जेसीज सम्मेलन पालुङ यात्रा र बाईरोड किङ

  • १७ कार्तिक २०७८, बुधबार
  • 130 पटक पढिएको

सन्दीप खत्री
विहानको ५ बज्नै लागेको रहेछ “नौविसे, आयो नौविसे” ल अगाडी आउनु त भन्ने आवाजले निन्द्रा खुल्यो । निन्द्रा खुल्यो त के भन्नु विहानपख भएकाले होला भुपुक्क निन्द्रा पर्न लागेको थियो, व्युझिहाले । वसले नौविसेमा झारिदियो, अध्यारो चिरेर उज्यालो क्रम जारी थियो, त्यसैले चोकै अगाडीको पसलमा चिया खान छि¥यौ । यात्रा पालुङसम्मको थियो, नेपाल जेसीज क्षेत्र “ख” सम्मेलनमा सहभागीताका लागि । नौविसेबाट पालुङ जान गाडी सहज रुपमा नपाईने रहेछ । साथीहरुको पनि गाडी सहज नपाउने सुझाव अनुसार गाडीको व्यवस्था त गरेका थियौ तर ४० किमि बाटोमा भाडा झन्डै ५५ सय भनेपछि मंहगो लाग्यो । रुटको गाडी विहान ८ बजेपछि मात्र आउने कुरा सुनाए चियापसले दाइले । ८ बजेसम्म बस्नु भन्दा महंगो भएपनि ट्याक्सीमा जाउँ भन्ने योजना बन्यो । चिया पसलले दाईले यात्रा असहज नहुने भए ट्रकमा जान सुझाए, र ट्रक आएपछि रोकिदिने बताए । रातभरीको अनिदो अनि हिडाइको थकाईले ट्रकमै भएपनि हिडीहालौ भन्ने लाग्यो ।


भाद्र १९ गते हामी बेनीबाट पालुङका लागि साँझ ५ बजेमात्र हिड्यौ । तयारी त विहानै जाने थियो तर विविध कारणले साँझ प¥यो । कुस्मा पुग्दा झन्डै साढे ६ बजेको थियो । केही दिन अगाडी आएको पानीले बाटो क्षतविक्ष्त थियो । कुस्मा शसस्त्र प्रहरीको चेकीङ पोष्टदेखि हिड्नु पर्ने रहेछ । चुवाको गाउँ हुँदै अगाडी बढ्नु पर्ने । रात झमक्कै प¥यो, हातमा भएको मोवाईलको उज्यालोको साहारा लिएर अगाडी हिड्यौ । पंक्तिकार, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल, म्याग्दी जेसीजका महासचिव दिनेशकुमार विश्वकर्मा, सहसचिव दिनेश बानियाँ थियौ टोलीमा भने शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठ भोलिपल्ट आउने कुरा भयो । सुजनजीलाई हिडाइमा निकै मुस्किल भयो, ओराले र हिलोले गर्दा ।

दोविल्लाको खोला तर्नेबेलामा चकमन्न अध्यारो भइसकेको थियो । कुनै यस्तो एउटा यस्तो ठाउँ भेटिएन जहाँ बाटो अवरुद्ध नभएको होस्, पहिरो नगएको होस् । सडक कहाँ छ, कुनै पत्तो थिएन, गेगर, हिलाम्मे अनि पानीको ताल मात्र । अध्यारो भएकाले माथिबाट कतिबेला पहिरो झर्छ पत्तै थिएन, ढुङ्गा भनेर टेक्यो झ्वाम्म पानीमा खुट्टा, त्रास कै विच झन्डै ३ घण्टाको हिडाइपछि पातीचौर आईपुग्यौ । २० गते विहानमै कार्यक्रम भएकाले जसरी पनि त्यही राती हिड्नै पर्ने थियो । बेनीबाटै हामी १० जना एउटै जीपबाट गएका थियौ । काठमाण्डौं जाने एउटा मात्र वस रहेछ, त्यो पनि भोलि विहानको पालो कुरी बसेको । हामी १० जना, पोखरा जाने अन्य मान्छे भएपछि बस सोही रात नै काठमाण्डौं जान तयार भयो । त्यसपछि मन अलि शान्ति भयो । जसका कारण नौविसेमा चिया खाँदै थियौ ।

चिया खाँदै थियौै एउटा ट्रक आईपुग्यो, “द रियल रोड किङ” लेखेको । हामीजस्तै अरु पनि ४,५ जना ट्रक कुरेर बसेका रहेछन । उनीहरु भन्दा पहिला झोला सहित ट्रकमा हामी पुग्यौ, त्यसैले चढ्न पायौ । भाडा कति हो गुरुजी ? उनले चलेको रेट दिनुहोस् भने, स्थानीयलाई सोध्दा प्रति व्यक्ति रु २०० रहेछ । जुत्ता चप्पल ढोका छेउनेर राखेर पलेटी कसेर बस्ने पर्ने रहेछ । ट्रक भित्रको प्रवेश पहिलो पटक भएकाले नौलो लाग्दै थियो । खाना पकाउने, खाने एक सेट भाडाकुँडा, ग्यास चुल्हो सेट, मच्छेडको झुल, ओड्ने कपडा, सानो पंखा टाँसेको एउटा बेडरुम भन्दा कम थिएन । बेग्लै संसार जस्तो लाग्ने यो रुमका मालिक थिए, रोडकिङ उर्फ धुव्र पण्डित । उमेर २८ वर्ष, हंसिलो अनुहार, पातलो शरिर, रातभरीको ड्राईभिङले राताराता आँखा, जिगरिङ्ग भएको कपाल, बाटाको चप्पलमा हाफ पाईन्ट अनि टिसर्ट त्यो पनि कुममाथि तानेका पसिण्डत काठमाण्डौ सामान लगेर फर्केका रहेछन् ।

गाडी स्टार्ट गरे, ट्रिट ट्रिट गरेर हर्न बजाए अनि थोरै पछि ल्याएर स्वाट्ट हुईकाए, हामी पनि हुत्तियौ । सुरुमै घुम्ती रहेछ फनक्क गाडी घुमाए, त्यो पनि फुल स्पिडमा डर लाग्ने गरी । यात्राको केही समय कोही बोलेनौ चुपचाप सवारी चलाईरहे पण्डित । ट्रक यसरी कुदाएकी हाम्रो सात्तो नै गयो । एक त अत्यन्तै साँघुरो सडक, त्यसमा ध्रुव पण्डितको स्पिड, फनक्न फनक्न स्टेरीङ घुमाउँदा झसंग झसंग बनाउने । साथी सुजनले साथी स्टन्ट नदेखाउनुस् विस्तारै जाउँ भनेपछि अलि स्पिड कम गरे । सानोमा धेरै सुनेको गीत “बाईरोडमा गुड्यो मोटरकार” भन्ने गीतको स्मरण भयो । अनि सुरु भयो ध्रुव पण्डितको कहानी । गाडीको सहचालक हुँदै ट्रक चालकसम्म भएको कहानी सुनाउन भ्याए ।

सुजन र ध्रुवको कुराकानी चल्दै गयो । हेटौडाका रहेछन् पण्डित, उनलाई अति नै माया गर्ने शिक्षक रहेछन् चितवनका गोकुल सर । सुजनले हामी चिन्छौ नी गोकुल सर के भन्न भ्याएका थिए, आफ्नो गायनमा ठूलो इच्छा रहेको, गोकुल सरको प्यारो विद्यार्थी रहेको, आफूलाई असाध्यै माया गर्ने जिकिर गरे, गोकुल सरको निर्कै प्रशंसा गरे । झण्डै १२ वर्षको उमेरमा हेटौडामा जिल्ला स्तरीय गायन प्रतियोगितामा प्रथम भएका रहेछन्, त्यो समेत सुनाए । केही माथि पुगेपछि उनको चिया खाने स्टेशन आईपुग्यो, ट्रक टक्क रोकियो । हामीलाई पनि चिया खान अनुरोध गरे, नौविसेमा चिया नास्ता गरेकाले नखाने बतायौ । उनी ट्रकबाट ओर्लिए अनि साहुनीलाई नमस्कार दर्साए । मुख धोए, चिया खाए, अनि एक खिल्ली चुरोट ओठमा च्यापेर चियाको चुस्कीसँगै धुवा उडाँए, उनको अनुहारको भाव हेर्दा लाग्थ्यो उनीपनि धुवाँसँगै उडीरहेका छन् । नजिकै एउटा गाडी विग्रीएर बनाउने मान्छे नपाएर रोकिएको रहेछ । नजिकै गाडी मर्मत गर्ने ठाउँ रहेछन । गाडीको समस्या पत्ता लगाएर चिनेको मेकानिकलाई फोन गरी बोलाईदिए ।

अनि फेरि हुईकिए आफ्नै रफ्तारमा । चोक चोकमा, चिनेको चिया पसलमा ट्वा ट्वा पार्दै हर्न बजाउँथे, अनि भन्थे, सोल्टीहरुलाई जानकारी दिएको, अनि लामो हाँसो छाड्थे हा…..हा……हा……हा….. । घरमा श्रीमती र छोरी रहेछन् । पारिवारीक कुरा समेत सुनाए । कुराकानीकै क्रममा उनी म्याग्दी समेत आएका रहेछन्, अन्नपूर्ण गा.पा.मा सञ्चालित हाईड्रोहरुमा सामान छाड्न । त्यसले पनि अझ सामिप्यता बढायो । सामान लिन चिनदेखि भुटानसम्म पुगेका रहेछन् । झण्डै ८ महिना अगाडी मात्र हामी चढेको ट्रक किनेका रहेछन्, उनको भाषामा त्यसलाई “डब्बा” भन्दा रहेछन् । रातभरको अनिदोले होला सुजन निदाए । एकछिन वातावरण शान्त भो । सुस्त सुस्त उनी गीत गाउन थाले, अनि मैले एउटा गीत गाउन अनुरोध गरे, अनि सुरु भयो ध्रुवको गायन । नारायण गोपालदेखि पछिल्लो पुस्ता निशान भट्टराई, प्रताप दाससम्मको गीत गाए, पप गायक सविन राईदेखि हिन्दी गीत सम्म सुनाए । नेपाल आईडल पहिलो सिजनमा टप १९ सम्म पुगेका रहेछन् । साँच्चै उनको स्वरमा मिठास थियो, दिनेश भाइ र मैले केही क्लिप भिडीयो समेत खिच्यौ । उनको गीतको तालमा कतिबेला टिस्टुङ भन्ने ठाउँमा आईएछ पत्तो भएन । त्यहाँबाट ६ किलोमिटर पर रहेछ पालुङ । त्यही पारी डाँडामा रहेछ, उनको ससुराली कुन्ने के ठाउँ पो भन्दै थिए । “मेरो नेपाल, मेरो नेपाल” भन्ने गीत गाउँदै ट्रक ओराले लाग्यो, उनले घाटी फुलाउँदै गाउन थाले, स्टेरीङबाट हात छोडेरै गाउन थालेपछि फेरि सातो खाए, एक दुई ठाउँमा । हामीले गीत गाएपनि स्टेरिङ नछाड्न अनुरोध ग¥यौ, उनले आफु बाईरोडको किङ भएको बताए । मलाई साथीभाइले वाईरोडको किङ भन्छन्, आँखा चिम्म गरेर कुन ठाउँ आयो भन्न सक्छु, छड्के नजरले गाडी हाक्न सक्छु । त्यसैले मलाई रोडकिङ भन्छन् । उनको चलाई देख्दा हामीलाई पनि हो जस्तै लाग्यो ।

ट्रकमा एक्लै हिडीरहने मनको बह पोख्ने मान्छे नपाएकाले होला सायद उनीहामीसँग पोखिएको । वर्षौदेखि मनमा गुम्सीएका बहहरु खोले । आफ्ना जिवनका संघर्षका कथादेखि गायन क्षेत्रमा आफ्ना रुचि, क्षमता समेत देखाए । सायद उनले एक्कै आफैसँग कुरा गर्दै यात्रा गर्दा हुन् यही कल्पना मैले । सहचालक राख्न पर्दैन ? उनले भने जावो डब्बामा पनि के साथी राख्नु । हामी पनि उनीसँग प्रभावित भयौ । एक अनजान ट्रक ड्राईभर झन्डै ४० कि.मि. दुरी पार गर्दा वर्षौ पुरानो परिचित, सम्बन्ध भएजस्तो साथी ध्रुवेको रुपमा परिणत भयो । उनको कुराकानीको सरलपन, आत्मियता साँच्चै जिवनमा यात्राको क्रममा धेरै मान्छे भेटिए तर धु्रव पण्डित कमै भेटिए । “केही मिठो बात गर, रात त्यसै ढल्किदै छ, भरे फेरि एकान्तमा रुनु त छदैछ” भन्ने नारायण गोपाल गीत गाउँदै पालुङ ल्याईपु¥याए । साथीहरुले फोनमा सुझाए अनुसार ठ्याक्क रोकिने ठाउँमा ट्रकको ब्रेक अठ्ठाए, हामी ट्रकबाट झ¥यौ ।
हामी त आजको हाम्रो गन्तव्यमा आईपुग्यौ, तर धु्रव पण्डितले स्टेरीङ घुमाउँदै कहाँ कहाँ पुग्नेछन् । हामी पाँच जना थियौं भाडा दिनुपर्ने १ हजार थियो तर लिन मानेनन् र ५ सय मात्र लिए । उनीप्रति झनै आदरभाव बढेर गयो । सहयोगी भाव, आत्मीयताले स्मृतिमा कहिल्यै पनि नमेटीने गरी छाए ध्रुव पण्डित । उनका खातिर, उनको सम्झनामा केही शब्द व्यक्त गर्ने अठोट गरे । सम्भवतः अब धु्रव पण्डितसँग भेट हुँन्छ वा हुँदैन पनि होला, कतै भेट्ने मानोकांक्षा सहित छुट्यौ । विदाइका हात हल्लायौ । हामी कार्यक्रम स्थलतर्फ लाग्यौ, उनले आफ्नै धुनमा ट्रक हुइक्याए, ट्रक केही अगाडी पुगेपछि देखियो, लेखिएको थियो, “फेरि भेटौला…….”