निर्वाचन लक्षित राजनीतिक दलहरूमा दौडधुप सुरु

  • २ फाल्गुन २०७८, सोमबार
  • 620 पटक पढिएको

म्याग्दी, २ फागुन । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि म्याग्दीका राजनीतिक दलहरूमा दौडधुप सुरु भएको छ । जिल्लामा क्रियाशील ठूला राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका जिल्ला र स्थानीय तहका नेताहरूले निर्वाचनको मिति घोषणासंगै निर्वाचन लक्षित कार्यक्रम गरेका छन् ।

वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेका मुख्य दलहरूले निर्वाचन लक्षित कार्यक्रमहरू बनाउन आन्तरिक तयारीमा दलका नेताहरुले लागेका छन् । सरकारले निर्वाचन घोषणा गरेकाले अब पार्टीले निर्वाचन केन्द्रित कार्यक्रमहरू लिएर गाउँ जाने नेकपा एमालेका अध्यक्ष देवेन्द्रबहादुर केसीले बताए । निर्वाचनलाई मध्यनजर गरेर जिल्लाभरको कार्यक्रम तय गर्न फागुन ११ गते जिल्ला कमिटीको बैठक राखिएको यतिखेर स्थानीय तहका पार्टी मिटीले गाउँ–गाउँमा टोल भेला, संगठन विस्तार, सदस्यता वितरण लगायत भेटघाटका कार्यक्रम गरिराखेको बताए ।
सरकारले निर्वाचनको मिति घोषणा गरेकाले अब चाँडै नै निर्वाचनालाई केन्द्रित गरेर पार्टीका कार्यक्रमहरू जनतासमक्ष लैजाने नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारीले भने । पार्टीका पालिका समितिले टोलस्तरमा कार्यकर्ता भेटघाट र टोल समिति गठन गर्ने अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

यस्तै माओवादीले निर्वाचन लक्षित कार्यक्रम बनाउने जिल्ला संयोजक रेशम जुग्जालीले भने । निर्वाचनलाई लक्षित गरेर पार्टीका सम्पूर्ण गतिविधिहरू केन्द्रित हुने छ । जिल्लामा रहेका नेकपा एकीकृत समाजवादी, राप्रपा र राष्ट्रिय जनमोर्चा लगायत साना दलहरू पनि निर्वाचनको मिति घोषणाले उत्साहित बनेका छन् । निर्वाचनको मिति चयन भएसँगै दलहरूमा उम्मेदवारको पनि चर्चा हुन थालेको छ । जिल्लामा एक नगरपालिका र पाँच गाउँपालिका छन् । नगर तथा पालिका अध्यक्ष र वडाध्यक्ष पदमा को–को उम्मेदवार हुने भन्ने बहस सुरु हुन थालेको छ ।

एकातिर निर्वाचनमा आफूहरूको सहभागितालाई सुनिश्चित गर्न पार्टीका नेता कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने विषयका छलफलले तीव्रता पाएका छन् भने अर्काेतिर पार्टीको टिकट पाउने दाउपेचले नेताहरूको घरमा भिड लाग्न सुरु भएको छ ।
बेनी नगरपालिका–३ का दलबहादुर घर्तीले आफ्ना वडाका जनप्रतिनिधिहरूबाट राम्रै काम भएको बताउँदै अबको निर्वाचनमा पनि उनीहरूलाई नै मौका दिने हो भने गाउँको विकास छिटो हुने प्रतिक्रिया दिए । तर, अधिकांश स्थानीय तहका जनताले अघिल्लो कार्यकालमा जनप्रतिनिधि बनेका अनुहार फेरि दोहो¥याउनु नहुने विचार व्यक्त गरेका छन् । राजनीतिक दलका कार्यकर्ताहरूको भने फरक विचार रहेको छ । उनीहरूका अनुसार यसपटक जित्नेलाई टिकट दिनुपर्ने र व्यक्तिको लोकप्रियताको ख्याल गर्नुपर्ने देखिएको छ ।

सामाजिक सञ्जालमा अधिकांश जनताहरूले जनप्रतिनिधिहरूप्रति कटाक्ष गर्न सुरु गरेका छन् । ‘चार वर्षसम्म त चिने पनि नचिनेको जस्तो ग¥यौ, अब मास्कले नाक र मुख छोपेर भोट माग्न दैलो–दैलोमा जाने त होला नि हैन महाशय’ सामाजिक सञ्जाल फेसबुकका यस्ता स्टाटसहरू पोस्टिन थालेका छन् ।
कतिपय व्यक्तिहरूले त नामै तोकेर अबको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूलाई आग्रहसमेत गरेका छन् । कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट दबाबमूलक इच्छा प्रकट गरे पनि पार्टीको निर्णय नसोचेको हुन सक्ने नेताहरू बताउँछन् । स्थानीय तह निर्वाचनमा समेत गठबन्धन कायम रहने हो भने निर्वाचनको माहोल अझ रोचक बन्ने देखिएको छ ।

म्याग्दीमा सक्रिय राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा आदिमा बाहिर–बाहिर आन्तरिक विवाद खासै नदेखिएको भए पनि भित्र–भित्र यी पार्टीका नेता कार्यकर्ताहरूमा महत्वाकांक्षा र गुटगत स्वार्थ भने रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । समग्रमा पार्टीभित्र यसअघि देखिएका आन्तरिक कलह, गुटबन्दी र प्यानलका कारण स्थानीय निर्वाचनमा यसको असर टड्कारोरूपमा देखिन सक्ने नेताहरूको अनुमान छ ।

जनताले भने विगतको जस्तो गल्ती यसपटक नदोहो¥याउने सोच बनाएका छन् । यसपटक राजनीतिमा युवाहरूको विशेष आकर्षण देखिएको छ । कतिपय युवाहरूले त स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणासमेत गरिसकेका छन् । तीमध्ये एक हुनुहुन्छ रघुगंगा गाउँपालिकाका युवा सागर भण्डारी । भण्डारीले अहिलेदेखि नै आफूलाई भोट किन दिने भन्ने विषयमा अडियो रेकर्डसमेत गराएका छन् । भण्डारीले रघुगंगा गाउँपालिकाको ‘समृद्धिका निम्ति खोज’ नामक अनुसन्धान पत्रसमेत प्रकाशित गरेर वितरण गरिरहेका छन् । भण्डारीजस्तै धेरै युवाहरू यसपटकको स्थानीय तहको निर्वाचनमा आकांक्षी देखिएकाले दलहरूलाई विगतका निर्वाचनमा जस्तो सहज नहुने विश्लेषण गर्न थालिएको छ । ध्रुवसागर शर्मा