एमाले–काँग्रेस मिल्दा आउन सक्ने ४ परिणाम

यी दुई प्रतिस्पर्धी दलको मिलन आगामी चुनावसम्म मात्र

  • १३ फाल्गुन २०७८, शुक्रबार
  • 665 पटक पढिएको

अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौताका कारण मुलुकको राजनीतिक समीकरणमा फेरबदल आउने सम्भावना बढ्दै गएको छ । बिहीबारयताका विभिन्न घटनाक्रमले राजनीतिक समीकरण बदलिने संकेत गरेका हुन् । खासगरी सत्तारुढ दलभित्र एमसीसीमा समान धारणा नबनेपछि हालको समीकरण नै बदलेर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विकल्पमा पाइला चाल्न सुरु गरिसकेका छन् । त्यसक्रममा बिहीबार मात्रै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग दुई चरणमा छलफल गरिसकेका छन् ।

ती छलफलमा एमसीसी पास गर्ने शर्तमा एमालेले अघि सारेका माग पूरा गर्न देउवा तयार भएको बताइएको छ । यद्यपि प्रक्रियाका बारेमा ठोस सहमति जुटिनसकेको दुबैतर्फका नेताहरुको भनाइ छ । एमसीसी पास गर्ने शर्तमा एमाले र काँग्रेसबीच सहकार्य भएमा त्यसको पहिलो असर गठबन्धनमा पर्ने देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी पास नगर्ने बरु सत्ता छोड्न तयार हुने मनस्थिति बनाइसकेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाले आफ्नो सरकार बचाउँन एमालेको साथसहितका विभिन्न विकल्प खोज्नेछन् ।

त्यसक्रममा देउवाले यसअघि एमालेले कारवाही गरेका माधव नेपालसहितका नेतामाथिको कारवाहीको विषयलाई साथ दिनुपर्ने अवस्था आउन सक्छ । तर, देउवा माधव नेपालको राजनीतिक भविष्य नै दाउमा पर्ने गरी निर्णय गर्छन् या गर्दैन्, त्यो भने उनले आगामी दिनमा लिने कदमबाट मात्रै टुंगो लाग्ने देखिन्छ । यद्यपि माओवादी केन्द्रले शुक्रबार मात्रै गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।

एमाले र काँग्रेसबीच सहकार्य भएको अवस्थामा आउन सक्ने चारवटा राजनीतिक परिस्थिति यी हुन्–     

१. पाँचदलीय गठबन्धन भत्कने

विहीबार बिहान १० बजेतिर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । त्यहाँ उनीहरुले आ–आफ्नो बाटो लाग्ने सहमति गरे । प्रधानमन्त्री देउवाले एमसीसीमा बहुमत जुटाउन लाग्ने बताए भने प्रचण्डले सैद्धान्तिक असहमति भएका कारण सरकारबाट बाहिरिने बताए । मतो नमिले पनि भावनात्मक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री देउवा प्रचण्डलाई विदाइ गाडीसम्म आएका थिए ।

सल्लाहमै आ–आफ्नो बाटो लाग्ने बताएर छुटेका देउवा र प्रचण्डले त्यसपछि एमालेसँग बेग्लाबेग्लै छलफल गरे । एमाले र काँग्रेसका बीचमा तारन्तार छलफल भयो । यससँगै अब एमसीसी पास गर्ने शर्तमा एमालेले अघि सारेका माग पूरा गर्न देउवा तयार भएमा झण्डै आठ महिनाअघि बनेको हालको सत्ता गठबन्धन छिन्नभिन्न हुने देखिएको छ ।

हालको सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन् । तर, काँग्रेस एमाले सहकार्य भए माओवादी समाजवादी लगायतका दलहरु आ–आफ्नो बाटो लाग्ने निश्चितजस्तै छ ।

वर्तमान सत्ता गठबन्धन टुटेमा वाम गठबन्धन बनाउने प्रयास समेत हुन सक्नेछ । तर, यसको सम्भावना तत्काल हुने देखिँदैन । किनभने माधव नेपाललाई समेट्न नेकपा एमाले तयार छैन । माओवादी चाहिँ माधव नेपाललाई साथ दिन चाहन्छ ।  यो अवस्थामा एमाले र काँग्रेस मिल्न गएमा माओवादी र एकीकृत समाजवादी लगायतका अन्य घटकहरुसँगको गठबन्धन भने टुट्ने प्रायः निश्चित छ ।

२. सभामुख परिवर्तन

काँग्रेस र एमालेबीच सहकार्य भएमा उनीहरुको पहिलो निशानामा सभामुख अग्नि सापकोटा पर्ने सम्भावना बढेको छ । किनभने एमालेले पहिलेदेखि नै सभामुखको भुमिकालाई लिएर प्रश्न गरिरहेको छ । प्रधानमन्त्री देउवासँगको छलफलमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख हटाउने पहिलो शर्त अघि बढाएका छन् ।

सभामुखविरुद्ध महाअभियोग (कार्यक्षमता नभएको) प्रस्ताव दर्ता गर्ने र त्यसको अनुमोदनका लागि दुई तिहाई सांसद संख्या पुर्याउने गृहकार्य काँग्रेस र एमालेबाट हुन सक्छ । तर, हालको अवस्थामा काँग्रेस एमालेसँगमात्रै दुई तिहाइ नपुग्ने हुँदा त्यसका लागि उनीहरुले १३ सीट रहेको लोसपा र १९ सीट रहेको जसपाका केही सांसदको साथ लिनुपर्ने हुन्छ । त्यसका लागि लोसपाले सहयोग गर्ने निश्चित भए पनि जसपा स्पष्ट छैन । जसपाका १९ सांसदमध्ये ११ जनाको साथ पाएका डा. बाबुराम भट्टराई काँगेस–एमालेको मुद्दामा मिल्न सक्ने सम्भावना छ ।

एमसीसी मुद्दामा समेत डा. भट्टराई काँग्रेससँग नजिक छन् । यस्तो हुँदा डा. भट्टराई जसपा फुटाउने कसरत गर्नेछन् । त्यसको प्रक्रियाका लागि एक चौथाई सांसदले महाभियोगको प्रस्ताव लैजान सक्छन् । तर, सभामुख हटाउने प्रस्ताव पारित गर्न दुई तिहाई मत आवश्यक पर्छ ।

सभामुखलाई हटाउनका लागि संसदमा हाल तत्काल कायम सदस्य २७१ को दुई तिहाइ अर्थात् १८१ संख्या आवश्यक हुन्छ । एमालेसँग ९८ र कांग्रेससँग ६१ सांसद छन् । यो जोड्दा १५७ सांसद पुग्छ । लोसपाका १३ सांसदले साथ दिँदा पनि १ सय ७० मात्रै हुनेहुँदा दुई तिहाइ पुर्याउन जसपा केही (११) सांसद अनिवार्य चाहिन्छ ।

३. एमसीसी अनुमोदन

काँग्रेस–एमाले सहकार्य भएमा उनीहरुले सवैभन्दा पहिले गर्ने काम भनेको एमसीसी संसदबाट अनुमोदन गर्ने हो । एमाले र काँग्रेस मिल्दा संसदमा बहुमत पुग्छ । एमालेका ९८ र काँग्रेसका ६१ जोड्दा १५९ पुग्ने भएकाले एमसीसी सजिलै अनुमोदन हुन्छ । यसबेला लोसपा, जसपा लगायतका अन्य दलले साथ नदिए पनि काँग्रेस–एमालेलाई कुनै फरक पर्दैन ।

काँग्रेस–एमालेको मिलनले प्रचण्ड र माधव नेपालका पार्टीहरू सत्ताबाट बाहिरिनेछन् र एमसीसी सहजै पारित हुन सक्नेछ । तर, यसको अर्को नकारात्मक पाटो के छ भने चुनावका बेला एमसीसीको विपक्षमा रहेको जनमतचाहिँ एमाले र काँग्रेसबाट टाढिने खतरा बढ्ने छ ।

४. प्रदेश सरकार परिवर्तन

काँग्रेस र एमालेको सहकार्य भयो र गठबन्धन भत्कियो भने एमालेले प्रदेश सरकारहरुमा आफ्नो हिस्सेदारी खोज्नेछ । त्यसका लागि शक्ति बाँडफाँटबारे काँग्रेस–एमालेका दोस्रो तहका नेताहरुबीच छलफलको  सुरुवात नै भैसकेको छ । यद्यपि कुन–कुन प्रदेशमा एमालेले हिस्सेदारी खोज्ने र दिने भन्ने दुई दलबीच कुनै ठोस समझदारी भएको छैन ।

यद्यपि यसअघि एमालेले गुमाएका प्रदेशमा पुनः इन्ट्री गराउने काँग्रेसको प्रयास हुने बुझिएको छ । त्यसका लागि प्रदेश एक, वागमती, लुम्बिनी, कर्णाली र गण्डकीका सरकार परिवर्तन हुनसक्छन् । यी प्रदेशहरुमा केपी ओलीले संसद विघटन गरेसँगै माओवादी काँग्रेस र माधव नेपाल नेतृत्वको नेकपा समाजवादी मिलेर सरकार बनाएका थिए ।

निर्वाचनमा सहकार्य कति ?

एमसीसी पास गर्ने सवालमा काँग्रेस एमाले सहकार्यका लागि सहमति जुटे पनि निर्वाचनमा भने सहकार्यको सम्भावना देखिँदैन । किनभने काँग्रेस र एमाले एक अर्काका प्रतिस्पर्धी दलहरु हुन् ।

अहिले नेकपा एमालेको एउटै उद्देश्य हो, जसरी पनि वर्तमान गठबन्धन भत्काउनु । एमालेका नेताहरुले खुलेआम गठबन्धन भत्कनुपर्छ भनेर भनिरहेका पनि छन् । वर्तमान सत्ता गठबन्धन भत्किएसँगै नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको समाजवादी स्वतः कमजोर बन्ने एमालेको बुझाइ छ ।

गठबन्धन भत्काउन सकियो भने आगामी चुनावहरुमा परिणाम आफ्नो पक्षमा आउने बुझाइ उसको छ । त्यस्तो अवस्थामा एमाले र  काँग्रेसबीचमै आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुनेछ । एमालेको यो चाहनामा काँग्रेस पनि सकारात्मक देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बुधबारको भेटमा पनि ओलीले यही प्रस्ताव अघि सारेको दुई नेताबीचको छलफलमा सहभागी भएका नेताहरुको भनाइ छ ।

यो पृष्ठभूमिमा एमाले र काँग्रेसबीचको सम्भावित सहकार्यको आयु आगामी चुनावसम्म मात्र हुनेछ । सहकार्यको उपलब्धि यत्ति हुनेछ– एमालेले प्रचण्ड र माधव नेपाललाई सडकमा पुर्याउँदै गठबन्धन भत्काउनेछ र प्रदेशमा गुमेको सत्ता फर्काउनेछ । नेपाली काँग्रेसले एमसीसी पारित गर्ने आफ्नो धोको पूरा गर्नेछ । तर, चुनावमा यी दुबै दल एक–अर्कालाई गाली नगरी बस्न सक्ने छैनन् । ratopati.com