कालीगण्डकीको अवैध दोहन : ठेक्का नै नलगाएको खोलामा दिनहुँ एक्साभेटर

  • १३ श्रावण २०७८, बुधबार
  • 1018 पटक पढिएको

म्याग्दी १३ साउन ।बेनी नगरपालिकाले असार १ गतेदेखि नगरक्षेत्रमा रहेका म्याग्दी नदी र कालीगण्डकी नदीका बगरहरुबाट ढुंगा, गिटी, बालुवा उत्खनन तथा संकलन बन्द गराएको छ । अर्को व्यवस्था नगरेसम्मका लागि भनेर नदिजन्य पदार्थको उत्खनन र संकलनलाई रोक लगाईएको भएपनि नगरपालिकाको वडा नम्बर १ मा पर्ने कालीगण्डकी नदी किनारमा भने अवैध रुपमा बालुवा उत्खनन् गरि नदीको दोहन गरिएको छ ।

बेनपा–१ को ढोडेनीखोला, आनन्दबगर, सारेमारे लगायतका स्थानमा एक साता बढी समयदेखि शक्ति र पहुँचको आडमा केहि व्यक्तिहरुले धमाधम बालुवा उत्खनन् गरिरहेका छन् । ‘‘ खोलाको किनारमा बालुवाको थुप्रो पारिएको छ, दिउँसो जंगलमा लुकाएर राख्ने डोजर र एक्साभेटर रात र साँझ, विहान खोलामा लगेर बालुवा निकाल्न परिचालन गर्ने गरेका छन्,’’– स्थानीय एक  युवाले नाम नखुलाउने सर्तमा भने । उनका अनुसार, बर्खायाममा बस्ती नजीकका किनारमा जथाभावि उत्खनन् भएकाले नदी कटानको जोखिम बढेको छ ।

कालीगण्डकी नदी किनारमा दिनहुँ अवैध तवरले नदीजन्य पदार्थको उत्खनन् भैरहेको भएपनि सम्बन्धित निकायबाट निगरानी हुन नसकेको स्थानीयबासीको गुनासो छ । केहि स्थानीय युवाहरुको राजनैतिक पहुँचको आडमा मिलेमतोमा नदीको दोहन भएको स्थानीयबासीको आरोप छ । बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाले यस आर्थिक बर्षमा नदीजन्य पदार्थको उत्खनन्का निम्ती ठेक्का प्रक्रिया सूरु नै नभएको बताए । उनका अनुसार, नगरपालिकाले सूचना नै जारी गरेर असार १ गतेदेखि नदीजन्य पदार्थको उत्खनन् र संकलनमा रोक लगाईएको छ ।

तर बगरमा दिनहुँ एक्साभेटर र डोजर लगाएर बालुवा निकाल्ने काम रोकिएको छैन् । नदी किनारमा अवैध तवरले बालुवा उत्खनन् भएको गुनासो आएपछि मंगलवार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङ सहितको टोलीले स्थलगत अनुगमन गरेका छन् । ठेक्का सम्झौता नै नभइकन कालीगण्डकी नदीमा बालुवा उत्खनन् भएको भेटिएको टोलीमा सहभागी हुनुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राईले बताए ।

सरकारले असारदेखि भदौसम्म नदी उत्खनन गर्न रोक लगाएको अवस्थामा अवैध तवरले नदी उत्खनन् भएको भेटिएको र बगरमा भेटिएका स्काभेटरका सञ्चालकलाई कानुनी दायरामा ल्याउन लागिएको उहाँले बताउनुभयो ।‘‘ स्काभेटरको नम्बर समेत छैनन, केहिलाई नियन्त्रणमा ल्याइसकेका छौँ, अझै अन्य व्यक्तिहरुको छानविन भैरहेको छ, जम्मा गरिएको बालुवालाई जफत गर्न र प्रयोग भएका स्काभेटरलाई जरिबाना सहितको कारबाहीका लागि जिल्ला समन्वय समिति मार्फत नगरपालिकामा पठाउँछाँै’’–प्रनाउ राईले भने । प्रहरीले ढोडेनीमा अनाधिकृत रुपमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा प्रयोग भएका ध १ त ५८० नम्बरको ट्याक्टर सहित एक स्काभेटरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सर्वोच्च अदालतले कालीगण्डकीमा डोजर प्रयोग गरेर उत्खनन गर्न नपाउने फैसला गरेको छ । यि तीन ठाउँमा चार वटा एक्साभेटर प्रयोग गरि अवैध तवरले नदीको दोहन गर्ने गरेको भेटिएको छ । नदीजन्य पदार्थको उत्खनन्का लागि सम्बन्धीत स्थानीय तहले ठेक्का लगाउनुपर्ने प्रावधान रहेको छ । पटक पटक कालीगण्डकी नदीमा अवैध र अव्यवस्थित दोहन हुने गरेको भएपनि शक्ति र पहुँचको आडमा न्यून जरिवाना हुने गरेको कारण यस्ता कार्यहरुले प्रसय पाउने गरेको जानकारहरु बताउँछन् ।

नगरपालिकाको आम्दानी गुम्ने र बस्ती कटानको जोखिम बढाउने गतिविधि रोक्न र संलग्नलाई कारबाहि गर्नको लागि नगरपालिकाका जनप्रतिनिधि र सुरक्षा निकायहरुबाट हुने उदासिनता र मौनताको यस्ता कार्यहरु रोकिने भन्दा पनि थप बढ्ने गरेको गुनासा आउन थालेका छन् । म्याग्दीमा पछिल्लो समय नदीको अवैध दोहनका घटनाहरु रोकथाम र संलग्नलाई कानुनी कारबाहीमा प्रहरी प्रशासनको सक्रियता बढेको छ । यस अघि रघुगंगा, अन्नपूर्ण, मालिका र मंगला गाउँपालिका क्षेत्रमा अवैध र कानुन विपरित रुपमा भएका नदीजन्य पदार्थको उत्खनन्मा संलग्नहरुलाई आबश्यक कानुनी प्रकृया अनुसार जरिवाना सहितको कारबाहि गरिसकिएको छ ।