म्याग्दीका महावीर पुनलाई ‘गण्डकी रत्न’बाट विभूषित गरिने

  • ४ फाल्गुन २०७८, बुधबार
  • 1154 पटक पढिएको

म्याग्दी ४ फागुन । गण्डकी प्रदेश सरकारले शुरुवात गरेको ‘गण्डकी रत्न’बाट म्याग्दीका महावीर पुनलाई विभूषित गर्ने निर्णय गरेको छ। गण्डकी प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गरेको हो। प्रेदेश स्थापना दिनको अवसरमा गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थमन्त्री कुमार खड्काले विभूषित व्यक्तिको नाम घोषणा गर्नुभएको हो । २६ पुसमा प्रदेश मन्त्रिपरिषद् बैठकबाट विशिष्ट व्यक्ति सम्मान गर्ने कार्यविधी २०७८ स्वीकृत गरेको थियो।

शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सरकारले सम्मान गर्ने घोषणा गरेको थियो। गण्डकी प्रदेश भित्र जन्मिएर यहाँकै श्रीवृद्धिको लागि योगदान गरेकाहरुबाट नामहरु छनोट गरिएको थियो। एउटा सम्बन्धित व्यक्तिले आफ्नै लागि निवेदन दिने, अर्को दोस्रो व्यक्तिले कोही योग्य ठानेर निवदेन दिने र समिति आफैले छनोट गर्ने प्रावधान रहेको छ । मन्त्रिपरिषदको ३ फागुनमा बसेको बैठकले पुनलाई विभूषित गर्नको लागि अनुमोदन गरेको थियो।

आन्तरिक मामिला मन्त्रालयले ४ माघमा १५ दिने सूचना जारी गर्दै सम्मानका लागि आवेदन मागेको थियो।
त्यसमा साहित्य, पर्यटन, खेलकुद, समाज सेवा, भाषा, संस्कृति क्षेत्रमा काम गरेको भन्दै आठ जनाले निवेदन दिएका थिए। विभूषणका लागि कास्कीका तीन, स्याङ्जा र तनहुँका दुई÷दुई र लमजुङका एक जनाले आन्तरिक मामिला मन्त्रालयमा निवेदन दिएका थिए। तर, निवेदन नदिएका पुनलाई प्रदेश सरकारले सम्मान गर्ने निर्णय गरेको हो।

                                            महाविर पुनको परिचय
गण्डकी प्रदेशको म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–८ नाङ्नीमा पिता कृष्ण पुन र माता पुरित पुनको कोखबाट ५ माघ २०११ मा जन्मनुभएका महावीर पुनले विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाहमा महत्वपूर्ण योगदान गर्नुभएको छ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्नुभएका पुनले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा लगायत क्षेत्रमा नयाँनयाँ कार्य गर्दै आउनुभएको छ ।

उहाँले नवप्रतिभाहरुलाई उद्योमी बनाउनको लागि निशुल्क अध्ययन र अनुसन्धानको वातावरण मिलाउँदै आउनुभएको छ । अमेरिकामा विज्ञान संकायमा स्नात्तकोतर गर्नुभएका पुन रोमन म्यागेसेसे पुरस्कारबाट सम्मानितसमेत हुनुभएको छ ।
                                       विभूषित भएपछि के पाउँछन् ?
विभूषित व्यक्तिलाई सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रम हुनेछ। यसबाहेक प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भीआईपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै उनीहरूको जिम्मा लिनेछ। सम्मानित हुनेले चाँदीको लोगो पाउँछन्। उक्त लोगोमा ६.५ सेन्टिमिटरको ब्यास भएको गोलो आकारमा बाहिर पहिलो घेरामा एघार जिल्लाको प्रतिकात्मक स्वरूप ११ ओटा कमलको पुष्पदल रहने छ।

दोस्रो घेराभित्र माथि ‘गण्डकी प्रदेश सरकार’ र तल ‘गण्डकी रत्न’ लेखिएको हुन्छ। तेस्रो तथा भित्री घेराभित्र नदी (गण्डकी)को उद्गमस्थल एवं गण्डकी प्रदेशको पहिचान स्वरूप हिमाल र त्यसमाथि राष्ट्रिय झण्डा रहने प्रदेश सरकारले जनाएको छ। झण्डा र हिमालको भागमा सुन प्रयोग गरिने छ। यसमा ६.५ ग्राम सुन र १२५ ग्राम चाँदी प्रयोग हुने कार्यविधिमा उल्लेख छ। यसको पछाडिपट्टिको भागमा वितरण गरिने साल उल्लेख गरिएको हुनेछ भने खादा लगाएर सम्मान गरिने छ। (नेपाल भ्युजको सहयोगमा)