वैज्ञानिक समाजवादका लागि कम्युनिष्ट एकता : नेकपा महासचिब विप्लव (तस्बिर/ भिडियाे)

  • ८ मंसिर २०७८, बुधबार
  • 681 पटक पढिएको

बेनी ८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द ‘विप्लव’ले मुलुकमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति कम्युनिष्ट एकता आबश्यक रहेको बताउनुभएको छ । पार्टीको मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बुधवार म्याग्दी सदरमुकाम बेनीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।


माओवादीसंग पार्टी एकता हुने भनेर सञ्चार माध्ययमहरुमा आएको समाचारहरुप्रति टिप्पणी गर्दै महासचिब विप्लबले नयाँ विचार, सिद्धान्त र दृष्टिकोणमा अघि बढ्न सहमत भए मात्रै एकता सम्भव भएको बताउनुभयो । ‘‘ आजनै, भोलीनै पार्टी एकता हुन्छ जस्तो कुराहरु बाहिर आएका छन, त्यो सत्य होइन, प्रचारको लागि एकता हुने पनि होइन, एकता त वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य, उदेश्य र बिचारमा सहमत भएमात्रै सम्भव हुने हो’’–उहाँले भन्नुभयो ।


उहाँले माओवादीहरुको एकता देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्न खोजेमात्रै सम्झ हुने धारणा राख्नुभयो । ठुलो पार्टी बन्न, चुनाब जित्न र प्रधानमन्त्री, मन्त्री बन्नका लागि पार्टी एकता नहुने बताउँदै वैज्ञानिक समाजवादका लागि कम्युनिष्टहरु बिच एकता आबश्यक रहेकोमा जोड दिनुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संरक्षक बसेर अब क्रान्ति हाँक्ने जिम्मा आफुहरुलाई दिन प्रस्ताब गरेको उहाँको भनाई थियो ।


उहाँले गरिब, मजदुर, किसान, सुकुम्बासी लगायत उत्पीडित समुदायका सच्च कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको बताउँदै वैज्ञानिक समाजवादका निम्ती निरन्तर संघर्ष गर्ने बताउनुभयो । मुलुकलाई अहिलेको अवस्थामा ल्याउनका लागि पनि धेरै ठुलो संघर्ष, त्याग र समर्पणहरु भएको स्मरण गर्दै नेता विप्लवले संघर्षको मैदानबाट बिजयको सपना देख्न छाड्न नहुने बताउनुभयो ।

 

 

‘‘धेरै युवाहरु निरास भएको देख्छु, निरास होइन आसा र भरोसा देख्नुपर्छ, संघर्षका निम्त तयार हुनुपर्छ, जनतामा निरन्तर जोडिनुपर्छ’’–उहाँले भन्नुभयो ।


संसदीय व्यवस्था दलाल पुँजीपति बर्गको प्रभुत्व रहने भएकाले नेपालमा असफल भैसकेको बताउँदै आफ्नो पार्टीले अघि सारेको जनताको शासनका निम्ती जनमत संग्रह मार्फत वैज्ञानिक समाजवादलाई स्थापना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । ‘हामी शान्तिपूर्ण प्रतिस्पर्धाबाट भागेका होइनौँ, हामीले यो व्यवस्था नै असफल भएकाले नयाँ व्यवस्थाका निम्ति जनमत संग्रह गरौँ भनेका छौँ, हिजोका दिनमा पनि नेपालमा पञ्चायत ठिक कि बहुदल भनेर जनमतसंग्रह भएकै थियो, हामीले पनि व्यवस्था रोज्ने अधिकार जनतालाई दिउँ भनेका छाँै’’– विप्लवले भन्नुभयो ।


शान्तिपूर्ण राजनीति गरेकै अवस्थामा तत्कालिन सरकारले प्रतिबन्ध लगाएको बताउँदै अघिल्लो बर्ष सरकारसंग भएका तीन बुँदे सहमती कार्यान्वयन गर्न सरकार पछि हटेको उहाँले गुनासो गर्नुभयो । सहमती अनुसार, राजनीतिक मुद्धामा जेलमा रहेका नेता कार्यकर्ताहरुको हिराई गर्ने उल्लेख भएपनि एक बर्ष वितिसक्दा समेत सयौँ नेता कार्यकर्ताहरुलाई झुटा मुद्धा लगचाएर जेलमा राखिएको भन्दै उहाँले सहमती पालना गर्न सरकारलाई आग्रह गर्नुभयो ।