रघुगंगा गाउँपालिकाको आ.ब.२०७८/०७९ का लागी गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम (पुर्णपाठ) भिडियो सहित
- ८ असार २०७८, मंगलवार
- 1127 पटक पढिएको
रघुगंगा गाउँपालिकाका उपाध्यक्ष‚ गाउँसभाका सदस्यहरू‚ प्रमुख प्रशासकीय अधिकृत‚ गाउँपालिकाका कर्मचारीहरु‚ पत्रकारहरू एवम् उपस्थित सम्पूर्ण महानुभावहरू !
१. स्थानीय सरकार प्रमुखको रूपमा रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम यस सम्मानित सभा समक्ष प्रस्तुत गर्ने अवसर पाउँदा खुशी व्यक्त गर्दछु ।
२. कोभिड-१९ महामारीको दोस्रो भेरिएन्ट सहितको सङ्क्रमणले समग्र अर्थतन्त्र र कार्यप्रणालीलाई शिथिलताको चपेटामा पारेको वर्तमान जोखिमपूर्ण र चुनौतिपूर्ण अवस्थामा हरेक अमूल्य जीवनको रक्षा गर्नु स्थानीय सरकारको न्यूनतम दायित्व हो भन्ने कुरालाई आत्मसात गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि प्रतिबद्ध भई आगामी आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु।
३. संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म आउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।राष्ट्रियता‚ लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मानसहित स्मरण गर्दछु ।हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड‒१९) को कारणले ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट
गर्दछु ।साथै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
४. संवैधानिक अधिकार सहितको तिन तहको सरकार बिचको सहकार्य‚ समन्वय र सहअस्तित्वको सिद्धान्त अनुसार नेपाल सरकार र प्रदेश सरकारले प्रस्तुत गरेको दिगो विकासको लक्ष्य प्राप्ती सहितको नीति तथा कार्यक्रमलाई मध्यनजर गरी गाउँसभा मार्फत पारित ऐन, नियम तथा कार्यविधिको आधारमा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम तर्जुमा गरेको छु ।
गाउँसभाका सदस्यहरू‚
५. आर्थिक बर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि हामी जनप्रतिनिधिका रुपमा निर्वाचित भई आएपश्चात् हासिल गरेका केही महत्वपूर्ण उपलव्धिहरू यस गरिमामय सभा समक्ष प्रस्तुत गर्दछु ।
६. विकासमा निश्चित उद्देश्य हासिल गर्न अपनाइने रणनीति‚ समय‚ क्रियाकलापहरु र साधन श्रोतको संयोजन गरी योजनाबद्ध विकासको सुरुवात गर्न हाम्रो प्रथम पञ्चवर्षीय योजना २०७६/०७७ देखि २०८०/०८१ तर्जुमा भईसकेको छ ।
७. गाउँपालिकाको रणनितिक सडकको रूपमा रहेको गलेश्वर-मौवाफाँट-दग्नाम-दर्मिजा-चिमखोला-कुइनेमंगले सडकलाई निजी क्षेत्रसँगको सहकार्यमा सदरमुकामसँग छोटो र सिधा मार्गबाट जोडिएको
छ ।
८. गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरूको समन्वयमा वडा नं ५ र ६ लाई गाउँपालिका केन्द्रसम्म जोड्नका लागि तथा चिमखोलाका दुई बस्तीलाई जोड्नका लागि पक्की पुल निर्माण गरिएको छ ।
९. विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-19 र त्यसको दोस्रो भेरियन्टको संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि वडा नं ३ पिप्लेमा कोभिड-19 अस्थायी अस्पताल सञ्चालन गरिएको छ ।
१०. गाउँपालिकाको वडा नं ७ चिमखोलालाई महिला मैत्री र लैङ्गिक मैत्री संरचना सहितको गण्डकी प्रदेशकै नमुना गाउँमा रूपान्तरण गर्न सो क्षेत्रका बालबालिका, महिला, गरिब, सुकुम्बासी, दलित, जनजाती तथा ज्येष्ठ नागरिकहरूको सशक्तीकरणको लागि बहुआयामिक नमुना ग्रामको विस्तृत परियोजना प्रतिवेदन तयार गरि बहुआयामिक नमुना ग्रामको रूपमा घोषणा गर्नका लागि नेपाल सरकार समक्ष पेश गरिएको छ ।
११. गाउँपालिकाका बिभिन्न बस्तीहरूमा खानेपानीको पहुँच बिस्तार गर्नका लागि गाउँपालिकाको केन्द्र, गोरमाला, रूइसे, मुलपानी, जोर्तेपिपल र नौलिबराहमा जमिनमुनीको पानी तान्ने सम्भाव्यता अध्ययन (ERT) सम्पन्न भएको छ ।
१२. विश्व मानचित्रमा पर्यटकीय क्षेत्रका रूपमा सुपरिचित नेपाल र नेपालभित्रको म्याग्दी जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि धार्मिक, पर्यटकीय, भाषिक, साँस्कृतिक महत्वका क्षेत्रहरूको संरक्षण, विकास तथा विस्तारका लागि विशेष पहल गरिएको छ ।
१३. आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नका लागि गलेश्वर-रुइसेडाँडा-धौलागिरी-आइसफल-रिखार-मालिका-टोड्के पर्यटन पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ ।
१४. गाउँपालिकामा ऐतिहासिक‚ पुरातात्विक‚ सांस्कृतिक‚ धार्मिक‚ पर्यटकीय, आर्थिक‚ प्राकृतिक रुपले महत्वपूर्ण क्षेत्र‚ स्थान वा कलालाई संरक्षण गर्ने नीति अनुरुप चिमखोलालाई सांस्कृतिक र रुईसे तथा टोड्केलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरिएको छ ।
१५. गाउँपालिकाभित्र औद्योगिक ग्राम निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र विस्तृत परियोजना प्रतिवेदन निर्माणाधिन अवस्थामा रहेको छ ।
१६. वडा नं १ र २ का बासिन्दाहरूलाई सहज तरिकाले गाउँपालिका केन्द्र तथा सदरमुकामसम्म पुग्नका लागि आवश्यक पर्ने भगवती-बेग-बाँदुक सडक निर्माण गर्नका लागि सडकको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ ।
१७. वडा नं ५ झीँका जनताहरूलाई स्वास्थ्य सेवामा सरल पहुँच बिस्तार गरी उनीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि स्वास्थ्य चौकी जग्गा व्यवस्थापनको कार्य पूर्ण रूपमा सम्पन्न भई स्वामित्व प्राप्तिको प्रक्रियामा रहेको छ ।
१८. रघुगंगा गाउँपालिकाका समग्र जनताहरूलाई स्थानीय सरकारको जनतामैत्री सेवालाई सरल तथा सहज तरिकाले जनतासमक्ष पुयाउनका लागि गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा बहुउद्देश्यीय सभाहलको निर्माण कार्य अगाडि बढिरहेको छ ।
१९. गाउँपालिकाले प्रदान गरेको जनताकै पेवाः जनतामैत्री सेवालाई बिस्तार गर्ने क्रममा विभिन्न शीर्षकमा लगाइएको करबाट जम्मा भएको राजश्वको चुहावट रोक्न, राजश्व प्रणालीलाई व्यवस्थित तथा प्रविधिमैत्री बनाउनका लागि राजश्व सफ्टवेयर जडान गरिएको छ ।
२०. जनताको नजिकमा रहेर सेवा प्रवाह गर्दै शासन व्यवस्थालाई जनता समक्ष समन्यायिक तरिकाले पुर्यािउने माध्यमका रुपमा रहेको स्थानीय सरकार कार्यपालिकीय‚ विधायिकी र न्यायिक तिनै अधिकार प्रयोग गर्न सक्षम हुँदै आइरहेको छ । स्थानीय सरकारको सुशासन‚ विकास र समृद्धिको लागि हामीले ४८ वटा महत्वपूर्ण ऐन‚ नियम‚ निर्देशिका‚ कार्यविधि र मापदण्ड जारी गरी कार्यान्वयनमा ल्याएका
छौं ।
२१. स्थानीय तहमा न्यायिक अभ्यासलाई संस्थागत गर्न नेपालको संविधान र कानुन बमोजिम न्यायिक समिति गठन भई न्यायिक समिति समक्ष दर्ता भएका विवादहरुको आपसी छलफल र मेलमिलापको माध्यमबाट समाधान गर्ने प्रयत्न गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन‚ २०७४ को दफा ४७ ले व्यवस्था गरेको न्यायिक समितिको अधिकार क्षेत्रको मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन र संयोजक तोकी कार्यसम्पादन हुँदै आइरहेको छ ।
२२. स्थानीय स्तरको शैक्षिक ज्ञान‚ सिप र प्रविधिको संरक्षण, गुणस्तर प्रबर्द्धन, समन्वय तथा निर्देशनका साथै आधुनिकीकरण गर्न गाउँ शिक्षा समितिको गठन गरिएको छ ।आधारभूत तहको परीक्षा सञ्चालन‚ अनुगमन र व्यवस्थापन गर्न छुट्टै कार्यविधि निर्माण गरी कक्षा आठको परीक्षा/मूल्याङ्कन मर्यादित एवम् व्यवस्थित रुपमा सम्पन्न गरिएको छ ।प्रारम्भिक बाल विकास केन्द्रबाटै विद्यालयको शैक्षिक सुधार गर्न सहयोग पुर्या ईरहेका बालशिक्षा सहजकर्ताहरु‚ विद्यालयको सञ्चालन र संरक्षणमा सहयोग पुर्याधइरहेका विद्यालय कर्मचारीहरु र विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधारमा लाग्नुभएका प्रधानाध्यापकहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाइएको छ ।
२३. गाउँपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रक्रियामार्फत् चालु आर्थिक वर्ष ०७7/०७8 मा स्थानीयस्तरको विकासका लागि 12१ वटा वार्षिक योजना बनाई कार्यान्वयन गर्दा जेष्ठ मसान्तसम्म पूँजीगत प्रकृतिका योजनाहरुको भौतिक प्रगति करिब 85 प्रतिशत पुगेको छ ।त्यस्तै संस्थागत सुशासन र सेवा प्रवाहसँग जोडिएका योजना तथा कार्यक्रम करिब सम्पन्न भई सकेको अवस्था छ ।नीति निर्माण‚ विकास निर्माणको अगुवाइ, अनुगमन एवम् जनताको सुख दुःखमा साथ दिने गरी रघुगंगा गाउँपालिका सशक्त भइरहेको छ ।
२४. आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण‚ स्रोत साधनको अधिकतम उपयोगको लागि यस गाउँपालिकाले नेपाल सरकार तथा प्रदेश सरकारसँग साझेदारी एवम् संयुक्त व्यवस्थापनमा बृहत् पूर्वाधार निर्माण लगायतका कार्य गर्दै आइएको छ ।
२५. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न पाउने संवैधानिक अधिकारलाई प्रत्याभूत गर्न स्वास्थ्यकर्मी लगायतको सुविधासहित ७ ठाउँमा सामुदायिक स्वास्थ्य इकाई तथा झीँमा बर्थिङ सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।त्यसैगरी नागरिकहरुको सेवाको लागि स्वास्थ्य सम्बन्धी वृहत् शिविर‚ सबै वडाहरुमा चिकित्सक सहितको टोली मार्फत् स्वास्थ्य परीक्षण गरी नागरिकहरुको घरदैलोसम्म स्वास्थ्य सेवा बिस्तार गरिएको छ ।
२६. वैकल्पिक चिकित्सा र आयूर्वेदप्रति जागरण ल्याउन आयुर्वेद प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको छ ।
२७. आर्थिक रुपले विपन्न‚ अशक्त र असहाय अवस्थामा रहेका‚ असहाय एकल महिला‚ अपाङ्गता भएका बालबालिका‚ आफ्नो हेरचाह आफैँ गर्न नसक्ने‚ कडा तथा असाध्य रोग लागेका‚ दीर्घरोगीहरू‚ विभिन्न प्रकृतिका विपद्हरुबाट पीडित व्यक्तिहरूलाई विशेष सम्बोधन गरिएको छ ।
२८. उच्च कार्यसम्पादन एवम् लगनशिलताका साथ चुस्त सेवा प्रवाह मार्फत स्थानीय सरकारका प्राथमिकता र कार्यक्रमहरुलाई नागरिक समक्ष पुर्याशउन कर्मचारी वर्गबाट भएको सकारात्मक भूमिका उल्लेखनीय रहेको छ ।
२९. गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रम सञ्चालन गर्न सो सम्बन्धी छुट्टै कार्यविधि निर्माण गरी गाउँपालिकाभित्र रहेका सुकुम्बासी‚ घरवारविहिन‚ कच्ची टिन र खरले छाएका घर तथा शौचालय विहिन घर परिवारलाई सहायता प्रदान गरिएको छ । साथै सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ५८ वटा घरलाई सुरक्षित आवासको रुपमा विकास गरिएको छ ।
३०. खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्या्उने पकेट विकास कार्यक्रम तथा अनुदानमा आधारित विविध कृषिजन्य सामग्री बिउ/बिजन वितरण गरी कृषिमा आधुनिकीकरण गर्न प्रयत्ना गरिएको छ । मिनिटेलर थ्रेसर, च्याफ कटर, कुटानी पिसानी मिल, टनेल, स्प्रेयर जस्ता यन्त्र तथा सामग्रीहरु वितरण गरी कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गरिएको छ । साथै रोजगारी सिर्जनाको लागि प्रयाप्त अवसर प्रदान गरिएको छ ।
३१. गाउँपालिका भित्रका सबै माध्यमिक विद्यालय, स्वास्थ्य चौकीहरूमा इन्टरनेट विस्तार गरिएको छ ।
३२. शुन्य दरबन्दी भएका पाँच वटा विद्यालयमा शिक्षक व्यवस्था तथा विद्यार्थी संख्या धेरै भएका विद्यालयमा पाँच जना बालबिकास सहजकर्ता नियुक्ती गरिएको छ ।
३३. हामीले लिएका नीतिहरुको कार्यान्वयनबाट स्थानीय नेतृत्वको विकास र स्थानीय शासन पद्धति सुदृढ हुने प्रशस्त आधारहरु तयार भएका छन् ।हरेक दिनलाई महत्वपूर्ण दिनका रुपमा लिने हाम्रो दृष्टिकोण र शैलीका कारण सम्पूर्ण रघुगंगाबासी नागरिकमा उत्साहको सञ्चार भएको छ ।
३४. घरघरमा स्नातक, टोलटोलमा प्राविधिक, वडावडामा स्वास्थ्यकेन्द्र, बस्तीबस्तीमा ज्येष्ठ नागरिक क्लव, नदी किनार र पर्ती जमिनमा सार्वजनिक उद्यान निर्माण गर्ने नीतिलाई निरन्तरता दिइएको छ ।
गाउँसभाका सदस्यज्यूहरू‚
३५. अब म गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
३६. मानवीय क्षमता विकास‚ पूर्वाधार निर्माण‚ उद्यमशीलता र रोजगारी वृद्धि‚ स्थानीय नेतृत्व विकास‚ दिगो विकास‚ प्रभावकारी सेवा प्रवाह र कानुनी शासनको प्रत्याभूतिलाई प्राथमिकतामा राख्दै समृद्ध नेपाल‚ सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित छन् ।
गाउँ सभाका सदस्यहरू‚
अब म क्षेत्रगत रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
आर्थिक क्षेत्र
३७. आन्तरिक स्रोत बढाउन स्रोत सम्भाव्यता अध्ययन तथा राजस्व सुधार कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ ।
३८. गाउँपालिका क्षेत्रभित्रका करका दर फराकिलो पार्दै आन्तरिक राजस्व वृद्धि गर्न कर तथा गैरकर राजस्वको अधिकतम परिचालन गर्ने नीतिलाई अवलम्बन गरिनेछ ।
३९. नेपालको संविधानको साझा अधिकार सूचीमा रहेका कर तथा गैर कर राजश्व संघ तथा प्रदेशले तोके बमोजिम संकलन गरी बाँडफाँड गर्ने व्यवस्थालाई निरन्तरता दिइने छ ।
कृषि
४०. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को कारणले भएको बन्दाबन्दीबाट समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको वर्तमान अवस्थामा कृषि उपज वृद्धिका लागि जग्गा चक्लावन्दी‚ मल तथा बिउबिजनमा अनुदान‚ कृषि यान्त्रिकीकरण र बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम अगाडि वढाईने छ ।
४१. गाउँपालिकाभित्र रहेका वास्तविक किसानहरुको पहिचानका लागि कृषक दर्ता कार्यक्रम अगाडि बढाई वित्तीय संघ संस्थाहरू मार्फत सहुलियत ऋण प्रदान गर्न पहल गरिनेछ । गुणस्तरीय खाद्यान्नमा सहज पँहुच र उपलब्धताको प्रत्याभूतिका लागि गाउँपालिकाभित्र उत्पादन हुने सम्पूर्ण स्थानीय वस्तुहरुको तथ्याङ्क सङ्कलन गरिने छ । साथै बजारको पँहुच नपुगी उपयोगमा नआउने वस्तुहरु नाफा सहितको प्रतिफल सुनिश्चित हुने गरी कृषकबाट खरिद गर्ने ग्यारेन्टी गरिने छ र सो को बिक्रि गर्ने आवश्यक प्रवन्ध समेत गाउँपालिकाले गर्ने छ ।
४२. गाउँपालिकामा उत्पादन हुने सबै अन्न बाली तथा फलफुलहरूको सुरक्षित भण्डारण गरी बेमौसममा प्रयोग गर्न सकिने वातावरण निर्माण गर्न शीतगृह तथा पोर्टेवल कोल्ड च्याम्बरको निर्माण गरिनेछ ।
४३. कृषि बिउबिजनको सहज आपूर्ति‚ कृषि सामग्री व्यवस्थापन‚ सामुहिक खेती र बजार पँहुचका लागि सहकारी प्रणालीलाई प्रोत्साहन गरिने छ ।
४४. कृषकहरुको उत्पादनलाई वृद्धि गर्न माटो परीक्षण गरी अनुकुल बाली लगाउने कार्यलाई निरन्तरता दिइनेछ ।
४५. गाउँपालिकाभित्रका खेतीयोग्य जमिन तथा बाँझो जमिनमा आवश्यक सिँचाइको व्यवस्था गरी कृषि उत्पादन बढाइनेछ ।
४६. पशुपालन तथा कृषि कार्यका लागि दीर्घकालीन योजना तयार गरी कृषि सडक तथा स्थानीय स्तरमा सिँचाइ प्रणालीको निर्माण गरिनेछ ।
४७. संघ सरकारसँगको समन्वयमा राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्या उने बाली वस्तुको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट क्षेत्र) विकास कार्यक्रम संचालन गरिने
छ ।चालु आ.व. मा स्थापित धान, आलु, केरा पकेटहरूलाई निरन्तरता दिइनेछ । साथै सुन्तलाको नयाँ पकेट क्षेत्र निर्माण गरिनेछ । यी अन्न बाली तथा फलफुलमा गाउँपालिकालाई आत्मनिर्भर बनाइनेछ ।
४८. गाउँपालिकाभित्रका मुख्य बालीहरुमा कृषि बीमा गरिनेछ । सोको लागि छुट्टै कार्यविधि बनाई लागु गरिनेछ ।
४९. जडीबुटीको व्यावसायिक खेतीका लागि सम्भाब्यता अध्ययन गरिनेछ ।
५०. कृषि उद्यमशीलता अभिवृद्धि गर्न नेपाल सरकार र प्रदेश सरकारसँगको समन्वयमा बाली तथा पशुपंछी बिमा कार्यक्रमलाई निरन्तरता दिएको छु ।
पशुपालन
५१. उत्पादकत्व वृद्धि गरी दुध र मासुमा आत्मनिर्भर बनाउन भैँसी तथा बाख्राको नश्ल सुधार कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ । साथै रोगहरूबाट बचाउनका लागि पशुपंछी खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
५२. बंगुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमलाई निरन्तरता
दिइनेछ ।साथै पशुपंछीहरूको तथ्याङ्क सङ्कलन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
५३. गाउँपालिकाभित्र अकस्मात विरामी हुने पशु पशुपंछिहरुको उपचारको लागि आवश्यक औषधि र पशु प्राविधिकहरुको प्रबन्ध गरिने छ ।
पर्यटन
५४. वेगखोलाको लामो झोलुङ्गे पुल‚ भगवतीको रुईसे‚ पिप्लेको रानीपौवा‚ दग्नामको तातोपानी कुण्ड‚ झीँको टोड्के‚ पाखापानीको मालिका मन्दिर‚ चिमखोलाको मण्डलीथान तथा कुईनेको रिखार मन्दिर लगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी रघुगंगा गाउँपालिकाको पहिचान तथा अर्थतन्त्रको आधारशिलाको रुपमा विकास गरिनेछ। यसको लागि पर्यटन गुरूयोजना अनुसार पर्यटनमैत्री संरचना निर्माण तथा पर्यटन पूर्वाधार निर्माणलाई अगाडि बढाइनेछ ।
५५. पर्यटकीय गन्तव्य, पदमार्ग, साइकल मार्ग, होमस्टे, लगायतका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका कार्यक्रमलाई जोड दिइनेछ ।टोड्केलाई धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने गरी पदमार्ग र पार्क निर्माणको कार्य अगाडि बढाइनेछ ।
५६. गाउँपालिकाभित्र संचालनमा रहेका होमस्टेहरुको प्रभावकारी नियमन गर्दै होमस्टेलाई आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण आधारका रुपमा विकास गर्न विशेष प्रबन्ध गरिनेछ ।
उद्योग, ब्यापार र वाणिज्य
५७. महिला विकास कार्यक्रमद्वारा प्रवर्द्धित महिला सहकारी संस्थाहरुको सुदृढीकरण एवम् स्थानीय तहको महिला उद्यमी संजाल स्थापनाको अभियान अगाडि बढाइने छ ।
५८. उद्यमशीलता प्रवर्द्धनका लागि गाउँपालिकामा नविनतम तरिका र प्रविधिबाट उद्योग व्यवसाय संचालन गर्ने उत्कृष्ट उद्यमीलाई गाउँपालिका अध्यक्ष नवप्रवर्तन पुरस्कार र गाउँपालिका भित्रका महिला उद्यमी मध्ये उत्कृष्ट उद्यमीलाई गाउँपालिका उपाध्यक्ष सफल महिला उद्यमी पुरस्कारद्वारा सम्मान गरिने
छ ।
५९. गाउँपालिकाको क्षेत्रभित्र व्यापार‚ व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारको आधारमा व्यवसाय कर लगाइदै आएकोमा यसलाई थप व्यवस्थित गर्न साना तथा ठूला व्यवसायलाई अनिवार्य रुपमा दर्ता एवम् नवीकरण हुनुपर्ने व्यवस्था गरिनेछ ।
६०. गाउँपालिकाले हाल लिदै आएको कर‚ राजस्व‚ शुल्क आदिलाई थप व्यवस्थित र वैज्ञानिक बनाईने
छ । ‟हाम्रो गाउँपालिका हाम्रो कर‚ समृद्ध बनाउने हाम्रै रहर” भन्ने नारालाई साकार पार्न असल करदातालाई सम्मान र तोकिएको समयमै कर तिर्ने करदातालाई विशेष छुटको व्यवस्था मिलाइने छ।
६१. गाउँपालिकाभित्र निजी क्षेत्रबाट सञ्चालित आयोजनाहरूको समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिने छ ।
६२. उद्योग वाणिज्य संघ‚ निर्माण व्यवसायी संघ लगायत निजी क्षेत्रको व्यापार व्यवसायको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आएका संघ संस्थाहरु संग सहकार्य गरी उद्यमशीलताको विकास र व्यापार‚ व्यवसायको प्रवर्द्धन गरिनेछ ।
६३. गैरसरकारी संघ संस्थामा आबद्ध रही गाउँपालिका क्षेत्रभित्र कार्यरत रहेका विदेशी नागरिकको यथार्थ विवरण गाउँकार्यपालिकाको कार्यालयमा अनिवार्य रुपमा अध्यावधिक गरी जानकारी गराउनुपर्ने नीति लिईनेछ ।
सहकारी
६४. दिगो स्थानीय विकासमा संघ, प्रदेश तथा स्थानीय तह र सहकारी बिचको समन्वय र सहकार्यलाई जोड दिइनेछ ।
६५. अबका सहकारीः उत्पादनमा साझेदारी भन्ने नाराका साथ सबै सहकारीहरूलाई उद्यममा आबद्ध गराइने नीति लिइनेछ ।
६६. गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र संचालन हुने सहकारी संस्थाको दर्ता‚ अनुमति‚ नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि गरी सहकारी संस्थाको प्रवर्द्धन‚ परिचालन र विकास गरिने छ ।सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान गरी दैनिक उपभोग्य वस्तु‚ कृषि‚ वन‚ मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने सहकारीलाई विशेष अनुदानको व्यवस्था गरिनुका साथै प्रमुख बस्तीहरुमा सुपथ मूल्यमा सहकारी पसल सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
६७. एक व्यक्ति एक विषयगत विधाको एक भन्दा बढी सहकारीमा सदस्य हुन नपाइने नीति अवलम्बन गरिनेछ ।
६८. सबै नागरिकहरुमा बैंक तथा वित्तीय साक्षरता अभिवृद्धि गर्न सघन रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिनेछ ।
श्रम तथा रोजगारी
६९. गाउँपालिकामा सञ्चालन हुने विकास निर्माणका कार्यहरुमा स्थानीय स्रोत र साधनको आदर्शतम् परिचालन गरिने छ साथै स्थानीय सीप र श्रमको प्रयोग मार्फत् रोजगारीका अवसरहरु सिर्जना गरिने
छ ।
७०. लकडाउनको कारणले रोजगारी गुमाई असहज अवस्थामा पुगेका असङ्गठित क्षेत्रका मजदुरहरु एवम् असहायहरुलाई भोको रही ज्यान गुमाउन नपरोस भन्ने हेतुले राहत वितरण गर्ने कार्यलाई आवश्यकता अनुसार अगाडि वढाइने छ ।
७१. कोरोना भाइरसको कारणले वैदेशिक रोजगारीबाट घर फर्किएका वा रोजगारी गुमाएका व्यक्तिहरुलाई प्राथमिकतामा राखी गाउँपालिकाका समग्र गतिविधि संचालन हुनेछन् ।
७२. गाउँपालिकाभित्रका बेरोजगार युवाहरुको लगत सङ्कलन गरी प्रधानमन्त्री रोजगार तथा युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना कार्यक्रममा आबद्ध गराई न्युनतम एक सय दिनको रोजगारी प्रत्याभुत गरिने छ ।रोजगारमूलक कार्यक्रमका माध्यमबाट गरिवी न्यूनीकरण गर्न एक घर एक रोजगार कार्यक्रम लाई यसै कार्यक्रममा आबद्ध गरिने छ ।
७३. युवाहरुलाई स्वरोजगार बनाउनका लागि सिपमूलक तालिमहरू प्रदान गरी सिपको प्रमाण‒पत्र प्रदान गरिनेछ ।
७४. गाउँपालिकाभित्र बालश्रमको प्रयोगलाई पूर्णरूपमा निरूत्साहित गरी बालश्रम मुक्त गाउँपालिका घोषणा गरिनेछ ।
७५. गाउँपालिकाभित्र बिभिन्न विपद्जन्य घटनाबाट पीडित हुन पुगेका व्यक्तिहरुको उद्धार तथा व्यवस्थापनको लागि युवाहरु परिचालन गरिने छ ।
गरिबी निवारण
७६. गरिब पहिचान गरी परिचय पत्र वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
७७. गरिबी निवारणका लागि मागमा आधारित लघु उद्यम विकास कार्यक्रमलाई आठ वटै वडामा निरन्तरता दिइनेछ । नयाँ लघु उद्यमी सिर्जना र भइरहेका उद्यमीको स्तरोन्नतीका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
७८. “समृद्धि र विकास निर्माणको आधार, महिलाको क्षमताको विकास” नारालाई कार्यान्वयन गर्दै गाउँपालिका क्षेत्रभित्र महिला सशक्तीकरणका साथै उद्ममशिलताको विकास गर्न उपाध्यक्षसँग महिला सशक्तीकरण कार्यक्रम संचालन गरिनेछ ।
७९. गरिबी निवारण कोषसँगको सहकार्य गरी सामुदायिक संस्थाहरु मार्फत सामाजिक परिचालन, क्षमता विकास, आयआर्जन, ग्रामीण सामुदायिक पूर्वाधार र सहकारी विकासका कार्यहरु अगाडि बढाइने छ । गरिबसँग विश्वेश्वर कार्यक्रमलाई यसै कार्यक्रमसंग आबद्ध गरिनेछ ।
सामाजिक क्षेत्र
शिक्षा, युवा तथा खेलकुद
८०. सबैका लागि शिक्षा अभियान सञ्चालन गरी रघुगंगा गाउँपालिका भित्रका सबै बालबालिकाहरूलाई पूर्व प्राथमिक शिक्षाको अनुभव सहित आधारभूत तथा माध्यमिक तहसम्मको निःशुल्क शिक्षामा पहुँच सुनिश्चित गर्ने नीति लिइने छ ।
८१. कोभिड-19 को कारणले शिक्षा क्षेत्रमा परेको प्रभावलाई न्यूनीकरण गर्न तथा विद्यार्थीको सिकाइ सहजीकरणलाई निरन्तरता दिनका लागि वैकल्पिक माध्यमको प्रयोगलाई जोड दिइनेछ ।
८२. रघुगंगा गाउँपालिकाका विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने छ । गाउँपालिकाभित्र स्थायी बसोबास भई स्नातक तहमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निश्चित मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। जिल्लाभित्रका सामुदायिक क्याम्पसमा अध्ययन अध्यापन हुने संकायका लागि जिल्लाभित्र नै र जिल्लाभित्र अध्ययन नहुने संकायका लागि देशैभर अध्ययनरत विद्यार्थीहरुले सहभागी हुन पाउने गरी निश्चित मापदण्ड तोकिनेछ । छात्रवृत्तिमा अध्ययन पश्चात गाउँपालिका भित्रका विद्यालयमा अनिवार्य सेवा गर्नुपर्ने गरी छात्रवृत्तिमा अनुबन्धित गरिनेछ ।यसका साथै आवासीय तथा गैर आवासीय छात्रवृत्ति छात्रा तथा दलित विद्यार्थीहरूलाई वितरण गरिनेछ ।
८३. रघुगंगा गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण गरि स्थानीय स्तरका कृषि, पशुपालन, पर्यटन, धर्म, संस्कृति, भाषा, जाति जस्ता क्षेत्रमा आवश्यक ज्ञान, सिप र धारणा प्रदान गरी विद्यार्थीहरूलाई सुसूचित गरिनेछ ।
८४. सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि माध्यमिक तहमा शून्य दरबन्दी भएका विद्यालयमा नियुक्त गरिएका शिक्षक र प्रारम्भिक बाल कक्षामा विद्यार्थी संख्या धेरै भएका विद्यालयमा नियुक्त गरिएका बालविकास सहजकर्तालाई निरन्तरता दिइनेछ ।
८५. नेपाल सरकारले तोकेको मापदण्डका आधारमा बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिकको व्यवस्था गरी उनीहरूलाई पेशाप्रति जिम्मेवार बनाइनेछ ।यसका साथै सामुदायिक विद्यालयका सबै प्रधानाध्यापक तथा माध्यमिक तहका लेखा हेर्ने कर्मचारीलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन गरिनेछ ।
८६. प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गरी उनीहरूको विद्यालय छाड्ने दरमा कमी ल्याइनेछ ।
८७. सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको महिनावारी चक्रलाई व्यवस्थापन गर्न आवश्यक सेनिटरी प्याडको व्यवस्था गरिनेछ । छात्राहरूलाई महिनावारीको कारणबाट विद्यालय छाड्ने दरमा कमी ल्याइनेछ ।
८८. विद्यालय तहमा अध्ययनरत सबै बालबालिकालाई निःशुल्क पाठ्यपुस्तकको व्यवस्था गरी सबै बालबालिकाहरूलाई विद्यालय शिक्षामा पहुँच सुनिश्चित गरिनेछ । यसका साथै शैक्षिक पहुँच विस्तारका लागि सामुदायिक सिकाइ केन्द्रमार्फत् साक्षरता शिक्षा तथा निरन्तर शिक्षाका कार्यक्रम सञ्चालन
गरिनेछ ।
८९. बालबालिकाको इच्छाः प्रविधिमैत्री शिक्षा अभियान मार्फत् विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गरी शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिमैत्री शैक्षिक प्रणालीको विकास गरिनेछ ।
९०. एक विद्यालयमा भएका असल तथा अनुकरणीय अभ्यासलाई अन्य विद्यालयमा हस्तान्तरण गरी शैक्षिक व्यवस्थापन तथा प्रशासनलाई सुदृढ बनाउन नमुना विद्यालय विकास कार्यक्रम कार्यान्वयन गरिनेछ ।
९१. सबै विद्यालयहरूमा बाल क्लब गठन, किशोरी समुह गठन र परिचालन, प्रारम्भिक पढाइ सिप विकास कार्यक्रम तथा बाल विकास सम्बन्धी कार्यक्रमलाई अगाडि बढाइनेछ ।
९२. बालमैत्री शासनको प्रारूप अनुसार विद्यालयमा हुने सम्पूर्ण क्रियाकलापहरू सञ्चालन गरिनेछ ।भौतिक पूर्वाधारका संरचनाहरू बालमैत्री र अपाङ्ग मैत्री बनाइनेछ । साथै सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण‚ मर्मत सम्भार‚ सञ्चालन र व्यवस्थापनलाई विशेष जोड दिइनेछ ।
स्वास्थ्य तथा जनसंख्या व्यवस्थापन
९३. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को सम्भावित सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्नको लागि गाउँपालिकाबासीहरुको स्वास्थ्य सुरक्षालाई प्राथामिकतामा राखिने छ।सोको लागि अस्थायी कोभिड-19 अस्पताललाई निरन्तरता, आइसोलेशन वार्ड तथा प्रि आइसोलेशन वार्डलाई निरन्तरता, ल्याव स्थापना, आवश्यकता अनुसार स्वास्थ्यकर्मी नियुक्ति, अत्यावश्यक स्वास्थ्य सामग्री व्यवस्था, कोभिड-१९ को गाउँपालिकामा हुने उपचार तथा औषधिको निःशुल्क रूपमा व्यवस्था, मापदण्ड बमोजिम क्वारेन्टीन व्यवस्थापन, स्वयंसेवक परिचालन, नागरिक सहायता कक्ष सञ्चालन, जनचेतना प्रचार प्रसार जस्ता कार्यहरु गरिने छ ।
९४. कोभिड-१९ लगायत विभिन्न महामारीजन्य रोगहरुको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकारवाला सँगको अन्तर्क्रिया तथा RRT, स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।
९५. दश शैया अस्पताल निर्माण कार्य अबिलम्ब अगाडि बढाइनेछ । यसका लागि अत्याधुनिक स्वास्थ्य उपकरण सहितको स्वास्थ्य सेवा प्रवाह गरिनेछ ।
९६. सुनौलो हजार दिनका आमा, बच्चा र किशोरीहरूको पोषण स्थितिमा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
९७. रघुगंगा गाउँपालिका स्थायी ठेगाना भएका व्यक्तिको जिल्लिभत्र उपचार गर्दा रगत आवश्यक पर्ने भएमा नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखासँगको समन्वयमा निःशुल्क रगत उपलब्ध गराउने गरी फ्रि-बल्ड जोनका रूपमा निरन्तरता दिइनेछ ।
९८. पोषण कार्यक्रम मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, न्यानो झोला र निःशुल्क गर्भपतन कार्यक्रम लगायत स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने छ ।
९९. स्वास्थ्य संस्थामा जान ढिलाई हुँदा उत्पन्न हुन सक्ने अप्रिय अवस्थालाई मध्यनजर गरी दुर्गम स्थानमा सञ्चालित ७ वटै सामुदायिक स्वास्थ्य इकाईलाई निरन्तरता दिइनेछ ।
१००. वैकल्पिक उपचार पद्धतिको रुपमा आयुर्वेद उपचार सेवालाई विकास गर्ने नीति अवलम्वन गरिने छ । आयुर्वेद सेवा प्रवर्द्धन सम्वन्धी कार्यक्रम अगाडी बढाईने छ ।
१०१. महिला स्वास्थ्य स्वयमंसेविका र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने छ ।साथै स्वास्थ्यकर्मीहरुको मनोवल उच्च वनाउनका लागि स्वास्थ्य बिमालाई निरन्तरता दिइनेछ ।
१०२. नागरिकहरुको स्वास्थ्य बिमा गर्ने अभियानलाई सक्रियताका साथ कार्यान्वयन गरिने छ ।
१०३. पशुपंक्षी आदिबाट हुने ईन्फुएन्जा‚ बर्ड फ्लु‚ AMR‚ सिष्टिसर्कोसिस‚ टक्सोप्लाज्मोसिस आदि विभिन्न सरुवा रोग सम्बन्धी रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
१०४. बिद्यालय स्वास्थ्य शिक्षा‚ आमा समूह तथा स्थानीय तहमा स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तन प्रवर्द्धन अभियान सम्पन्न गरिनेछ ।
१०५. स्वास्थ्यकर्मीहरु‚ महिला स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तथा आकस्मिक सेवा अन्तर्गत आँखा‚ नाक‚ कान‚ घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्राथमिक उपचार बारे अभिमुखिकरण/तालिम सञ्चालन गरिनेछ ।
१०६. स्वास्थ्य संस्था मार्फत वितरण हुने औषधिको स्टोरलाई व्यवस्थित गर्न प्रविधि मैत्री बनाइ कार्यान्वयन गरिने छ ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण
१०७. ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, विधवा, दलित बालबालिका लगायतलाई नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्रत्याभूत गरिदै आएकामा आर्थिक र सामाजिक रुपमा जोखिममा रहेका नागरिकहरुलाई सुरक्षा प्रदान गर्न तथा सभ्य र लोककल्याणकारी राज्य व्यवस्थाका लागि गाउँपालिका समृद्धि अभियानमा अध्यक्ष कार्यक्रम संचालन गरिनेछ ।जसमा आर्थिक सहायता‚ तत्काल राहत उद्दारका कार्यहरु सम्पन्न हुनेछन् ।
१०८. सामाजिक सुरक्षा भत्तालाई सवै वडामा अनिवार्य रूपमा बैकिङ प्रणालीमा आबद्ध गरिनेछ ।
१०९. जेष्ठ नागरिकहरुलाई सम्मानित र मर्यादित जीवन जिउने आधार सिर्जना गरिने छ । प्रत्येक वडामा जेष्ठनागरिक सम्मान कार्यक्रम संचालन गरिने छ ।
११०. महिला‚ बालबालिका‚ अपाङ्गता भएका व्यक्ति‚ जेष्ठ नागरिक तथा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाउने अभियानलाई निरन्तरता दिइनेछ ।
१११. महिला तथा बालबालिका विरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न निरोधात्मक, प्रवद्धनात्मक र उपचारात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।साथै समाजमा रहेका कुरीति, कुप्रथा, लैङ्गिक हिंसा, मानव वेचविखन तथा ओसारपोसार धुमपान‚ मद्यपान‚ सूर्तिजन्य पदार्थ र लागुपदार्थविरुद्ध सचेतनामूलक कार्यक्रमलाई “हाम्रो समाजः राम्रो समाज” अभियानका रूपमा संचालन गरिने छ ।
११२. जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकारबिचको समन्वयमा संचालन गरिदै आएको लागुपदार्थ दुव्यर्सन रोकथाम सम्वन्धी कार्यक्रमलाई थप प्रभावकारी वनाईनेछ ।
११३. गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका ∕फरक क्षमताका व्यक्तिहरुलाई कार्यविधिको अधीनमा रही अपाङ्गता परिचय‒पत्र वितरण गरिने छ ।अपाङ्गता भएका व्यक्तिहरुको हकहितको संरक्षणको लागि विशेष व्यवस्था गरिने छ ।
११४. अपाङ्गता भएका व्यक्ति, असहाय, अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्न वर्गको उपचार सुविधालाई निरन्तरता दिने व्यवस्था मिलाएको छ । क्यान्सर, मुटु, मृगौला, स्पाइनल इन्जुरी र हेड इन्जुरी जस्ता रोगबाट पीडित अति गरिब बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
११५. अशक्त, असहाय, सहाराविहिन बालबालिका तथा ज्येष्ठ नागरिकहरूका लागि आश्रय स्थल निर्माण गर्नका लागि प्रदेश तथा संघ सरकारसँग समन्वय गरिनेछ ।
११६. घरेलु हिंसा अन्त्यका लागि बहस पैरवी र चेतनामुलक अभियानहरू संचालन गरिनेछ । सो कार्यमा स्थानीय सामाजिक⁄गैर सरकारी संघ संस्थाहरू तथा टोल विकास संस्थाहरूको परिचालन गरिनेछ ।
११७. बालश्रम मुक्त गाउँपालिका बनाउन आवश्यक पहल गरिनेछ ।
११८. आर्थिक तथा सामाजिकरूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको सामाजिक र आर्थिक उत्थानका लागि विशेष कार्यक्रमहरू तय गरिनेछ । उपाध्यक्षसँग महिला शसक्तिकरण कार्यक्रम अपाङ्ग लक्षित कार्यक्रम र दलित लक्षित कार्यक्रमहरू संचालन गरिनेछ ।
खानेपानी तथा सरसफाई
११९. गाउँपालिका भित्रका नागरिकहरुलाई सफा र स्वच्छ खानेपानी उपलव्ध गराउन जनतासंगको सहलगानीमा खानेपानी आयोजनाहरु सञ्चालन गरिनेछ ।
१२०. जमिन मुनीको पानी तानी उपयोग गर्ने कार्यका लागि सम्भाव्यता अध्ययन गरिनेछ । पानीका मुहानहरुको संरक्षण एवम् आवश्यक अन्य केही ठाउँमा लिफ्ट प्रविधिको पूर्वाधारहरु तयार गर्ने प्रक्रिया अगाडि बढाईने छ ।हाल कार्यान्वयनमा रहेको एक घरः एक धारा खानेपानी आयोजनालाई गाउँपालिका भर क्रमश विस्तार गर्दै लगिने छ ।
मेला महोत्सव व्यवस्थापन
१२१. जिल्ला प्रशासन कार्यालय र गाउँपालिका बिचको आपसी समझदारीमा तयार गरिएको जिल्लाभित्र संचालन गरिने मेला तथा महोत्सब संञ्चालन सम्बन्धी मापदण्डलाई हाम्रो सरकारले तर्जुमा गरेको मेला तथा महोत्सव सम्बन्धी कार्यविधिको अभिन्न अङ्गका रुपमा ग्रहण गरी स्थानीय मेला तथा महोत्सवलाई प्रभावकारी रुपमा नियमन गरिने छ ।
१२२. खेलकुद, सामाजिक, सांस्कृतिक, आर्थिक मेला महोत्सवहरूलाई प्रोत्साहन गरिनेछ ।
पूर्वाधार विकास
भौतिक योजना र पूर्वाधार विकास
१२३. टुक्रे योजना तथा अनुत्पादक कार्यक्रमहरूलाई निरुत्साहित गर्दै एक वडा एक गौरवको योजना संचालन गरिनेछ ।आर्थिक बर्षको अन्त्यतिर हुने चापलाई न्यून गराउनका लागि योजना सम्झौताका कार्यलाई श्रावण महिनाबाट शुरु गरिनेछ ।साथै गौरवका योजना र मेशिनरी उपकरणको आवश्यकता पर्ने योजनालाई यथासम्भव ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिनेछ । ठेक्का मार्फत सम्पन्न हुने योजनाहरुमा समेत स्थानीय श्रम र सिपको प्रयोग गर्न सहजीकरण गरिने छ ।
१२४. गाउँपालिकाभित्र विगतदेखि सञ्चालित क्रमागत योजनाहरुलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ भने मर्मत सम्भार कोषलाई आवश्यक कार्यविधि बनाई व्यवस्थित बनाउँदै लगिनेछ ।
१२५. गाउँपालिकाका गौरबका आयोजनाहरुलाई समयमानै सम्पन्न गर्नको लागि आवश्यक प्रबन्ध गरिनेछ ।
१२६. गाउँपालिकामा एक वडा एक हेलिप्याड निर्माण गर्ने अभियानलाई पूर्णत: सम्पन्न गरिनेछ ।
सडक तथा पुल
१२७. गाउँपालिकाका सबै बस्तीहरूलाई सडक सञ्जालसँग जोडिने छ । गौरवको आयोजनाको रुपमा पाखापानी-रायखोर-घ्याँसिखर्क सडक, उमेधुरी-कुइने सडक, झीँ टोड्के सडक निर्माणको कार्य अगाडि बढाइने छ ।साथै अन्य कृषि र सहायक स्तरका सडकहरूको निर्माण तथा मर्मत कार्य गरिनेछ ।
१२८. प्रदेश सरकारसँगको सहकार्यमा महत्वपूर्ण रणनैतिक सडकहरूको निर्माण कार्य अगाडि बढाइने छ ।
१२९. गाउँपालिकाभित्र निजी क्षेत्रबाट सञ्चालित बिभिन्न हाइड्रोपावरहरूसँगको सहकार्यमा सडक तथा पुल निर्माणको कार्य अगाडि बढाइने छ ।
१३०. छरिएर रहेका बस्ती बिचको दुरी कम गरी सामाजिक आदान प्रदान तथा प्रशासनिक सुगमताका लागि झोलुङ्गे पुल निर्माणमा नेपाल सरकार तथा प्रदेश सरकारसँग आवश्यक सहलगानी तथा समन्वय
गरिनेछ ।
भवन
१३१. बहुउद्देश्यीय सभाहल निर्माणको कार्य यसै आ.व. मा सम्पन्न हुने भएकाले थप व्यवस्थापन गरी सोही भवनबाट गाउँपालिकाको प्रशासकीय कार्यहरू अगाडि बढाइनेछ ।
१३२. स्थानीय समुदायसँगको सहकार्यमा गाउँपालिकाको जग्गा व्यवस्थापनको कार्य भौतिक रूपमा सपन्न भई सकेकोले स्वामित्व प्राप्त गरि प्रशासकीय भवनको निर्माण कार्य अगाडि बढाइनेछ । वडा कार्यालयहरूको भवन निर्माणको कार्य अगाडि बढाइनेछ ।
१३३. टोल विकास संस्थाहरूको भवन निर्माणको थालनी गरिने छ ।
जल विद्युत तथा वैकल्पिक उर्जा
१३४. गाउँपालिकाभित्र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा संचालनमा रहेको राहुघाट जलविद्युत आयोजना तथा निजीक्षेत्रबाट सञ्चालित अन्य जलविद्युत आयोजनाहरू समयमा नै सम्पन्न गर्न स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग एवम् समन्वय गरिनेछ । साथै गाउँपालिकाभित्र अन्य जलविद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरी उज्यालो रघुगंगा निर्माण गर्न जलविद्युतमा समेत साझेदारीमा लगानी गरिनेछ ।
१३५. वायोग्याँस‚ बायोमास‚ सौर्य उर्जा लगायत वैकल्पिक उर्जाको प्रवर्द्धन र परिप्रयोगको व्यवस्था गरिनेछ ।
१३६. घना बस्तीहरुमा सौर्य उर्जाको प्रयोग गरी चोक तथा सार्वजनिक स्थलहरुलाई उज्यालोमा परिणत गर्दै उज्यालो शहर निर्माण गरिनेछ ।
शहरी योजना र विकास
१३७. कुईनेमंगलेको चौरखानी जस्ता जोखिमयुक्त बस्ती पहिचान गरी सुगम यातायातको व्यवस्थासहितको एकीकृत सामुहिक आवासको व्यवस्था गर्ने नीति राखिनेछ ।
१३८. सुकुम्बासी तथा विपन्न नागरिकको पहिचान र अभिलेख व्यवस्थापनलाई व्यवस्थित गरी सुकुम्बासी तथा विपन्न नागरिक सम्वन्धी जीविकोपार्जन र वसोवासको व्यवस्थापनका लागि उचित प्रवन्ध गरिनेछ।साथै कार्यान्वयनमा रहेको गाउँपालिका अध्यक्ष सुकुम्वासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ ।
१३९. गाउँपालिका भित्रका वास्तविक सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरूको उचित व्यवस्थापनको लागि पहल गरिनेछ ।
१४०. गाउँपालिकाबाट नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरित निर्माण कार्य गरिएका संरचनालाई विशेष व्यवस्थासहित कानुनी दायरामा ल्याई त्यस्ता कार्य गर्नेलाई निरुत्साहित गरिनेछ ।गाउँपालिकाले तोकेको सडकको अधिकार क्षेत्रभित्र बनेका संरचना जुनसुकै वखत हटाइनेछ ।
१४१. गाउँपालिकाभित्र सम्पन्न भई सकेका सडक पूर्वाधारहरुको लगत कट्टा गर्ने नीति अवलम्बन गरिनेछ ।
१४२. ढल निकास र फोहोरमैला व्यवस्थापनका लागि तयारी गरिनेछ ।
१४३. सडकहरूको गुरूयोजना (MTMP) तयार गरि सडक पूर्वाधारको विकास गरिनेछ ।
वन‚ वातावरण तथा विपद् व्यवस्थापन
वन
१४४. वातावरण संरक्षण‚ हरियाली प्रवर्द्धन र वृक्षारोपण‚ पालिकाको सौन्दर्यता र सोको संरक्षण‚ भूःसंरक्षण तथा जल उत्पन्न प्रकोप नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिनेछ । न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास नीति अवलम्ब गराइनेछ ।
१४५. प्राकृतिक तथा मानव सिर्जित विपद्बापट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न गाउँपालिका स्तरीय, वडा स्तरीय र सामुदायिक विपद् व्यवस्थापन समितिलाई थप क्रियाशील बनाइनेछ ।
१४६. खोज उद्दारका सामग्रीहरू व्यवस्थापन गरिनेछ ।
१४७. जलवायु परिवर्तनबाट पर्ने असरहरूलाई न्यूनीकरण गर्नका लागि जलवायु अनुकुलन कोष स्थापना गरिनेछ ।
विपद् व्यवस्थापन
१४८. स्थानीय स्तरमा विपद् पूर्बतयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्वभण्डारण, स्थानीय तटवन्ध, नदी र पहिरोको नियन्त्रण, विपद जोखिम क्षेत्रको नक्सांकन तथा बस्तीहरुको पहिचान र स्थानान्तरण गरिनेछ ।विपद् व्यवस्थापनका लागि वडा/वडामा गठित विपद् व्यवस्थापन समितिलाई थप क्रियाशील बनाउने तथा सामुदायिक विपद् प्रतिकार्य समूह गठन गरिनेछ ।
१४९. विपद्बािट जोगिन, गरिबीको सूचकमा सुधार गर्न खरको छाना हटाउने अभियानलाई निरन्तरता
दिइनेछ ।
१५०. उत्थानशील विकास उन्मुख स्थानीय सरकारको अवधारणालाई अवलम्बन गरिनेछ ।
१५१. सडक निर्माण गर्दा अनिवार्य वृक्षारोपण गर्नुपर्ने गरी हरित सडकको अवधारणा र प्रकृतिलाई बिगारेर होइन श्रृँङ्गारेर विकास गर्ने अभियान सञ्चालन गरिनेछ ।
१५२. अनिवार्य वृक्षारोपण, सडकसँग नाली अनिवार्य, तटबन्ध, नियमित मर्मत सम्भार जस्ता उपाय अवलम्वन गरी भूजन्य प्रकोपको व्यवस्थापन गरिनेछ ।
१५३. जलवायु उत्थानशील हरित आयोजनाको निर्माण गर्न जोड दिइनेछ । जलवायु परिवर्तनका कारण पर्न सक्ने असरहरू न्यूनीकण गर्न जलवायु कोषको व्यवस्था गरिनेछ ।
भूमि व्यवस्था
१५४. सार्वजनिक तथा सरकारी सम्पत्तिको अभिलेख राखी संरक्षण र सदुपयोग गरिने छ ।यसका लागि गाउँपालिकामा गठित सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समितिलाई थप क्रियाशिल बनाइनेछ । वि.सं. २०७६-२०७८ लाई सार्वजनिक सम्पत्ति जग्गा संरक्षण वर्ष अभियानका रुपमा अगाडि बढाउने गरी आ.व. २०७६।०७७ देखि कार्यान्वयनमा रहेको कार्यक्रमलाई निरन्तरता दिईने छ ।
१५५. गाउँपालिकाभित्र रहेको गुठीको समस्यालाई यथाशीघ्र सम्बोधन गर्न प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष आवश्यक पहल गरिनेछ ।
१५६. गाउँपालिकाभित्र व्यक्तिको स्वामित्वमा रहेका सम्पूर्ण जग्गाहरुको उपयुक्त न्यूनतम मूल्याङ्कन दर कायम गरिने छ ।
शुसासन तथा संस्थागत क्षमता विकास
संगठन संरचना‚ दरबन्दी
१५७. रघुगंगा गाउँपालिकाको मितव्ययी सांगठनिक स्वरुप तथा दरवन्दी संरचना निर्माण गरी स्वीकृत दरवन्दी संरचनाभन्दा थप व्यय भार नपर्ने गरी प्रशासनिक संरचना खडा गरिने छ । साथै प्रशासनिक संरचनालाई कार्यमूलक बनाइनेछ ।
१५८. गाउँपालिकाको अधिकार क्षेत्रभित्र रही सम्बोधनको आवश्यकता महसुश गरिएका सबै विषयमा आवश्यक कानून निर्माण गरी कार्यान्वयन गरिनेछ ।
१५९. जनशक्तिको क्षमता विकासका लागि योजना बनाई कार्यान्वयन गरिनेछ ।जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता विकासका लागि पर्याप्त मात्रामा तालिम,गोष्ठी,सेमिनार तथा अन्तर्क्रिया कार्यक्रमहरू सम्पन्न गरिनेछ ।
शुसासन र सेवा प्रवाह
१६०. कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धी मापदण्ड तथा सूचकहरू तय गरिनेछ ।
१६१. योजनाहरुको गुणस्तर सुनिश्चित गर्ने नियमित अनुगमन तथा सुपरीवेक्षणका लागि पालिकास्तर र योजना स्तरमा रहने अनुगमन समितिहरुलाई क्रियाशिल बनाइने छ। वडा स्तरमा रहने अनुगमन समितिहरुलाई अझै क्रियाशिल बनाइने छ ।
१६२. गाँउ कार्यपालिकाको कार्यालय र सो अन्तर्गतका कार्यलयहरुको प्रशासनलाई सेवाग्राहीमैत्री चुस्तदुरुस्त‚ छिटोछरितो‚ मितव्ययी‚ पारदर्शी‚ जवाफदेही र निष्पक्ष बनाई सेवाप्रवाहमा सर्वसाधारणको सरल, सहज र समावेशी पँहुच सुनिश्चित गरिने छ।साथै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइनेछ ।
१६३. आगामी आर्थिक वर्षका लागि तय भएका योजना तथा कार्यक्रमहरु सबै प्रक्रिया पुरा गरि फाल्गुन मसान्तभित्र सम्झौता कार्य सम्पन्न गरिने छ ।
१६४. गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षसंग तथा प्रमुख प्रशासकीय अधिकृतले शाखा प्रमुखसंग मापन योग्य सूचकहरुसहित कार्यसम्पादन सम्झौता गरी सम्बन्धित पदाधिकारीहरुलाई नतिजा प्रति थप जवाफदेही बनाईनेछ । साथै कार्यसम्पादनमा आधारित करार सेवा पद्धति अवलम्वन गरिने छ ।
१६५. कृषि लगायत विकासका पक्षहरुमा व्यापक छलफल तथा स्थानीय सरकारका कामकारवाहीमा एकरुपता एवम् समान्जस्यता कायम गर्न कोभिड‒१९ को सन्त्रास कम हुँदा साथ जिल्ला भित्रका अन्तर स्थानीय सरकारका विचमा वृहत अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ ।
१६६. म्याग्दी जिल्ला हिमाली जिल्ला घोषणा भएसँगै गाउँपालिकाको जनसङ्ख्या, भूगोल, प्रशासनिक सुगमता, पूर्वाधार विकासको अवस्था, आर्थिक सक्षमता, प्राकृतिक स्रोत साधनको उपलब्धता, भाषिक, सांस्कृतिक तथा सामुदायिक बनोटको आधारमा रघुगंगा गाउँपालिकामा एक वटा गाउँपालिका थप गर्न प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष प्रस्ताव पेश गरिनेछ ।
१६७. खोप, भिटामिन ए वितरण, स्वास्थ्य शिविर, कृषि⁄पशु स्वास्थ्य सम्बन्धी शिविर, योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, घटना दर्ता, अपाङ्ग तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण जस्ता सेवाहरूलाई घुम्ती सेवा मार्फत थप विस्तार गरिनेछ ।
१६८. गाउँपालिकाभित्र संचालन हुने यातायातका साधनहरुको भाडादरमा एकरुपता कायम गर्न उपयुक्त स्थानीय भाडादर निर्धारण गरिनेछ ।साथै गाउँपालिकाभित्रका निर्माण सामग्री र श्रमको उपयुक्त ज्याला तथा दर रेट निर्धारण गरिने छ ।
संस्थागत व्यक्तिगत र मानव संशाधन विकास
१६९. विषयगत समिति गाउँसभाका सदस्यहरु र कर्मचारीको क्षमता अभिवृद्धि गरी विकास र सेवा प्रवाहमा गुणस्तर कायम गर्न तालिम, प्रशिक्षण र अभिमुखीकरणका साथै भ्रमण अवलोकन गराइनेछ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्न दश दिनको तलब भत्ता सहितको पर्यटन काज दिने गरी संघ सरकारले गरेको व्यवस्थालाई कार्यान्वयन गरिनेछ ।
१७०. विवाद समाधानको लागि मेलमिलाप तथा मध्यस्थता सेवालाई न्यायिक समिति मार्फत थप प्रभावकारी बनाईनेछ ।वडामा स्थापना गरिएका मेलमिलाप केन्द्रलाई मेलमिलाप मार्फत विवाद समाधान गरी शान्ति स्थापना गर्ने केन्द्रको रुपमा विकसित गरिनेछ ।
१७१. न्यायिक समिति र मेलमिलाप कर्ताहरुको लागि पुनर्ताजगी तालिम मार्फत क्षमता अभिबृद्धि गरिनेछ । न्याय सम्पादनको क्रममा आवश्यक पर्ने इलजास कक्षको निर्माण गरिनेछ ।
वित्तीय अनुशासन र पारदर्शिता
१७२. भ्रष्टाचारजन्य क्रियाकलापहरुमा शून्य सहनशीलताको नीति अवलम्बन् गर्दै भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने आधार सिर्जना गरिने छ ।
१७३. समृद्ध रघुगंगा निर्माणका लागि यस गाउँपालिकाको प्रशासनलाई निष्पक्षता, तटस्पथता‚ प्रतिबद्धताको सिद्धान्त प्रति समर्पित गराइने छ ।
१७४. गाउँपालिकाभित्र सदाचारिता, नैतिकता, मितव्ययिता, कुशलता र प्रभावकारिता झल्कने गरी कार्य गर्ने कर्मचारीलाई गाउँपालिका उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मान गरिने छ । दण्ड तथा पुरस्कारको प्रणालीलाई व्यवस्थित र वस्तुनिष्ठ बनाइनेछ ।
सार्वजनिक सुनुवाई
१७५. गाउँपालिकाका आर्थिक‚ प्रशासनिक विकास निर्माण लगायतका विषयमा जनगुनासो सम्बोधन र जनअपेक्षा बमोजिम अगाडि बढ्ने प्रयोजनको लागि सार्वजनिक सुनुवाई सम्पन्न गरिनेछ ।जसबाट पारदर्शी र न्यूनतम सरकार निर्माण हुनेछ । साथै गाउँपालिकाका काम कारबाहीहरू नियमित रूपमा संचार माध्यम मार्फत् सुसुचित गराइनेछ ।
आन्तरिक लेखा परीक्षण र आन्तरिक नियन्त्रण प्रणाली
१७६. कार्यालयको लेखा प्रणालीलाई त्रुटि रहित बनाउनका लागि आन्तरिक लेखा परीक्षण र आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
१७७. गाउँपालिकामा आन्तरिक नियन्त्रण प्रणालीको रूपमा लागु गरिएको कार्यसंचालन निर्देशिकालाई पूर्णरूपमा कार्यान्वयन गरिनेछ ।
अन्तिम लेखा प्रणाली र बेरुजु फर्छ्यौट
१७८. सार्वजनिक लेखा समिति मार्फत् अन्तिम लेखा परीक्षणले औल्याएका त्रुटीहरु सुधार गरी फर्छ्यौटका लागि आवश्यकता अनुसार गाउँ सभा समक्ष पेश गरिनेछ र समयमै समपरीक्षण गरि बेरुजु फर्छ्यौटको व्यवस्था गरिनेछ ।
पञ्जीकरण व्यवस्थापन
१७९. गाउँपालिका भित्रका व्यक्तिगत घटनाहरुको समयमै दर्ता गर्ने पद्धतिको विकास गरिनेछ । सो सम्बन्धमा सचेतनाका कार्यक्रम समेत संचालन गरिनेछ । पञ्जिकरण सम्बन्धी कार्यहरु व्यवस्थित रुपबाट अगाडि बढाइने छ । आवश्यकता अनुसार दर्ता शिविर समेत सञ्चालन गरिनेछ ।
विद्युतीय सेवा तथा सूचना प्रविधि र संचार
१८०. सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित गराई स्मार्ट गाउँपालिका बनाइनेछ ।इन्टरनेट विस्तारको कार्यलाई अगाडि बढाइने छ ।
१८१. सूचना प्रवाहमा पत्रकारिताको व्यापक प्रयोग गर्न पत्रकारिता प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ । साथै उत्कृष्ट पत्रकारिता गरी हाम्रो समृद्धिको यात्रामा सहयोग प्रदान गर्ने पत्रकारलाई उचित सम्मान गरिनेछ ।
१८२. सामाजिक संजालमा व्यक्त हुने अमर्यादित तथा असभ्य व्यवहारहरुलाई निरुत्साहित गर्दै सभ्य समाज निर्माणमा जोड दिईनेछ ।
१८३. जनसांख्यिक‚ प्राकृतिक‚ आर्थिक‚ सामाजिक‚ सांस्कृतिक‚ भौतिक पूर्वाधार‚ रोजगारीको अवस्था‚ कुल ग्रार्हस्थ्य उत्पादन‚ प्रतिव्यक्ति आय‚ मानव विकास तथा लैँगिक सशक्तीकरण सूचाङ्क‚ राजस्व तथा आय‒व्यय समेतको तथ्याङ्क संकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आबद्धता र पार्श्व चित्र तथा स्रोत नक्साको अद्यावधिक अभिलेखन गरिनेछ ।
गाउँसभाका सदस्यहरू,
१८४. यी नीति तथा कार्यक्रमको कार्यान्वनयबाट “समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी” को गन्तव्यमा पुगी समृद्ध नेपाल‚ सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रो सरकारका प्रत्येक कार्यहरुको केन्द्रविन्दु आम नागरिक हुनेछन् ।सबैलाई समान अवसर‚ समान अधिकार‚ उत्तिकै सुरक्षा‚ उत्तिकै सम्मानको प्रत्याभूति गरिनेछ ।
१८५. समृद्ध रघुगंगा सुःखी रघुगंगाबासी नाराका सवै क्षेत्र तथा आयामहरु समृद्ध नेपाल सुखी नेपालीसँग तादम्यता हुने गरी कायम गरिएको छ ।हरेक स्थानीय तहले सो लाई प्राथामिकताका साथ कार्यान्वयनमा ल्याउदा नेपाल सरकारले लक्ष्य अवश्य पुरा हुनेमा विश्वस्त छु ।
१८६. अन्त्यमा‚ प्रस्तुत नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनको लागि सबैको सहकार्य र स्वामित्व अपरिहार्य छ । यसको सफल कार्यान्वयनका लागि सम्पूर्ण सरकारी निकाय‚ राजनीतिक दलहरु‚ संघ संस्थाहरु‚ निजी तथा सहकारी क्षेत्र लगायत सबैको सद्भाव र सहयोग हुनेमा विश्वस्त छु।गरिमामय यस गाउँसभाबाट रचनात्मक सुझावको अपेक्षासहित बिदा हुन्छु । धन्यवाद !
जय रघुगंगा गाउँपालिका !
जय रघुगंगावासी !
भव बहादुर भण्डारी
अध्यक्ष