थाईवाङ आधारभुत विद्यालयको पुस्तकालय समुदायको जिम्मा

  • २९ जेष्ठ २०७४, सोमबार
  • 1701 पटक पढिएको

म्याग्दी, २९ जेठ । मंगला गाउँपालिका–१ थाईवाङस्थित थाईवाङ आधारभुत विद्यालयको पुस्तकालय आइतबार भब्य समारोहका विच समुदायमा हस्तान्तरण गरिएको छ। रुम टु रिड नेपालको आर्थिक तथा गाजा डेभलपमेन्ट फाउण्डेशनको प्राविधिक तथा ब्यवस्थापनमा २०७१ जेठ ३० गते विद्यालयमा स्थापना गरिएको पुस्तकालय समुदायमा हस्तान्तरण कार्यक्रमको मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि रोकाले पुस्तकालय विद्यालयको अतिरिक्त शैक्षिक केन्द्र भएको बताउँदै गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका पुस्तकालयलाई निरन्तर सञ्चालनको वातावरण बनाइने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले अभिभावक पहिलो शिक्षक भएकाले घरबाटै बालबालिकालाई पढ्ने बानीको विकास गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय म्याग्दीका स्रोत ब्यक्ति डेक बहादुर बानियाँले रुम टु रिडले उपलब्ध गराएको पुस्तकालयले विद्यार्थीको शैक्षिक गतिविधिमा उल्लेखनीय सहयोग पुगेको बताउनुभयो । सोही अवसरमा विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले विद्यार्थीलाई आत्मनिर्भर स्वतन्त्र पाठक बनाउने पुस्तकालयको स्थापना गरिएको बताउँदै एउटा विद्यालयमा ७ लाख बराबरको सहयोग गरिएको बताउनुभयो । कार्यक्रममा स्थानीय तहका निर्वाचित वडा र गाउँपालिकाका प्रतिनिधिलाई सम्मान समेत गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर गर्बुजाको अध्यक्षता, प्रधानध्यापक देवी पुर्जा मगरको चारबर्षे प्रगति प्रतिवेदन, शिक्षक टक माँया पुनको स्वागत र बलिभद्र गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा मंगला गाउँपालिका–१ का वडा अध्यक्ष क्याप्टेन डेक बहादुर राम्जाली, अभिभावक चिना रन्तिजाले मन्तब्य राख्नुभएको थियो । यसैविच बसुन्धरी निउरेको स्मृतिमा टकी गौतमले करिव २० हजार बराबरको ह्वाईट वोर्ड सहयोग गर्नुभएको थियो ।