मालपोत कार्यालय म्याग्दीबाट २ करोड ६२ लाख रुपैयाँ राजश्व संकलन

  • २१ श्रावण २०७८, बिहीबार
  • धिरन खत्री
  • 659 पटक पढिएको

बेनी, २१ साउन । मालपोत कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा २ करोड ६२ लाख १९ हजार ७७५ रुपैयाँ राजश्व संकलन गरेको छ। मालपोत कार्यालयका अनुसार घरजग्गा रजिष्ट्रेसन शुल्कबाट २ करोड ३८ लाख ६५ हजार ९५७ रुपैयाँ संकलन भएको छ । त्यस्तै नगर सुधार कोषबाट २३ लाख ५३ हजार ५१८ रपैयाँ संकलन भएको मालपोतका लेखापाल दिपक खत्रीले जानकारी दिनुभयो ।

कार्यालयमा जिल्लाका स्थानीय तहबाट आएका सेवाग्राहीले घरजग्गासम्बन्धी कारोवारबाट उक्त राजस्व रकम संकलन भएको लेखापाल खत्रीले जानकारी दिनुभयो । सेवा शुल्कअन्तर्गत पुर्जा, धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्क लगायतवाट राजश्व संकलन भएको मालपोत अधिकृत कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

रजिष्ट्रेसन शुल्क अन्तर्गतको राजश्व रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । जग्गा रजिष्ट्रेशनको संकलन राजश्वमध्ये १ करोड ४७ लाख ९२ हजार ७०१ रुपैयाँ प्रदेश र स्थानीय तहलाई बाँडफाड गरिएको जनाईएको छ । त्यस्तै नगर सुधार कोष बापतको बेनी नगरपालिकालाई ३५ लाख १७ हजार २५० रुपैया निकासा गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा ८० लाख राजश्व संकनल भएको थियो । कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले गरेको लकडाउनका कारण मालपोत कार्यालयको सेवा प्रवाह प्रभावित हुँदा राजस्व संकलनमा उल्लेख्य बृद्धि हुन नसकेको जनाइएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l