‘कालीगण्डकी बचाऔँ अभियान’ : ‘नदी सप्तक’ ५०औँ शृङ्खलामा

  • ८ पुष २०७८, बिहीबार
  • 1935 पटक पढिएको

बागलुङ, ८ पुस ।

‘हेरहेर तिम्रा पुर्खाको सभ्यता कहाँबाट सुरु भयो
बुझबुझ तिमी यहाँसम्म आइपुगेको कुन–कुन नदी तर्दै हो ? ’

कवि साम्ब ढकालले ‘नदी भञ्जकहरूका नाममा’ कवितामार्फत यो प्रश्न गर्नुभएको हो । उहाँ सोध्नुहुन्छ,

नदीमाथि हुर्केको नदी सभ्यता वेमाख पार्दै
आज नदी भञ्जकहरुले विजयोत्सव मनाइरहेछन्

नदी भञ्जकहरुलाई एउटा यक्ष प्रश्न
के नदी सकिँदा तिमीहरुचाहिँ बाँच्छौँ र ?

नदीमाथि मानवजातिले निम्ताइरहेको सङ्कटको सजीव वर्णनका साथै दोहनचक्र मच्चाउनेहरुका निम्ति साबधान गराएको यो कविता हेटौँडाका कवि ढकालले ‘नदी सप्तक’ कविता शृङ्खलाका लागि यो कविता रच्नुभएको हो ।‘कालीगण्डकी बचाऔँ अभियान’ले गत असोज २ गतेदेखि आरम्भ गरेको त्यस शृङ्खलाको यो ५०औँ कविता हो । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘कालीगण्डकी’ कविताजस्तै ‘नदी सप्तक’ शृङ्खला तय भएको थियो ।

त्यसयता देशका नामुद कविका नदी पक्षधर कविताका बलमा ‘नदी सप्तक’ अघि बढिरहेको छ । त्यसकै पछिल्लो अनुक्रम हो, कवि ढकालको ‘नदी भञ्जकहरुका नाममा।।।।’
हिमालय क्षेत्रको पवित्र र महान् नदी कालीगण्डकीे संरक्षणका लागि सङ्घर्षरत अभियानले सिर्जनामार्फत रचनात्मक दबाब बढाउन ‘नदी सप्तक’ कविता शृङ्खला चलाएको हो । अभियानले नदीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रूपमा अनलाइन, सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरूपमा सम्प्रेषण गरिरहेको छ । कालीगण्डकीको वैभव र महिमादेखि नदीले भोगिरहेको सङ्कट र बेदना काव्यमा मुखरित भइरहेको अभियानकर्मी आरके अदिप्त गिरी बताउनुहुन्छ । कालीगण्डकी संरक्षणमा देशभरबाट कवि तथा लेखकहरूले एक्येबद्धता जनाइरहेको उहाँको भनाइ छ ।

उक्त शृङ्खलामा सयभन्दा बढी कविका रचना समावेश हुनेछन् । अभियानले खुलारूपमा कविता आह्वान गरेको छ । प्राप्त कविता डिजिटल माध्यमको सहारामा जनस्तरमा प्रसार भइरहेका छन् । कालीगण्डकीमाथि भइरहेको निर्मम दोहन रोक्न अभियानले रचनात्मक तबरले दबाब बढाइरहेको छ ।

“कालीगण्डकीको दुःख, बेदना भन्न काव्यको सहारा लिनुपरेको हो”, अभियानकर्मी गिरी भन्नुहुन्छ, “यो कुनै सस्तो भावना र आर्दशको मुद्दा होइन, एउटा जागरण हो, आन्दोलन हो, हामी चाहन्छाँै यस किसिमका कविता कहिल्यै लेख्न नपरोस् ।” काव्यको शक्तिलाई कम नआँक्न र प्राकृतिक सम्पदा संरक्षणको मुद्दामा सबै पक्ष जिम्मेवार बन्न उहाँ आग्रह पनि गर्नुहुन्छ । नदीको मुद्दा सिर्जनशील ढङ्गले मुखरित भइरहेकामा तमाम कवि, लेखक र पत्रकारप्रति अभियानले आभार प्रकट गरेको छ । मुलुकका दिग्गज कवि, लेखकका आवाजलाई राज्ययन्त्र र दोहनकारीसम्म पु¥याउनु ‘नदी सप्तक’ कविता शृङ्खलाको उद्देश्य रहेको अभियानले जनाएको छ । कालीगण्डकी नदीमाथि चलिरहेको विनाशलीलाको विरोधमा हरेक सचेत नागरिक जुर्मुराउनुपर्ने स्थिति आएको अभियानको ठहर छ ।

हरेक खाले परिवर्तनका क्षणमा कवि तथा लेखकका योगदानको गौरवपूर्ण स्थान रहेको जनाउँदै अभियानकर्मी गिरी कालीगण्डकी संरक्षणमा जोडिएर सर्जकहरुले अर्को महत्वपूर्ण अभिभारा निर्वाह गरेको टिप्पणी गर्नुहुन्छ । देशभरका प्रतिनिधि स्रष्टाका नदी पक्षधर कवितालाई पछि ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गर्ने अभियानको योजना छ ।कालीगण्डकी संरक्षणमाथि कोरिएका कविता र गीत बौद्धिक सम्पत्तिका रुपमा भावी पुस्तासम्म बाँचिरहने अभियानका सदस्य सज्जनकुमार सिंह बताउनुहुन्छ । उहाँका अनुसार यसै सिलसिलामा जोडिएर अभियानले ‘ए कालीगण्डकी।।।’ बोलको गीत पनि छिट्टै सार्वजनिक गर्दैछ ।

प्रसिद्ध कवि श्रवण मुकारुङको रचना र सङ्गीतमा तयार भएको उक्त गीतमा लोकप्रिय गायक कर्ण दासले स्वर दिनुभएको छ । “तत्काललाई गीतको लिरिकल भिडियो सार्वजनिक गर्ने तयारीमा छौँ, पछि स्तरीय भिडियो नै बन्छ”, उहाँ भन्नुहुन्छ । यहाँका नदी र पर्यावरणप्रेमी स्वयंसेवी युवाहरु निस्वार्थ ढङ्गले अभियानमा हेलिएका छन् । बालुवा र गिट्टी उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको दोहनको चक्र सबै मिलेर तोड्नुपर्नेमा उनीहरुको एकस्वर छ ।

यथाशक्य चाँडो नदीलाई प्राकृतिक स्वरूपमै नफर्काउने हो भने कालीगण्डकीको अस्तित्व नै नामेट हुने अभियानकर्मीहरूका तर्क छ । स्वभाविक प्रणालीमै धक्का पुग्ने गरी मनपरी किसिमबाट भइरहेको दोहनले मानवजाति र प्रकृतिमाथि सङ्कट निम्तने खतरा छ ।

गिट्टी र बालुवाका लागि खानीको विकास गर्नुपर्ने, ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने अभियानकर्मी गिरीको सुझाव छ । धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि कालीगण्डकी जोडिएको छ । ठूला उपकरणको सहायतामा भइरहेको उत्खननले नदीलाई प्राकृतिक स्वरुपमा बग्न बाधा गराएकोे छ ।

राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै मनपरी ढङ्गले नदी दोहन भइरहेको हो । दोहनकै कारण कालीगण्डकीमा मात्रै पाइने दुर्लभ शालिग्राम लोपोन्मुख स्थितिमा पुगेको छ । मुक्तिनाथबाट देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटोन्मुख छन् ।