लघुजलविद्युत पुननिर्माण भएपछि लुलाङमा करिब साढे पाँच महिनापछि बल्यो विजुली

  • १ फाल्गुन २०७८, आईतवार
  • 584 पटक पढिएको

म्याग्दी १ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा बाढीले बगाएको लघुजलविद्युत परियोजना करिब साढे ५ महिनापछि पुननिर्माण भएको छ । गत भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो ।

 गाउँपालिकाले विनियोजन गरेको रु १२ लाख र गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुनको सिफारिसमा स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत रु १० लाख गरी रु २२ लाख लगानीमा परियोजना पुननिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले जानकारी दिनुभयो । गत पुस महिनाबाट बाढीले बगाएको परियोजना मर्मतको काम थालिएकोमा आइतवार परिक्षण उत्पादनको काम सम्पन्न भएको पाईजाले बताउनुभयो ।


परियोजनाबाट गाउँका तिनसय ५४ घरधुरीमा विद्युत सेवा पुगेको छ । बत्ति बलेपछि टुकीको भरमा विद्यार्थीहरुले पढ्नुपर्ने बाध्यता हटेको स्थानीयवासी भक्तबहादुर सिंकिजा पुनमगरले बताउनुभयो । मोवाईल चार्ज, टेलिभिजन हेर्न र बालबालिकाको अध्ययनमा समेत सहजता मिलेको छ भने विद्युत सेवा सुचारु भएपछि गाउँमा रहेका कुटानी पिसानी गर्ने मिल, फर्निचर उद्योग र मासुपसल लगायतका घरेलु उद्योगहरुलाई राहत मिल्ने भएको छ।

आईतवार परियोजनाको निरिक्षणमा पुग्नुभएकी गाउँपालिका अध्यक्ष थमसरा पुनले परिक्षण उत्पादन सफल भएको र स्थानीय उपभोक्ताहरुको बैठक बसेर नियमित रुपमा विद्युत सेवा सुचारु गर्ने तयारी भएको जानकारी दिनुभयो । ‘‘ दुर्गम बस्ती महिनौँदेखि अन्धकारमा रहँदा निकै नै सास्ती भएको थियो, पालिकाले यहाँको समस्यालाई गम्भिरताका साथ लिएर समाधानमा जुटेपछि स्थानीयबासीलाई अन्धारमै बसिरहनुपर्ने बाध्यता हटेको छ’’– अध्यक्ष पुनले भन्नुभयो ।

बाढीले बगाएर क्षतिग्रस्त बनेको परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेट लगायतका मेसिन उपकरणहरु नयाँ फेरिएको छ भने मुहानमा २५ मिटर कुलो निर्माण र मर्मतको काम गरिएको छ । त्यसैगरि विद्युतगृह भवन नयाँ निर्माण गरिएको छ । खोलाको किनारदेखि केहि माथि सुरक्षित ठाउँमा विद्युतगृह निर्माण भएको कारण परियोजनाको उत्पादन समेत घटेर ३५ किलोवाटमा सिमित भएको समितिले जनाएको छ । २०७६ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको रु ८५ लाख ९७ हजार, जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार लागतमा परियोजना निर्माण गरिएको थियो ।