दुर्गमबाट जन्मिएको महिला नेतृत्व

  • २४ फाल्गुन २०७८, मंगलवार
  • कमल खत्री
  • 1041 पटक पढिएको

कमल खत्री
बेनी, २४ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ को चन्द्रज्योति मावि, खिवाङको प्रअको जागिर छाडेर गाउँपालिकाको नेतृत्वमा आउनुभएको हो, थमसरा पुन । जन्मगाउँकै विद्यालयमा १० बर्ष लामो शिक्षण पेशा र ५ बर्ष लामो प्रअको जिम्मेवारीको भारी विसाएर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकी पुनले स्थानीय तहको नेतृत्वमा आफ्नो पाँच बर्षे कार्यकाल ‘अवसर र चुनौति’मा बिताउनुभयो ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन मुदी गाविसको वडा नम्बर ६ को महिला वडा सदस्यमा निर्वाचित भएर जनप्रतिनिधिको भूमिकाबारे सामान्य अनुभव संगाल्नुभएकी पुनले स्नातकोत्तर तहसम्मको अध्ययन गरेर शिक्षण पेशा हुँदै फेरी राजनीतिक यात्रा तय गर्नुभएको हो ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा पुन जिल्लाको एक्ली ‘महिला अध्यक्ष’ हुनुहुन्छ । उहाँ नेकपा एमालेबाट उम्मेदवार बनेर निर्वाचित हुनुभएको थियो । जिल्लाको सबैभन्दा बिकट र दुर्गम भु–बनोट समेटिएको धवलागिरि गाउँपालिकाको नेतृत्वमा महिला पुगेपनि अन्य स्थानीय तहका नेतृत्वको तुलनामा कुनै कमि महसुस भने भएन् । बरु अन्य पालिकाका प्रमुखले भन्दा बढी संघर्ष पुनले गर्नुप¥र्यो । पुनमा जनप्रतिनिधिको रुपमा हुनुपर्ने क्रियाशिलता, गतिशिलता निरन्तर रहिरह्यो । यसैको प्रतिफल स्वरुप भोगोलिक बिकटताको उपमा पाएको धवलागिरि गाउँपालिका विस्तारै सुगमको पथमा अघि लम्किएको छ ।


मुख्य गरि गाउँपालिकाको केन्द्र, अस्पतालको भवन र लुलाङमा सडक निर्माणमा आएका ठुला विवादलाई समाधान गर्न ठूलै चुनौतिहरुको सामाना गरिएको उहाँले बताउनुभयो । ‘‘दुर्गम गाउँको सरकार, अभाबै अभाब, समस्या नै समस्याको चाँङका बिच अहिले जे जति गरियो, त्यसले धवलागिरिको विकासको आधार तयार गरेको छ, कतिपय क्षेत्रमा परिवर्तन र सुधारका सकरात्मक प्रभाबहरु पनि आउन थालिसकेका छन्’’–अध्यक्ष पुन भन्नुहुन्छ । यस बिचमा गाउँपालिकाको केन्द्र निर्धारण गरि जग्गा व्यवस्थापन, आधारभुत अस्पतालको भवन निर्माण सुरु, दुर्गम बस्तीमा स्वास्थ्य, सडक, केन्द्रिय विद्युत र सञ्चारको पहुँच विस्तारलाई गाउँपालिकाको प्रमुख उपलब्धीका रुपमा लिइएको पुनको भनाई छ ।

सडकको जिर्ण अवस्था, सञ्चार, बैँकीङ्ग सुविधा लगायतको पहुँच नहुँदा करिब साढे १ बर्षसम्म जिल्ला सदरमुकाम बेनीमा सम्पर्क कार्यालय राखेर सेवा प्रवाह गरेको यस गाउँपालिकाले अहिले गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मुनाबाटै सेवा प्रवाह गर्दै आएको छ । कोरोना महामारीको कारण दुई बर्षका योजनाहरु प्रभावित बनेको, स्रोत साधनलाई समेत अन्य विकासका पूर्वाधार निर्माणबाट कटौती गरि कोरोना नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित गर्नुपर्ने बाध्यतालाई यस गाउँपालिकाले समेत सामाना गर्नुप¥र्यो । स्थानीय तह कार्यान्वयन हुँदा सम्म गाउँपालिकाको कुनैपनि वडामा केन्द्रिय विद्युतिकरणको पहुँच नपुगेको अवस्थाबाट अहिले वडा नम्बर ७ ताकम, वडा नम्बर ६ मराङ र वडा नम्बर ३ मुदीको मुख्य बस्तीमा केन्द्रिय विद्युतिकरणको पहुँच विस्तार भैसकेको छ भने वडा नम्बर ३ मुना, ५ मल्कबाङमा विद्युतिकरणको तयारी गरिएको छ । वडा नम्बर २ लुलाङको लघुजलविद्युत पुननिर्माण भएको छ । गुर्जामा यस अघि नै लघुजलविद्युत सञ्चालनमा छ ।

गाउँपालिकाभित्रका दुर्गम बस्तीहरुमा सञ्चारको पहुँच पु¥याउने कामले तीव्रता पाएको छ । ‘प्रदेश सरकारसंगको साझेदारीमा वडा नम्बर ५ मल्कबाङ, ६ मराङ, ४ मुदी, २ लुलाङसम्म सडक सञ्जालको पहुँच पु¥याउने काम गरेका छौँ, सडक नपुगेको ठाउँमा सडकको पहूँच थप विस्तार गर्ने, पुगेको ठाउँमा स्तरोन्नती गर्ने र नियमित यातायात सञ्चालन हुने अवस्था सिर्जना गर्नतर्फ हाम्रो जोड रहेको छ’’–अध्यक्ष पुनले भन्नुभयो । अनकन्टार डाँडाकाँडामा जनताका समस्या बुझ्न र महत्वपूर्ण सेवा प्रवाह गर्न घरदैलोमा घुम्ती शिविरको रुपमा काम गर्ने परिपार्टीको विकास गरेको धवलागिरि गाउँपालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत उल्लेख्य सुधार भएको छ । गाउँपालिकाले नीजि स्रोतबाट शिक्षक राखेर आर्थिक संकट व्यहोरेका विद्यालयमा शिक्षक उपलब्ध गराउने कामको थालनी गरेको छ भने वडाभित्रको स्वास्थ्य चौकी पुग्न घण्टौँ लाग्ने दुर्गम बस्तीहरुमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ ।

वडा नम्बर ४ को खिवाङ, बगर, वडा ७ को मच्छीम, धारापानी, वडा नम्बर ६ को अर्बाङ, बुलमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर अनमी, अहेब नियुक्त गरि स्वास्थ्य सेवा प्रवाह भैरहेको र वडा नम्बर ५ को मलम्पारमा समेत स्वास्थ्य इकाई स्थापनाको लागि तयारी गरिएको अध्यक्ष पुनले बताउनुभयो । वडा नम्बर ७ ताकममा संघीय सरकारको एक स्थानीय तह एक आधारभुत अस्पताललाई निर्माण काम अघि बढाइएको छ । गाउँपालिकाका नागरिकलाई विरामी हुँदा सहज र समयमै अस्पताल पुग्ने सुविधाका लागि गत सातादेखि गाउँपालिकाले एम्बुलेन्स समेत सञ्चालनमा ल्याएको छ ।

‘‘ दुर्गम बस्ती सुरुमा त न फोनले काम गर्ने, नत इन्टरनेटको पहुँच नै, पछि सञ्चारको पहुँच त पु¥यायौँ , दुर्गम भएकै कारण कर्मचारी आउन र बस्न नमान्ने, प्रमुख प्रशासकीय ,प्राविधिक र लेखाक्षेत्रका कर्मचारीको पटक पटक अभाब भैरह्यो, त्यसले गर्दा पनि हाम्रो उदेश्य प्राप्तीमा ठेसहरु लागीरहे’’–अध्यक्ष पुनले बताउनुभयो । अहिलेपनि धवलािगरि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिनको अवस्थामा छ । भौगोलिक विकटताको चुनौतिले दिएको सास्ती भन्दा काम गर्दा कतिपय अवस्थामा दुख दिने मनसायले झिकिएका विवादले आफुलाई दुखित बनाएको पुनको अनुभव छ ।

‘‘स्थानीय तहको पाँच बर्षे कार्यकाललाई मैले अवसर र चुनौति दुबैको रुपमा लिँए, केहि ठुला विवादले सोचेअनुरुप काम गर्न सकिएन, तर यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, पर्यटन विकास लगायतको क्षेत्रमा विकासका आधार तयार गर्न सफल भयौँ’’–उहाँले भन्नुभयो । स्थानीय सरकारमा महिला प्रमुखका रुपमा पुनले अन्य स्थानीय तहका नेतृत्वले भन्दा थप समस्या र चुनौतिको सामाना गर्नुप¥यो । ‘‘समाजमा पुरुषबादी सोच हट्न सकेको छैन, महिलाको नेतृत्व, महिलाको निर्णय र महिलाको स्वतन्त्रतालाई समाजले सहज रुपमा ग्रहण गर्न नसक्ने तितो यथार्त छ, राज्यका माथिल्लो निकायबाट महिला नेतृत्व भएको ठाउँमा बजेट खर्च हुन समस्या हुन्छ की ? भन्ने जस्तो साँघुरो दृष्टिकोणलाई समेत सामाना गर्यौ’’–पुनले थप्नुभयो ।

सडक, खानेपानी, विद्यालय, स्वास्थ्य तथा सामुदायिक भवन, खेलकुद, पदमार्ग लगायतका भौतिक पूर्वाधारमात्रै नभएर पालिकाले कार्यान्वयन गर्ने योजनाहरुमा दलित, गरिब, विपन्न बर्गको शसक्तिकरण, जनचेतना अभिबृद्धि, बाल विवाह न्यूनिकरण, स्वास्थ्य र पोषणको अवस्थामा सुधार लगायतका कार्यलाई जोड दिएर कार्यान्वयन गरिएको उनको भनाई छ । संघीय संरचनामा पहिलो पटक कार्यान्वयनमा आएको स्थानीय तहको पहिलो नेतृत्व गर्ने अवसर पाएकी पुन राजनीतिमा निरन्तर सक्रिय हुने बाटोमा अघि बढ्नुभएको छ । यस अघि अखिल नेपाल महिला संघमा रहेर राजनीतिमा सक्रिय पुन हालै सम्पन्न नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशनबाट जिल्ला उप–सचिब पदमा निर्वाचित समेत हुनुभएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l