ब्यावसायिक केरा खेतीबाट आम्दानी सुरु

  • २८ माघ २०७८, शुक्रबार
  • धिरन खत्री
  • 885 पटक पढिएको

म्याग्दी, २८ माघ । म्याग्दीमा परम्परागत खेतीलाई विस्थापित गर्दै युवाहरु ब्यावसायिक कृषि र पशुपालनमा लागेका छन् । कोरोना महामारीपछि युवाहरु बैदेशिक लगायतको रोजगारी गुमेपछि आम्दानीका स्रोत बनाउन पुर्खाहरुको जग्गामा युवाहरुले परिश्रम गर्ने क्रम बढेको छ। युवाहरुले निर्वाहमुखी खेती हुने जग्गामा लगानी गरेर सुन्तला, केरा, किवी संगै तरकारी र पशुपालनमा कुखुरा, बाख्रा, बंगुरपालन गरेर आम्दानी स्रोत बनाएका छन् ।


रघुगंगा गाउँपालिका– २ रिसिन चौतारीका बलबहादुर विक, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले परम्परागत खेतीलाई परिवर्तन र बाँझो जमिनलाई सदुपयोग गरेर ब्यावसायिक केरा खेतीलाई अघि बढाएका छन् । रिसिनचौतारीसंगै माछखर्क, खौरेट लगायतका क्षेत्रमा युवाहरु केरा खेती विस्तार प्राथमिकता दिएर अघि बढाएका छन् । विकले न्यु कालीगण्डकी कृषि फर्म मार्फत ९ रोपनी जग्गामा र कटुवालले आरम्भ कृषी तथा पशु फार्मबाट १२ रोपनी जग्गामा मुख्य ब्यवसायको रुपमा गरेको केराखेतीबाट आम्दानी सुरु गर्नुभएको छ। कटुवालले केरासंगै केरालाई आवश्यक पर्ने मलका लागि कुखरापालन गरेका छन् ।


केराका लागि रघुगंगाको तल्लो भू–भाग केराखेतीको लागि उपयुक्त भएको कारण बाउँबाझेले घरायसी प्रयोजनका लागि केरा खेती गरेका थिए । पछिल्लो समय त्यही केरालाई विस्तार गर्दै मुख्य आम्दानीको स्रोतको रुपमा अघि बढाएको कृषक बलबहादुर विकले भन्नुभयो । “यहाँ स्थानीय मालबक, नङ्ग्रे, मुरे, ध्रुसे लगायतका नामका केराहरु लगाएका छौ, बर्षपिच्छे उत्पादन भएका विरुवालाई विस्तार गरिरहेका छौ ।”
घर नजिक स्थानीय सरकारले सडक पहुँच पु¥याएपछि उत्पादन भएको केरालाई बैसरी, गलेश्वर, बेनी, मुस्ताङ लगायतको बजारमा बढाउदै आएको छौ। केरा विक्रिबाट बार्षिक रुपमा डेढ लाख आम्दानी विकले गरेका छन् । केराहरु विस्तार गरेको हुदाँ आगामी दिनमा आम्दानी बढ्ने छ । केरा बेचेपछि केराको बोट बंगुरले खान्छ, बंगुरको मोल केराका लागि बनाउन यस बर्षदेखि ब्यावसायिक रुपमा बंगुरपालनपनि सुरु गरेको विकले भन्नुभयो। उँहाको फर्ममा बंगुर ७ वटा छन् ।


ब्यवसायिक केरा लगायतको पशुपन्छी पालनमा सिचाईको अभाव भएको छ । ‘ब्यवसायिक केरा खेतीमा सिचाईको अभाव छ, पानीको मुल छ, मुलसम्म सिचाईका लागि पाईपमा एक्लै लगानी गर्न ग्राहो छ, तीन चार जनाले लगानी गरेको कृषिमा गाउँपालिका र कृषि ज्ञानकेन्द्रले अनुदानको रुपमा सिचाई ब्यवस्थामा ध्यान दिन आवश्यक छ,’ उहाँले भन्नुभयो – “पाईपको अभावले मुलमा पानी खेर गहिरहेको छ, हिउदँमा प्राप्त मात्रामा खेतीमा सिचाई गर्न पाएका छैनौ । बास्तविक कृषकतर्फ भएका समस्यामा सरकारको ध्यान जानपर्छ।” ब्यवासायिक कृषि र पशुपालनलाई अघि बढाउन सुलभ ऋण बास्तविक कृषकलाई दिन मिल्ने ऐन नियम बनाउन सरकार समक्ष आग्रह गरेका छन् । सरकारले कृषकका लागि सुलभ ऋण भनेपनि बास्तविक कृषक भन्दा झोलामा कृषि फर्म, बजारमा घर घडेरी र पहुचवालाले मात्र पाएको कृषकको गुनासो बढेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l