कतार प्रकरणः ट्रम्प खुसी, फिलिपिन्सले कामदार पठाउन रोक्यो
- २४ जेष्ठ २०७४, बुधबार
- 5541 पटक पढिएको
काठमाडौं, २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासहितका खाडी मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घटनालाई आफ्नो सफलताका रुपमा ब्याख्या गरेका छन् ।
ट्रम्पले ट्वीट गर्दै हालै आफुले साउदी अरबको भ्रमण गरेपछि कतारलाई एक्ल्याउन सफल भएको बताएका छन् ।
‘मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिबादलाई अब सहायता नदिइने बताएको थिएँ,’ ट्रम्पले भने-‘अरब मुलुकका नेताले कतारलाई यसमा साबधान गराएका छन् ।’
भ्रमणका अबसरमा साउदी राजाले इरानले आतंकबादलाई प्रायोजन गरेको आरोप लगाएका थिए । अहिले साउदीसहितका देशहरुले कतारलाई पनि सोही अभियोग लगाउँदै कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन् ।
कतारमा अमेरिकी सेनाको मध्यपूर्वमै सवैभन्दा ठूलो सैन्य अखडा रहेको छ । कतारलाई एक्ल्याउने सन्दर्भमा अमेरिकासमेत खुलेरै लागेपछि अब अमेरिका र कतारको सम्बन्ध पनि चिसिने देखिएको छ ।
फिलिपिन्सले कामदार पठाउन रोक्यो
यसैवीच फिलिपिन्सले कतारमा आफ्ना कामदार पठाउन रोक लगाएको छ । श्रम स्वीकृति पाइसकेका कामदारलाई समेत कतार जान रोक लगाइएको फिलिपिन्सको श्रम मन्त्रालयले जनाएको छ ।
कतार बिदेशी कामदारका लागि सुरक्षित रहेको प्रत्याभूति नभएसम्म कामदार पठाउने प्रकृया स्थगित गरिएको फिलिपिन्सले जनाएको छ । हाल कतारमा करिव डेढ लाख फिलिपिनो कामदार कार्यरत छन् भने खाडी मुलुकहरुमा २० लाखभन्दा धेरै फिलिपिनो कार्यरत छन् ।
-अनलाइनखबर