पूर्व विद्यार्थी केसीले गरे ज्ञानोदय माविलाई सहयोग

  • २९ जेष्ठ २०७४, सोमबार
  • धिरन खत्री
  • 5302 पटक पढिएको

म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविलाई पूर्व विद्यार्थीले सहयोग गरेका छन् । मौवाफाँट घर भई हाल जापानमा रहेका अनुपम केसी (रिजाल) ले विद्यालयलाई रु २० हजार बराबरको खेलकुद सामाग्रि र जर्सि सहयोग गर्नुभएको हो ।      

केसीले विद्यालयलाई उपलब्ध गराएको उक्त सहयोग विद्यालयमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । कार्यक्रममा सहयोगदाता केसीका बुबा शालिकराम रिजालले विद्यालयका प्रधानध्यापक निलकण्ठ सुवेदी र खेल शिक्षक दामोदर रिजाललाई सो सामाग्रि हस्तान्तरण गर्नुभएको थियो ।

सो क्रममा सहयोगदाता केसीका बुबा शालिकराम रिजाललाई विद्यालयका प्रअ सुवेदीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।


विद्यालयका पूर्व विद्यार्थी समेत रहेका केसीले विद्यालयका विद्यार्थीहरुको सहजताको लागि नेट, दुई थान बल, १४ थान खेलकुद पोशाक (जर्सी) लगायतका सामाग्री सहयोग गर्नुभएको हो ।

  सहयोगदाता अनुपम  केसी

सो सहयोगले विद्यालयको खेलक्षेत्रलाई ठुलो सहयोग मिलेको खेलशिक्षक दामोदर रिजालले बताउनुभयो । उहाँका अनुसार, केसी मार्फत प्राप्त जर्सि लगायतका खेलकुदका सामाग्रिहरुले विद्यालयमा सञ्चालित दृष्टिविहिन बालबालिकाहरुको खेलकुदमा समेत सहयोग पुग्नेछ ।

यसैबिच विद्यालयको लागि अन्य खेलकुदका सामाग्रीहरुको समेत अभाब रहेकाले विद्यालयले सहयोगको लागि सहयोगदाताहरुलाई आह्वान गरेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l