिमा निर्माणधिन अस्पताल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साढे दुई वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगंगा–१ बेगलाई छनोट गरेको थियो । २०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० बेड क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।

यस बिचमा बेग र पिप्लेबाट आ–आफ्नै क्षेत्रमा अस्पताल बढाउन विभिन्न दबाब र विरोध भएपछि पुस १५ गते बसेको गाउँसभाले बेगका लागि तोकिएर आएको अस्पताल योजनालाई बेगमै बनाउने निर्णय गरेको थियो । २०७८ भदौ ९ गतेको कार्यपालिका बैठकले बेगको अस्पताल योजनालाई यथावत राखेर पिप्ले स्वस्थ्य चौकी स्रोन्नती गरि पिप्लेमा समेत थप एक अस्पताल बनाउने निर्णय गरेको थियो ।
कार्यपालिका र गाउँसभा मार्फत भएका निर्णयका सम्बन्धमा सम्बन्धित मन्त्रालयमा जानकारी गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

मन्त्रालयले गत बर्ष रु ८५ लाख बजेट विनियोजन गरेको भएपनि निर्धारित समयमा काम सुरु हुन नसकेपछि यो बर्ष अहिलेसम्म अस्पतालको भवन बनाउनका लागि बजेट नआएको उहाँले बताउनुभयो । सरकारी कारोवारमा प्रयोग गरिने एलएमविआइएस सफ्टवेयरमा सुरुवातमा बेग र पछि कार्यपालिका बैठकको निर्णयपछि पिप्ले स्वास्थ्य चौकी स्तरोन्नती गरि अस्पताल बनाउने योजनामा बजेट देखिएको भएपनि निर्धारित समयमा ठेक्का लगाएर काम सुरु नगरेका कारण यो बर्ष दुबै स्थानको नाममा बजेट शुन्य देखिएको छ ।
                                       निर्माणधिन अस्पतालको प्रगती यस्तो छ :
अन्नपूर्ण गाउँपालिका–१ दोवामा निर्माणधिन ५ श®याको अस्पतालको करिब ४५ प्रतिशत काम सकिएको छ । दुई ब्लकमा निर्माण गर्न लागिएको भवनको एउटा भवनको पहिलो तला ढलानको काम सकिएको छ । करिब १० महिनाअघि ठेक्का सम्झौता भएर कार्यक्षेत्रमा परिचालन भएको रफिना अफिना अमित जेभिले अर्को ब्लकको भवनको समेत पिल्लर राखेर पूर्वाधार निर्माणको कामलाई तिब्रता दिएको छ । आगामी १ महिनाभित्र अर्को ब्लकको समेत ढलानको काम सक्ने गरि निर्माण कम्पनीलाई ताकेता गरिएको गाउँपालिकाका इन्जिनियर इश्वर भण्डारीले बताउनुभयो ।

१५ महिनाभित्र काम सक्नुपर्ने भएकाले निर्धारित समयमै काम सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको उहाँले बताउनुभयो । भिरालो जग्गा सम्माएर जग्गा व्यवस्थापन गर्नुपरेकाले काममा केहि ढिलाई भएको थियो । मंगला गाउँपालिकामा निर्माणधिन १० शय्याको आधारभुत अस्पतालमा बेस ढलानको काम भएको छ । आगामी २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरिओम बुद्ध इन्टरनेश्नल कन्स्ट्रक्सन प्रा.लिसंग ठेक्का सम्झौता गरेको थियो । २०७८ असार ९ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अहिलेसम्म बेस ढलान बाहेक पिल्लर समेत राखेको छैन् ।

सम्झौता लगत्तै बर्खा लागेको र काम सुरु गरेपछि पनि निर्माणस्थलमा हिलो पानीको समस्या देखिएको र त्यसलाई ¥याप गरेर सुधार गर्दै निर्माण कार्यलाई अघि बढाएको गाउँपालिकाका इन्जीनियर सुजन पोडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, अहिले निर्माण कम्पनीले निर्माण सामाग्री, उपकरको बन्दोबस्त गरि मजदुर समेत कार्यक्षेत्रमा परिचालन गरिसकेको छ । धवलागिरि गाउँपालिका–७ ताकममा निर्माण सुरु भएको पाँच शय्याको आधारभुत अस्पतालको फाउण्डेसनको काम सकेर पिल्लर राख्ने काम सकिएको छ । १६ कोठे दुई तले भनवको आगामी २०७९ असार १५ भित्र काम सक्ने लक्ष्य रहेको छ । बिएम–आइएस–एसी जेभीले गत बर्षको चैतमा अस्पताल भवनको लागि ठेक्का सम्झौता गरेको थियो । तर अहिले कार्यक्षेत्रमा निर्माण कम्पनीले काम गरेको छैन् । पिल्लर ठडाएर निर्माण कम्पनी सम्पर्क विहिन बनेपछि गाउँपालिकाले ताकेता गरिरहेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।