ढोरपाटनमा सकियो पहिलो शिकार याम : तोकिएभन्दा कम शिकार

  • २१ मंसिर २०७८, मंगलवार
  • 1682 पटक पढिएको

बागलुङ २१ मंसिर । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यस वर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो । पहिलो शिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो ।

झारल तोकिएकोभन्दा तीनवटा कम र नाउर तोकिएकोभन्दा एकवटा कम शिकार भएको हो । एक झारल र एक नाउरको अनुमति प्राप्त गर्नुभएका रुसी नागरिक इभिजिनी सिरोक्यो शिकारका लागि नआएकाले शिकार हुन नसकेको हो । उहाँले हिमालयन वाइल्डआउटफिटरमार्फत शिकार अनुमति लिनुभएको थियो । व्यक्तिगत कारण देखाउँदै शिकारका लागि नआएको सञ्चालक शेरबहादुर वाइवाले जानकारी दिनुभयो । उहाँले सुन दहमा एक नाउर र एक झारलको शिकार गर्ने अनुमति लिनुभएको थियो । पहिलो शिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर र ओभिन एन्टोनी नोयलले सेनब्लकमा एक नाउरको शिकार गर्नुभयो । तर फागुने ब्लकमा एक झारलको सिकार गर्न उहाँहरु चुक्नुभएको शिकार आरक्ष कार्यालयले जनाएको छ ।

हिमालयन सफारीमार्फत मेक्सिकाली नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको शिकार गर्नुभयो । मेक्सिकाली नागरिक कार्लाेसले सेन ब्लकमा एक नाउर मारे पनि झारलको शिकार गर्न सक्नुभएन । ट्र्याक एन्ड ट्रभाल्सले दुईजना युक्रेनी नागरिकलाई शिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको शिकार गर्नुभएको शिकार आरक्षको तथ्याङ्क छ । ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा पुग्नुभएको स्पेनी नागरिक जोएक्वाइन बेन्जिमेनले एक नाउरको शिकार गरेको ढोरपाटन शिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । स्पेनी नागरिक मुगलले पनि सोही ब्लकमा नाउरको शिकार गर्नुभएको थियो ।

चे रिपब्लिकन नागरिक रोमनले सुनदह ब्लकमा एक झारल र एक नाउरको शिकार गरेको ग्लोबल सफारीका सञ्चालक शमशेर पराजुलीले बताउनुभयो । ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् । शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्न पाउँछन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । हरेक वर्ष कात्तिक÷मङ्सिर र चैत÷वैशाखमा पहिलो र दोस्रो यामको शिकार हुने गरेको छ । गत वर्ष कोरोना महामारीका कारण यहाँ शिकार पर्यटन प्रभावित भएको थियो । उमेर पुगेका नाउर र झारलको गणना गरेर आरक्षले शिकारका लागि योग्य वयस्कको तथ्याङ्क निकाल्ने गरेको छ ।