उनधागोबाट हस्तकलाका सामान बनाउने सीपबाट आत्मनिर्भर गराउने तयारी
- १८ जेष्ठ २०८३, सोमबार
- 7 पटक पढिएको
म्याग्दी १८ जेठ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका महिलाहरूलाई उनधागोबाट विभिन्न हस्तकलाका सामग्री निर्माण गर्ने सीप प्रदान गरिएको छ। रत्नेचौर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सञ्चालन भएको १० दिने तालिममार्फत महिलाहरूलाई लघु उद्यम तथा आयआर्जनका गतिविधिसँग जोड्दै आत्मनिर्भर बनाउन लागिएको हो ।
तालिममा सहभागी महिलाहरूले उनधागो प्रयोग गरेर विभिन्न प्रकारका झोला, मोजा, लाछा लगायतका आकर्षक हस्तकलाका सामग्री बनाउने व्यावहारिक सीप हासिल गरेका छन्। तालिमका प्रशिक्षक मिना पुनले उन धागोको सामग्री छनोट, डिजाइन तयार गर्ने, बुनाइ तथा उत्पादनको गुणस्तर व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञानसमेत प्रदान गर्नुभएको थियो ।
तालिममा २४ जना महिलाहरुले सहभागीता जनाएका थिए । तालिममा सहभागी भएका महिलाहरुलाई प्रमाणपत्र वितरण गर्दै वडा अध्यक्ष टेकबहादुर थापाले घरेलु तथा साना उद्योगमार्फत महिलाको आर्थिक सशक्तीकरणमा टेवा पु¥याउन तालिमले सहयोग पुग्ने बताउनुभयो । तालिमबाट प्राप्त सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी महिलाहरूले घरमै बसेर आम्दानी गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा उपसचिब क्षेत्रबहादुर भण्डारीले सीप सहितको सिकाईले मात्रै समुदायमा आत्मनिर्भरताको सिर्जना गर्ने बताउँदै तालिममा सिकेका ज्ञान, सीप र क्षमतालाई निखार ल्याउँदै व्यवसायिकतामा अगाडी बढ्न आग्रह गर्नुभयो ।
सहभागी महिलाहरूले तालिमबाट नयाँ सीप सिक्न पाएको र भविष्यमा हस्तकलाका सामग्री उत्पादन गरी आयआर्जन गर्न प्रेरणा मिलेको बताएका छन्। स्थानीय स्रोत र सीपको उपयोग गर्दै स्वरोजगार सिर्जना गर्न यस्ता तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
रत्नेचौर सिकाई केन्द्रले महिलाहरुलाई लक्षित गरी विभिन्न उद्यमशिलताका तालिमहरु सञ्चालन गर्दै आएको छ । गत बर्ष बुके तथा झुमर बनाउने तालिम प्रदान गरिएको सिकाई केन्द्रका परिचालक सम्झना पुनले जानकारी दिनुभयो । श्याम बहादुर रोकाको अध्यक्षता, मनु रावलको स्वागत मन्तव्य र गिता किसानले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन परिचालक पुनले गर्नुभएको थियो ।
