सडक पुगेपछि गाउँका दैनिकी फेरिदै

  • १४ पुष २०७८, बुधबार
  • 721 पटक पढिएको

 

म्याग्दी, १४ पुस । केही वर्ष अघिसम्म खच्चडलाई भारी बोकाएर खर र बुट्यानलाई समात्दै पार गर्नुपर्ने भीर र पहराको गोरेटो बाटो अब भने देख्न पनि मुस्किल हुन थालेको छ । पश्चिमी र उत्तरी म्याग्दीका भीर र पहरालाई छिचोलेर निर्माण गरिएका सडकमा मोटर गुड्न थालेपछि स्थानीयवासीको दिनचर्या परिवर्तन भएको छ । विकास र सुविधाको पहिलो आधार नै सडक भएको स्थानीयवासीले महसुस गर्न थालेका छन् ।

भारी बोक्ने भरिया र खच्चड विस्थापित भएका छन् भने खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएकले पेशा परिवर्तन गरेका छन् । उत्तरी म्याग्दी पर्यटकीय क्षेत्र पनि भएकोले केही ठाउँमा पदमार्ग विस्तार गरिए पनि अधिकांश ठाउँमा सडकको पहुँच पुगेको छ ।

धौलागिरि आधार शिविर रहेको पश्चिमी म्याग्दीमा पनि धौलागिरि गाउँपालिका–१ गुर्जा बाहेक अरु ठाउँमा सडकको पहुँच पुगेकाले भारी बोकाएर व्यवसाय गरेर जीविकोपार्जन र आयआर्जन गर्दै आएका धेरैको पुस्तौनी पेशा फेरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

पहिले यो मार्गमा भरियाले खाद्यान्नलगायतका दैनिक उपभोग्य बस्तु बोकेर माथिल्लो क्षेत्रमा पु¥याउथे । पछि यो काम खच्चडले गर्न थाले । भरियाको तुलनामा खच्चडले धेरै सामान बोक्ने भएकाले धेरै व्यवसायी यतातिर आकर्षित थिए । तर, त्यो पनि अब सडकले थप सुविधायुक्त बनाएको उनको भनाइ छ ।
दुई पुस्तासम्म खच्चडमार्फत ढुवानी गर्दै आउनुभएका मुदीका खमबहादुर विकले अहिले खच्चड बेचेर जीप खरिद गरेका छन् । पहिला पहिला खच्चड खेद्दै भीरको बुट्यानमा झुण्डिएर आवतजावत गरेको बाटोमा अहिले गाडी गुडाउन पाउदा विकलाई बेग्लै आनन्दको महसुस भएको बताउँछन् ।

दरबाङदेखि मुनासम्म र त्यसभन्दा अघि गुर्जासम्मको रुटमा सात वर्ष अघिसम्म खच्चडबाट सामान ढुवानी गर्दा र अहिले गाडी चलाउँदा धेरै फरक भएको छ । बेनी—दरबा–मुना सडक निर्माण भएपछि पश्चिम म्याग्दीको व्यापारिकस्थल दरबाङबाट तीन दर्जन भन्दा बढी गाउँमा ग्रामीण सडकको पहुँच पुगेको छ । ग्रामीण सडकको पहुँचसँगै त्यहाँका खच्चड व्यवसायीले पेशा परिवर्तन गरेका छन् । सडकमा अहिले साना ठूला गाडी गुड्छन् । सडक निर्माणसँगै पेशा परिवर्तन गर्न बाध्य भए पनि दैनिकी चलाउन सहज भएको ८ वर्ष अघिसम्म खच्चड व्यवसाय छोडेर अहिले गाडी चलाउँदै आएका रुमका जसबहादुर बूढाले बताए ।

सडक निर्माण भएर यातायातका साधन चल्न थालेपछि दैनिक उपभोग्य बस्तुको ढुवानीदेखि आवातजावत र बिरामी पर्दा अस्पताल पुग्न सहज हुन थालेको मालिका ६ देवीस्थानकी इन्द्रमति फगामीले बताए । सडकमा सवारी चल्न थालेपछि धवलागिरि, मालिका, मङ्गला, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई दैनिकी चलाउन सहज भएको छ । सडकका कारण दैनिक आवतजावतसँगै बिरामी पर्दा समयमै अस्पताल पुग्न सहज भएको मालिकाका श्यामबहादुर शेरपुजाले बताए ।